
मेचीनगर, १४ चैत । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले खोल्सी, पैनी र खोलाको पानी खान विवश अति विपन्न परिवारलाई अब निःशुल्क धारा जडान गरिने बताएका छन् ।
आज मेचीनगर–४ नम्बर वडा कार्यालयमा ‘नगरप्रमुखसँग टोल विकास समिति’ शिर्षकको अन्तरक्रियामा उनले यस्तो कुरा बताएका हुन् ।
खानेपानीको धारा जडान गर्न नसकेर खोल्सी, पैनी र खोलाको पानी खान बाध्य भएका विपन्न परिवारलाई निःशुल्क धारा जडान गरिने उनको भनाई छ ।
‘अब आगामी वर्षदेखि धारा जडान गर्न नसक्ने गरीव परिवारलाई वडाको सिफारिसमा धारा वितरण गरिन्छ’, नगरप्रमुख बुढाथोकीले भने–‘सामाजिक र पारिवारिक अनुशासन भएका गरीव परिवार जो खोलाको पानी खाइरहेका छन् । उनीहरुको लगत संकलन गरिन्छ ।’
४ नम्बर वडाका २५ वटा टोल विकास समितिका अध्यक्ष र सचिवहरुले टोलका सडक वत्ती, मिटर, वल्ब, भत्कीएका सडक, ह्याम्प पाइप, कल्भट, हात्ती नियन्त्रण, फेन्सिङ तार मर्मत, बाँदर आंतक, खानेपानी संस्थापछि मिटरको फरक–फरक दररेट, शिक्षा, स्वास्थ्य, कृषि लगायतका समस्या र समाधान विषयमा कुरा राखेका थिए ।
उनल भने–‘हात्तीलाई छेक्न र नियन्त्रण गर्न सकिदैन । तर्काउन बाहेक अरु उपाय छैन । किसानको बाली बीमा गर्न सकिन्छ । बीमा प्राधिकरणले बाली बीमा गर्न मानेको छैन । हात्ती प्रभावित क्षेत्रमा सोलार बत्ती निर्माण गर्ने तयारी पनि गरिरहेका छौँ ।’
विद्युतका पोल, ह्याम्प पाइप, सडक बत्ती लगायतका टोल विकासबाट आएका मागहरु समाधान गर्दे जाने उनको भनाई छ ।
टोल विकास समितिका शुभर्णकुमार खड्का, तारा वस्नेत आचार्य, विमला काफ्ले, राजकुमार थेवे, भक्ति विष्ट, रेणुका थापा लगायतले टोलका समस्याका विषयमा कुरा राखेका थिए ।
‘नगरप्रमुखसँग टोल विकास समिति’ अन्तरक्रियाको सहजीकरण वडाध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्