
सुरेन्द्रनगर । मेचीनगर – ५ स्थित आदर्श टोलमा सोमबार नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
मेचीनगर ५ का वडाध्यक्ष एवम् आदर्श टोलका अध्यक्ष कनक बहादुर कार्कीको सभापतित्व तथा मेचीनगर– ८ का वडाध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि धमलाले २०८२ ले समाज र देशमा देखिएको आर्थिक, सामाजिक र राजनीतिक जटिलताको अन्त्य गर्न सकोस भन्दै शुभकामना दिए । उनले लोकतन्त्रको दिगो विकास भएमात्र देश र जनताले समृद्धि हासिल गर्ने बताए ।
सो अवसरमा कार्यक्रमका सभापति एवम् मेचीनगर– ५ का वडाध्यक्ष कनक बहादर कार्की, समाजसेवी अनिता कार्की, कमलप्रसाद देवकोटा, भेषराज भट्टराई, टोलसमिति सदस्य मनरुपा राई, समाजसेवी युवराज बस्नेत लगायतले शुभकामना दिएका थिए । स्थानीय समाजसेवी जयन्त खनालले कार्यक्रमको संयोजन गरेका थिए । खनालको सक्रियतामा आयोजित कार्यक्रममा कविता वाचन समेत गरिएको थियो । कार्यक्रमका संयोजक खनाल र टोल समितिका सचिव गुरागाईले कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा आवश्यक खर्चको व्यवस्थापन समेत संयोजक खनालले गरेका थिए ।
कार्यक्रमको सञ्चालन टोल समितिका सचिव चन्द्रप्रसाद गुरागाईले गरेका थिए ।
प्रतिकृया दिनुहोस्