मेचीनगरले दियो ‘बैशागु बथर’मा सार्वजनिक विदा

2025-04-15 मा प्रकाशित

मेचीनगर, २ बैशाख । मेचीनगर नगरपालिकाले मेचे समुदायको ‘बैशागु बथर’ पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगरपालिकाको यही चैत ३१ गतेको निर्णय अनुसार मेचे समुदायको बैशाख ३ गते ‘बैशागु बथर’ पर्वमा सार्वजनिक विदा दिइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले मेचे समुदायको बैशाख ३ गते ‘बैशागु बथर’ पर्व परेकाले सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिए ।
नगर कार्यपालिको कार्यालय र मातहत कार्यालय तथा नगर क्षेत्रभित्रका शिक्षण संस्थाहरुमा अत्यावश्यक सेवा बाहेक स्थानीय सार्वजनिक विदा हुने उनले बताए ।
यही चैत १९ गते मेचे समाज शिवियारी आफात मेचीनगरका अध्यक्ष देशभक्त मेचेको नेतृत्वमा गएको टोलीले नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई ‘बैशागु बथर’ पर्वमा सार्वजनिक विदा दिनु पर्ने मागसहित ज्ञापनपत्र बुझाएको थियो ।
नगरप्रमुख बुढाथोकीले नगरपालिका स्थापनापछि पहिलो पटक मेच समुदायलाई स्थानीय सार्वजनिक विदा दिइएको बताए ।
मेचे समुदायको राष्ट्रिय पर्व ‘बैशागु बथर’ बैशाख महिनाभरी मनाउने गरिएको छ । नयाँ वर्षलाई स्वागतसँगै मेचे समुदायको पहिरनमा बाजा गाजासहित विभिन्न परिकारको खानपिन गरेर नाचगान गर्ने चलन रहेको छ ।
यो जाति लोपन्मुख तथा सिमान्तकृत समुदायमा पर्ने एउटा जाति हो । जस्को जनसंख्या २०७८ को जनगणना अनुसार देशभरि करिव पाँच हजार १९३ जना रहेका छन् ।
भोलि मेचे समाज शिवियारी आफातको केन्द्रीय समितिले धाइजनमा भव्य कार्यक्रम गर्दैछ । कार्यक्रममा संघिय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता र भारत आसाम राज्य विधान सभाका सभामुख विश्वजित दैमारीको विशिष्ट आतिथ्यता रहने समितिका केन्द्रीय सदस्य अमर मेचेले बताए । उनले नगरपालिकाले मेचे समुदायको महान पर्वमा सार्वजनिक विदा दिएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु