संसारी पूजा स्थलमा चल्यो संघाई ग्रुपको डोजर, स्थानीय बने आक्रोशित

2025-04-22 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा रहेको पूर्वको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको पातलगङ्गा धामस्थित संसारी माई मन्दिर सोमबार राति डोजर लगाएर भत्काइएको छ । सार्वजनिक मन्दिर भत्काइएपछि सनसारी माईको सामुहिक पूजाको तयारीमा जुटेका स्थानीय बासिन्दा यतिबेला आक्रोशित बनेका छन्।

हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष पातलगङ्गामा जलको कामनाका लागि सनसारी माईको विशेष पूजा गर्ने परम्परा रहेको छ। यही वैशाख २० गतेका लागि पूजा तयारीस्वरूप हालै मन्दिर वरिपरि सिमेन्टको बार लगाई, रङ्ग–रोगन गरेर सिला समेत स्थापना गरिएको थियो।

स्थानीयका अनुसार सोमबार राति करिब १० बजे, बगान प्रशासनले आफ्नो क्षेत्र अतिक्रमण भएको भन्दै जेसीबी प्रयोग गरी मन्दिर तोडफोड गराएको बताउँछन् । बर्षौदेखि पूजाआजा हुँदै आएको स्थलमा यस्तो घटनाले स्थानीय बासिन्दा आक्रोशित भएका छन्।

हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनेको यो स्थलमाथि सुवास संघाईको नेतृत्वमा रहेको टोकला बगानको निर्देशनमा जेसीबी प्रयोग गरी भएको आक्रमणप्रति स्थानीयबासीको कडा आपत्ति रहेको स्थानीय चन्द्र कोइराला बताउँछन् । त्यस्तै स्थानीय शान्ता चौधरीले यो किसिमको ज्यादती चिया मजदुरको मात्रै नभएर सिंगो हिन्दु धर्ममाथिको प्रहार भएको बताउँछिन् । यस किसिमको गतिविधि गर्ने जोकोही भएपनि त्यो कार्वाहीको भागिदार हुनुपर्ने उनले बताइन् ।

मन्दिर रहेको यो जग्गा नेपाल सरकारको अधीनमा रहेको र सो क्षेत्र ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलको रूपमा चिनिएको सुरेन्द्रनगर घैलाडुब्बा देवि तथा शिवालय मन्दिर संरक्षण समिति अध्यक्ष गणेश कुमार खरेल बताउँछन् । उनले धार्मिक आस्था माथि आच आउने यस किसिमका क्रियाकलाप सुवास संघाईको नेतृत्वमा रहेको टोकला बगानले नगर्दा राम्रो हुने बताए । उनले यस किसिमको घटना फेरि दोहोरिएमा आफुहरू चुप लागेर बस्न नसक्ने उनको भनाइ छ ।

पर्यटनसंगै धार्मीक इतिहास संग जोडिएको यस क्षेत्र महाभारत कालमा अर्जुनले गौंचरणमा जादा तिर्खा लागि पानी पिउनका लागि धनुसले जमीन मुनी पातालबाट पानी निकालेर आफ्नो प्यास मेटाएको भन्ने जनमानसमा कथन छ । जहाँ अहिले पनि बाह्रै महिना त्यहाबाट पानी निस्किरहन्छ । तर, थुप्रै सम्भावना रहेर पनि चिया बगान लिजमा लिने कम्पनीको हस्तक्षेपका कारण उचित व्यवस्थापन गर्न नसक्दा यस क्षेत्र अहिले छायामा परेको स्थानीय जनप्रतिनिधि बताउँछन् । मेचीनगर(८ का वडाध्यक्ष गिरिराज धमलाले नेपाल सरकारले सांघाई ग्रुपलाई चिया सम्बन्धि कार्य गर्न बगान लिजमा दिएको र त्यसभन्दा बाहिर अनावश्यक नागरिकलाई हस्तक्षेप गर्ने काम बन्द गर्नुपर्ने बताउँछन् । उनले यस धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न राज्य लागि परिरहेको अवस्थामा हस्तक्षेप अस्विकार्य रहने उनको भनाइ छ ।

पुरातात्विक विभागबाट समेत विगतमा टोलि खटिएर यस क्षेत्रमा उत्खनन संगै संरक्षणको काम अगाडि बढिरहेको छ । सरकारले पनि आवश्यक बजेट विनियोजन गर्ने तरखरमा रहिआएको बेला निजी क्षेत्रले यसरी धार्मिक आस्था खल्बलि बनाउन खोज्नु दुखद् छ । यस तर्फ सम्बन्धि निकायले ध्यान पुर्याउन जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु