
काँकरभिट्टा । मेचीनगर नगरपालिकाकाले सहिद वीरेन राजबंशीको नाममा स्थापना गरेको छात्रवृति रकम सामुदायिक विद्यालय कक्षा–११ र १२ का विद्यार्थीहरुलाई वितरण गरिरहेको छ ।
सोमबार नगरपालिकाले काँकरभिट्टा माविका ३२ जना कक्षा–११ र १२ का विद्यार्थीहरुलाई जनही ८ हजारका दरले छात्रवृति रकम वितरण गरेको हो ।
ती विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले विद्यार्थीलाई कस्तो शिक्षा दिने भन्ने कुरा शिक्षकको हातमा रहेको बताए । विद्यार्थीहरुले यो महत्वपूर्ण समयलाई खेरा जना नदिएर मेहेनत गर्न सके भविश्य सुरक्षित हुने उनले बताए ।
कार्यक्रममा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख होमनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, सामाजिक विकास समिति संयोजक ह्दय राजबंशी, ६ नं. वडाका वडाध्यक्ष ललितबहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका सदस्य, प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो । यसै गरी धाइजन स्थित बलभद्र जनता माविमा समेत सोमबार नै छात्रवृति’ रकम प्रदान गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा वडानम्बर ११ का वडाध्यक्ष रुद्र प्रसाद डाँगीले छात्र वृति रकम हस्तान्तरण गरेका थिए ।
२०२८ सालको झापा विद्रोह आन्दोलनमा पक्राउ परेका मेचीनगर–१५ स्थित ज्यामिरगढी निवासी सोनासरी र कुशल राजबंशीका छोरा एवम् बामपन्थी नेता सहिद वीरेन राजबंशीसहित ५ जनालाई २०२९ फागुन २१ गते झापा प्रहरीले जेल सार्ने नाममा इलाम लाने भनेर सुखानी जंगलमा विभत्स् ढंगले गोली हानेर मारेको थियो ।
मेचीनगरका कक्षा–११ र १२ का ९ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहिद वीरेन राजबंशी छात्रवृति वितरण गरिरहेको छ । एकहप्ताअघि धुलाबारी माविका १३१ जना विद्यार्थीलाई उक्त छात्रवृति रकम वितरण गरिसकेको छ ।
अब सहिद दशरथ चन्द मावि, सहरेडाँगीको सरस्वती बालकल्याण मावि, खुट्टेडाँगीको कवि शिरोमणि मावि, ईटाभट्टाको आदर्श मावि, वडा नम्बर २ को भानु मावि र मेची जनसाधारण माविका विद्यार्थीहरुलाई छात्रवृति रकम वितरण गरिने छ ।
नगरपालिकाले विद्यालयलाई छात्रवृतिका लागि २० लाख रुपैयाँ बजेट छुट्टाएको थियो ।
नगरपालिकाले प्रत्येक वर्ष सहिद वीरेन राजबंशी र वीपी कोइरालाको नाममा विद्यार्थीलाई छात्रवृति रकम वितरण गर्दै आएको छ ।
काँकरभिट्टा मावि व्यवस्थापन समितिका ज्येष्ठ सदस्य अध्यक्ष होमबहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक मदन अधिकारीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्