
डम्बर बराल
मेचीनगर । किसानलाई यतिखेर धानको बीउ राख्ने चटारो छ, कतिले बीउ राखिसकेका छन्, त कोही राख्ने तरखरमा छन् । अरु वर्ष भन्दा यस वर्ष मनसुन चाँडै सुरु भएको कारण किसानलाई बीउ राख्न अलिक सहज त भयो तर कुन धान बढी फल्छ, रोग किरा कुनमा कम लाग्छ यो विषयमा भने अधिकांश किसान अनविज्ञ छन् ।
धेरै फलाउने बहानामा किसानले बिभिन्न किसिमका हाइब्रिड जातका बीउ विजनहरु गाउँमा भित्र्याउने गरेका कारण यहाँको माटो र हावापानी सुहाउँदो रैथानेबाली भने संरक्षणको अभावमा मासिने क्रम बढ्दो छ ।
वर्षाैदेखि लगाउँदै आएको रैथाने बीउ संरक्षण नहुँदा मासिदै गएपछि यतिखेर हाम्रा खेतबारीमा हाइब्रिट जातका बीउ विजनले राज गरिहेको छ । हाइब्रिड बीउका कारण केही वर्ष उत्पादन त बढ्यो, तर यो सँगै रोग किराको प्रकोप अत्याधिक बढ्न थालेपछि किसान यतिखेर हैरान छन् । धेरै फलाउने बाहानामा किसानले उन्नत जातको बीउ बजारबाट ल्याएर खेती गर्ने लहर नै चलेको छ । यहाँको माटो र हावापानी सुहाउँदो बाली नभएको कारण नियन्त्रण नै गर्न नसक्नेगरी रोग किराको प्रकोप समेत बढ्दै गएको छ । जसका कारण कृषि उत्पादनमा आम्दानी भन्दा लगानी बढी हुने गरेको छ । रैथाने जातमा रोग किरा कम लाग्ने भए पनि थोरै उत्पादन हुने भन्दै धेरैले उन्नत र वर्णसंकर (हाई ब्रिड) जातको बीउ रोप्ने गरेका छन् ।
कुनै समय किसानले आगामी वर्षको लागि भन्दै हरेक उत्पादनबाट सुरुमै बीउ छुट्याएर राख्ने चलन थियो । तर पछिल्लो समय घरमा बीउ राख्ने चलन हराउँदै गएको छ । जव बीउ आवश्यक पर्छ, किसान पुग्छन् सहरका कृषि पसल अनि भित्र्याउँछन् गाउँमा बीउ । धानको बीउ मात्र होइन, मकै, राजमा, तोरी, लहरेजातका बिभिन्न तरकारीको बीउको लागि समेत सहरकै भरपर्नु पर्ने किसानको बाध्यता छ ।
मेचीनगर –५ का किसान कुलबहादुर बुढाथोकीले स्थानीय जातको धान नदेखेको तीन दशक नाघ्यो । उनले नयाँ–नयाँ विकासे धान आएपछि दूधराज, सत्तरी, थापा चिनीलगायत प्रजाति रोप्न त के बीउ देख्नै पाएका छैनन् । यी धान २०५० सालयता आफूले रोप्न नपाएको बुढाथोकी सुनाउँछन् ।
‘दूधराज र सत्तरी धान २०४० सालतिर लगाइन्थ्यो’, उनी भन्छन्, ‘२०४५ सालसम्म थापा चिनी धान देख्न पाइन्थ्यो । मन्सुली आएपछि त्यो लोकल जातका धान भेटिन छोड्यो ।’उनले हाल १० कठ्ठा जमिनमा खेती गर्दै आएका छन् । नयाँ जातका बीउले रैथानेलाई विस्थापित गरेको अनुभव बुढाथोकीको छ । भन्छन्, ‘छिटो तयार हुने र राम्रो उत्पादन दिने भएकाले नयाँ– नयाँ जात लगाउने गरेका छौँ ।’ उनले त्यस ताका करिव ७ विगाहा जमिनमा खेती गर्ने गरेको सुनाए । पछिल्लो समय धान खेतीमा बढी हैरानी भएपछि उनले धान खेती मासेर चिया खेती लगाएका छन् ।
मेचीनगर– १ की धर्मदेवी ढकालले यस वर्ष करिब एक बिघा जमिनमा मकै खेती लगाइन, सुरुमा मकै राम्रैसँग उम्रियो पनि तर मकै गोडेसँगै किराको प्रकोप देखियो, किराले रातारात मकै सखाप पार्न थालेपछि उनले औषधि प्रयोग गरेर किरा नियन्त्रण त गरिन्, राम्रैसँग मकै फलाउन कस्सिएकी ढकालले त्यसपछि मकैमा मलखादको प्रयोग गरिन्, मकै राम्रै सँग आयो तर उत्पादन भने लिन सकिनन् सुत्ला च्याप्ने बेलामा बोट तथा पात पँहेलिँदै गएपछि घोगा लाग्नै सकेन, बोटै सुकेर गयो । यस पटक मकै किन उत्पादन भएन उनी रनभूल्लमा परेकी छिन् ।
पहिला पहिला घरकै थाङ्ग्राबाट मकैको बीउ झिकेर मनग्गे फलाएको अनुभव छ उनीसँग । ‘रैथाने उत्पादनका लागि घरमै बीउ छुट्याइन्थ्यो, त्यही बीउ रोपिन्थ्यो,’ उनले भनिन्, ‘अहिले बीउ राख्ने चलन नै हरायो ।’ उनको बारीमा अहिले घरमा राखेको बीउको मकै फल्दैन । धानको बीउका लागि पनि सहर जानु पर्छ । दालको बीउ सहरबाटै गाउँ पुग्छ, काँक्रा, मूला, फर्सी जस्ता रैथाने फसलका लागि पनि सहरकै भर ।
पहिला धान काट्नु अघि नै धानको बीउ छान्ने चलन थियो । उनले भनिन्, ‘बीउ छान्न थुन्चे बोकेर बाला छान्दै हिँड्थ्यौं, राम्रा बाला छानेर झारिन्थ्यो, सुकाएर राखेपछि अर्काे वर्षलाई त्यो बीउ तयार हुन्थ्यो ।’
मकैको बीउ पनि त्यसरी नै छान्थ्यौं मकै राख्दा थाङ्ग्रा अथवा हार लगाएर राख्ने चलन थियो । उनले भनिन्, ‘अरु मकै राखेका हारभन्दा बीउ मकै छुट्टै राखिन्थ्यो, मकै रोप्ने बेलामा बीउ मकै निकालिन्थ्यो । हलोले जोतेको सियोमा मकै रोपिन्थ्यो, अहिले जस्तो रोग थिएन, न विषादीको प्रयोग नै गर्न पथ्र्र्योे ।’
काँक्रा, फर्सी, मुला, करेला, सिमी, रायो, तोरी जस्ता रैथाने फसलको बीउ पनि घरमै हुन्थ्यो, आफ्नोमा नभए तल्लो घर माथ्लो घरमा हुन्थ्यो । आफ्नोमा भएको बीउ दिइन्थ्यो, उनले विगतलाई सम्झिँदै भनिन्, ‘पछि बीउ विजन विक्रीकोलागि साझा खुल्यो त्यसपछि मानिसले त्यहीँबाट बीउ ल्याउन थाले ।’
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारी बाहिरी देशबाट बीउबीजन आयात हुने समस्या समग्र राष्टूकै समस्या भएको बताउँछन् । खुला सीमा भएकाले बीउ बीजन आयात भइरहेको उनको भनाइ छ । तर, रैथाने उत्पादनका बीउ हराएको भन्नेमा चाहिँ सत्यता नभएको उनले बताए । ‘नेपाल सरकार नै उन्नत जातका फसल लगाउनुपर्छ भनेर उन्नत जातका बीउ उत्पादन गर्ने प्रक्रियामा लागेको छ । अर्कोतिर स्थानीय बीउ बिजनमा किसानको रुचि घट्दै गयो,’ उनी भन्छन्, ‘हाइब्रिड जातका बीउको उत्पादकत्व पनि बढी हुने भएकाले किसान यसतर्फ आकर्षित छन् ।’
प्रतिकृया दिनुहोस्