धुलाबारी । नेशनल प्याब्सन मेचीनगरले शैक्षिक सत्र २०८२ मा गर्ने अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर नेशनल प्याब्सनले यही असारदेखि आगामी फागुनसम्म गर्ने विभिन्न कार्यक्रमहरूको सूची सार्वजनिक गरेको हो ।
एन प्याब्सन मेचीनगरका अध्यक्ष कबिन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा अध्यक्ष श्रेष्ठले एन प्याब्सनले शैक्षिक क्षेत्रमा पुर्याएको योगदान र सफलताको चर्चा गरे । गुणस्तरीय समावेशीता र संस्कारलाई मुलमन्त्र मानेर एन प्याब्सन अघि बढीरहेको बताएका अध्यक्ष श्रेष्ठले एन प्याब्सन अन्तरगत रहेका विद्यालयहरुले एसईई परीक्षा तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको जानकारी दिए । उनले नगरशिक्षा शाखाले यस वर्षदेखि ल्याउन लागेको शिक्षा नीति स्वागत योग्य रहेको समेत प्रतिक्रिया दिए । अध्यक्ष श्रेष्ठले शिक्षकहरुको क्षमता विकासको लागि समय समयमा बिभिन्न तालिम सञ्चालन गर्दै आएको जानकारी समेत दिए ।
पत्रकार सम्मेलनमा शिव मैनालीले अतिरिक्त क्रियाकलापका बारेमा जानकारी गराएका थिए । मैनालीका अनुसार असार १३ गते शुक्रबार आज हेण्ड राईटिङ कम्पिटिसन हुने भएको छ । मेचीनगर–९ स्थित माँ सरस्वती विद्यालयमा आयोजना गरिने प्रतिष्पधात्मक कार्यक्रममा एन प्याब्सनसंग आवद्ध १६ विद्यालयबाट ६४ जना विद्यार्थीहरूको सहभागिता रहने छ । त्यस्तै साउन महिनामा कविता प्रतियोगिता र भाषण कलाको प्रतियेगिता हुनेछ भने भदौमा चेस प्रतियोगिता आयोजना गरिने भएको छ ।
कार्तिकदेखि फागुनसम्म एथलेटिक्स, फुटवल, भलिवल,नृत्य र नाटक प्रतियोगिता सञ्चालन गरिने उनले जानकारी दिए ।
सो अवसरमा एन प्याब्सन मेचीनगरका उपाध्यक्ष राजेश निरौलाले यसै शैक्षिक सत्रदेखि एन प्याब्सन मेचीनगरले कक्षा ५ मा प्रि बोर्ड परीक्षा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । उनका अनुसार एन प्याब्सन मेचीनगरले सदस्य विद्यालयमा कक्षा ५ को परीक्षामा एउटै प्रश्न पत्र बनाउने, फरक विद्यालयले उत्तर जाँच गर्ने गरी बोर्ड परीक्षा गराउने तयारी छ । बोर्ड परीक्षालाई हाउगुजीको रुपमा दिने गरिएकोले विद्यार्थीहरुलाई बोर्ड परीक्षाको पूर्व तयारीको लागि आफूहरुले प्रि बोर्ड परीक्षा सञ्चालनको तयारी गरेको उनले बताए । उनले कक्षा ८ को समेत प्रि बोड परीक्षा गराउने योजना सुनाए । फागुनको दोस्रो साता सक्नेगरी कक्षा ८ को र चैतको १४ गतेसम्म सक्नेगरी कक्षा ५ को परीक्षा सञ्चालन गरिने उनको भनाइ छ ।
पत्रकार सम्मेलनको सहजी करण गर्दै एन प्याब्सन मेचीनगरका सचिव जीवन कट्टेलले विद्यार्थीहरूको अध्ययनको गुणस्तर वृद्धिका लागि अन्य शिक्षण सिकाईका बिभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
सो अवसरमा एन प्याब्सन मेचीनगरका कोषाध्यक्ष दिपेन्द्र प्रधान सहित विभिन्न विद्यालयका प्रिन्सिपल तथा सञ्चालकहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्