मेचीनगर, ३ भदौ । मेचीनगर–७ स्थित इटाभट्टामा भोलि (बुधबार) देखि साप्ताहिक हाट बजार लाग्ने भएको छ ।
वर्षाैदेखि अब्यवस्थित रुपमा सञ्चालनमा रहेको इटाभट्टा बजारलाई व्यवस्थित गर्न तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्न साप्ताहिक हाटबजार सञ्चालन गर्न लागिएको बजार ब्यवथापन समितिले मंगलबार पत्रकार सम्मेलन आयोजन गरेर जानकारी दिएको हो ।

बजार ब्यवस्थापन समितिका अध्यक्ष खडानन्द भण्डारीको अध्यक्षता एवम मेचीनगर– ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा बजार ब्यवस्थापन समितिका अध्यक्ष भण्डारीले स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्न तथा इटाभट्टा बजारलाई व्यवस्थित गर्न हाट बजारको अवधारणा ल्याएको बताउँदै यस अभियानलाई सफल पार्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
उनले बुधबार धुलाबारी र पानीट्याङ्की बजार बन्द हुने भएकोले सो दिन इटाभट्टा हाटबजार लगाउन उपयुक्त देखिएको बताउँदै मेचीनगरको ६,७ र ८ का नागरिकहरूलाई यो बजारले फाइदा पुग्ने बताए ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि वडाध्यक्ष प्रलादमणि ओलीले वडा नम्बर ६, ७ र ८ मा उत्पादन भएका स्थानीय उत्पादनलाई प्राथमिकता दिने उदेश्यले हाट बजार सञ्चालन गरिएको बताए । ‘हाम्रो उद्देश्य स्थानीय उत्पादनलाई प्रोत्साहित गर्नु हो’, उनले भने, ‘तर तत्काल यहाँको उत्पादनले धान्दैन त्यसैले बिभिन्न क्षेत्रबाट व्यवसायीहरलाई समेत आमन्त्रण गरेका छौं ।’ इटाभट्टाको हाटबजार राम्रोसँग सञ्चालन हुने दावी गर्दै उनले भने, ‘यो इटाभट्टाको मुटु हो, बजारकोलागि भौतिक संरचना पनि राम्रै छ, त्यसैले व्यवसायीहरु उत्साहित भएर आउने कुरामा हामी विश्वस्त छौं ।’
पत्रकार सम्मेलनमा ज्येष्ठ नागरिक समिति मेचीनगर ७ का अध्यक्ष पीताम्बर शर्मा, बजार व्यवस्थापन समितिका सचिव श्याम घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
बुधबार उक्त साप्ताहिक हाट बजारको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्ने समितिले जनाएको छ । समितिले बुधबार बजार उद्घाटनका अवसरमा तीज मिलन कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।
पत्रकार सम्मेलनको सहजीकरण पत्रकार प्रकाश पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्