काकरभिट्टा, १९ मंसिर । काकरभिट्टा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोहित बुढाथोकीमाथि सांघातिक आक्रमण भएको छ । अध्यक्ष बुढाथोकीलाई खानेपानीकै कर्मचारी धिरेन सुब्बाले आक्रमण गरेको खानेपानी उपभोक्ता समितिका सचिव विशाल तामाङले जानकारी दिए ।
बिहीबार राति करीब ८ बजेको समयमा बर्मेलीटोलमा रहेको खानेपानीको ओभरहेड टेंकी परिसरमा खानेपानीकै कामका सिलसिलामा सुब्बाले पछाडिबाट मार्तोलले बुढाथोकीको टाउकोमा हिर्काएको सचिव तामाङले बताए । उनका अनुसार अध्यक्ष बुढाथोकीको टाउकोको पछाडिको भागमा चोट लागेको छ ।
आक्रमणबाट घाइते भए पछि अध्यक्ष बुढाथोकीलाई उपचारका लागि बिएण्डसी अस्पताल लगिएको सचिव तामाङले जानकारी दिए । अध्यक्षलाई बचाउने क्रममा काकरभिट्टा खानेपानी संस्थाका प्राविधिक प्रमुख याम प्रसाद पोखरेललाई पनि टाउकोमा सामान्य चोट लागेको छ । पोखरेलको अवस्था सामान्य छ । आक्रमणकारी सुब्बालाई काकरभिट्टा प्रहरीले नियन्त्रणमा लिएको छ । खानेपानीका फिल्ड लेबर तहका कर्मचारी सुब्बाले यस अघि पनि कार्यसमिति सदस्यमाथि दुर्व्यवहार गरेको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्