धुलाबारी । झापा मेचीनगर–१० स्थित नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा साँस्कृतिक महोत्सव–२०८२ आयोजना गरिने भएको छ । नन्दा करिडोर प्रवद्र्धन केन्द्रको आयोजनामा यही माघ १५, १६ र १७ गते रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव गर्न लागिएको हो ।
शुक्रवार धुलाबारीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै महोत्सवले रैथाने परिकारलाई प्रवद्र्धन गर्ने मुख्य उदेश्य राखेको आयोजक संस्थाका अध्यक्ष धर्मेन्द्र खड्काले बताए । उनका अनुसार तीन दिने महोत्सवमा विभिन्न जातिका परिकार राखिने तथा कला संस्कृति प्रदर्शनी गरिने छ ।
तीन दिने महोत्सव दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म चल्नेछ । महोत्सवमा किसान, राई, नेवार र मेचे समुदायका विभिन्न परिकारका स्टलहरु राखिनेछन् ।
किसान नातिको झिँगे माछा फ्राई, गंगटा, घुँगी झोल हालेको, पैँया माछाका परिकारको स्टल रहनेछ छ भने उक्त जातिको साँस्कृतिक नृत्यसमेत रहेको आयोजक संस्थाले जनाएको छ ।
यस्तै, राई समुदायको वाचीपा (कुखुराको मासु र भात), कोदोको जाँड (सगुनको रुपमा), फिलुंगेको अचार, कोदोको ढिँडोको स्टल रहनेछ । सँगसँगै उक्त जातिको चण्डी नाच देखाइनेछ ।
नेवार समुदायको यमरी (चामलको पिठो), बारा (कालो दालको रोटी), चटामरी (चामलको रोटी), छोइला (राँगाको मासु) र नेवारी खाजा सेट महोत्सवमा राखिनेछ भने नेवार जातिको लाखे नाच, धिमे नाच लगायत नेवारी सांस्कृतिक नृत्यको कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।
मेचे समुदायले योङ खार्रइ (चामलको पिठो र मासु), बिथै यख्रै (रक्तिको परिकार), लाफा फेल्खा (सागको परिकार), नाफाम लादु (माछा धुलोको चट्नी) थाछो बाठन (कच्छुको अचार), यैस्था बाठन (बेलचनको अचार) को स्टाल राख्नेछन् । मेचे समुदायले बागरुम्बा, बारद, सिख्ला, बैसागु नृत्य देखाउनेछन् ।
साथै महोत्सवमा शान्ति समाज महिला समूह र अतिथि हस्पिटालिटी÷धुलाबारी हस्पिटालिटी सोसाइटी धुलाबारी माविले पनि नेपाली रैथाने परिकारहरुको स्टल तथा सामान विक्री स्टलहरु राख्ने बताइएको छ ।
कार्यक्रममा अन्य मुख्य आकर्षणहरु पनि रहेका छन् । प्राचीन वस्तुहरुको खुल्ला प्रदर्शनी, चित्रकला प्रदर्शनी, रैथाने खानाको महत्व सम्बन्धी प्यानल छलफल, रैथाले खाना पाक् प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता लगायत थुप्रै सांस्कृतिक कार्यक्रम राखिएको अध्यक्ष खड्काले बताए ।
महोत्सव सम्पन्न गर्नका लागि करिब ४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यसका लागि स्थानीय सरकार मेचीनगर तथा पर्यटन कार्यालय काँकरभिट्टा लगायत अन्य स्थानीय संघ संस्थाहरु सहयोगी संस्थाका रुपमा रहेका छन् । महोत्सवमा प्लाष्टिकजन्य वस्तुहरु निषेध गरिएको छ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि मेचीनगर वडा नं. १० का वडाध्यक्ष नारायण खनाल रहेका थिए । कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा, मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्य, निरज श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन आयोजक संस्था नन्दा करिडोर प्रवद्र्धन केन्द्रका सचिव निर्मल दाहालले गरेका थिए।

प्रतिकृया दिनुहोस्