मेचीनगर । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले समाजमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि धर्मगुरुहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्। मेचीनगर नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको अन्तरधार्मिक सद्भाव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले धर्मगुरुहरूको प्रवचन मानिसहरूले एकाग्र भएर सुन्ने भएकाले कथा–प्रवचनमार्फत हिंसा न्यूनीकरणबारे जनचेतना फैलाउन सकिने बताए। “मानिसलाई कथा र प्रवचनको माध्यमबाट हिंसा न्यूनीकरणका विषयमा बुझाउन सकिन्छ, त्यसैले यस अभियानमा धर्मगुरुहरूको भूमिका महत्वपूर्ण छ,” उनले भने। नगरपालिकाले पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरेको समेत उनले जानकारी दिए।
कार्यक्रममा वैदिक सनातन धर्म संरक्षण समितिका गुरु शंकरप्रसाद अधिकारी, बौद्ध धर्मका गुरु लोपेन दावा टासी तामाङ, क्रिश्चियन धर्मका गुरु राजु खड्का तथा मुस्लिम धर्मका गुरु अव्दुल मियाँलगायतले धर्मले समाजमा पारेको सकारात्मक प्रभावबारे धारणा राखेका थिए।
त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश बस्ती, वडा नं। ८ का वडाध्यक्ष प्रलादमणि ओली, पुरुष सञ्जाल मेचीनगरका अध्यक्ष मोहन काजी तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक वीरेन्द्र कोइरालालगायतले महिलामाथि हुने लैङ्गिक हिंसा रोकथाम तथा न्यूनीकरणका लागि सबै पक्षबीच सहकार्य र धार्मिक संस्थाहरूबीच एकताको आवश्यकता रहेको बताएका थिए। उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा औचित्यमाथि लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती र केस म्यानेजर अरूणा चौधरीले प्रकाश पारेका थिए। कार्यक्रमको सहजीकरण नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्