प्याप्सन मेचीनगरको इन्टर स्कुल ईसीए प्रतियोगिता

2026-08-30 मा प्रकाशित

 धुलाबारी । प्याप्सन मेचीनगरले विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले इन्टर स्कुल ईसीए प्रतियोगिता आयोजना गरेको छ। मेचीनगर–१० स्थित सरस्वती शिक्षा सदनको परिसरमा आयोजित प्रतियोगितामा प्याप्सन मेचीनगरअन्तर्गतका विभिन्न विद्यालयबाट करिब एक हजार विद्यार्थीले सहभागिता जनाएका थिए।

विद्यार्थीहरूले विभिन्न ११ वटा विधामा प्रतिस्पर्धात्मक सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्। प्याप्सन मेचीनगरले आफ्नो शैक्षिक क्यालेण्डरअनुसार हरेक वर्ष यस्ता अतिरिक्त क्रियाकलापसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक ज्ञानसँगै उनीहरूभित्र लुकेर रहेका सिर्जनात्मक, कलात्मक तथा व्यावहारिक प्रतिभालाई पहिचान गरी उचित अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताका क्रममा विद्यार्थीहरूले लेखन, चित्रकला, ह्यान्डराइटिङलगायत विभिन्न ११ विधामा आफ्नो क्षमता प्रस्तुत गरेका थिए। प्रतिस्पर्धाका अतिरिक्त विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्ना सिर्जना, कला र प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले अतिरिक्त क्रियाकलापले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले यस्ता कार्यक्रमले विद्यार्थीभित्र रहेको प्रतिभालाई उजागर गर्दै उनीहरूको आत्मविश्वास बढाउने र शैक्षिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने धारणा राखिन्। उनले विद्यालयमा पाठ्यपुस्तकमा आधारित शिक्षासँगै विद्यार्थीको रुचि, क्षमता र प्रतिभालाई समेत प्राथमिकता दिनुपर्ने बताउँदै अतिरिक्त क्रियाकलापलाई शिक्षाकै महत्वपूर्ण पाटोका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्। प्याप्सन मेचीनगरका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष विक्रम क्षेत्रीले प्रत्येक विद्यार्थीभित्र फरक–फरक प्रतिभा हुने भएकाले उनीहरूको रुचि र क्षमताअनुसार अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताए। अध्यक्ष क्षेत्रीले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई केवल परीक्षामुखी शिक्षामा सीमित नगरी उनीहरूको सिर्जनात्मक क्षमता, नेतृत्व क्षमता, कला र आत्मविश्वास विकासमा समेत विद्यालयले ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा प्याप्सन मेचीनगरका जिल्ला सदस्य भोजराज कार्की र रमेश बराल, पूर्व प्रदेश सदस्य अजय आले मगर, हिमालयन इङ्लिस एकेडेमीका प्रिन्सिपल जगत तामाङ, प्याप्सन मेचीनगरका कोषाध्यक्ष समीक्षा गौतम, उपाध्यक्ष सुरेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्याप्सन मेचीनगरका सचिव बिमल पौडेलले गरेका थिए। यसैबीच, प्रतियोगिताको अनुगमनका लागि प्याप्सन जिल्ला अध्यक्ष छत्रबहादुर कार्कीसहित जिल्ला नेतृत्वको टोली पनि कार्यक्रममा पुगेको थियो। जिल्ला नेतृत्वले विभिन्न विद्यालयबाट सहभागी विद्यार्थी तथा प्रतियोगिताका गतिविधिको अवलोकन गर्दै कार्यक्रमको प्रभावकारिताबारे जानकारी लिएको थियो।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु