मेचीनगरमा शुक्रबारबाट ‘मेचीनगर युवा कप–२०७८’ सुरु हुने

2021-09-15 मा प्रकाशित

काँकरभिट्टा । झपाको मेचीनगरमा शुक्रबारबाट ‘मेचीनगर युवा कप–२०७८’ सुरु हुने भएको छ । मेचीनगर–१० काँकरभिट्टामा ‘मेचीनगर युवा कप–२०७८’ सुरु हुने भएको हो ।

राष्ट्रिय युवा संघ नेपाल मेचीनगर नगर कमिटिले आयोजना गरेको फुटबल प्रतियोगितामा नगरका २० टिम सहभागी हुने आयोजकले बताएको छ । काँकरभिट्टा माविको खेल खेल मैदानमा प्रतियोगिता आयोजना हुन लागेको हो । बुधबार काँकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराइएको हो ।

प्रतियोगिता अवधि भर नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरिने आयोजकले दावी गरेको छ । सो क्रममा खेलाडीहरुको स्वास्थ्य अवस्थाको चेकजाँच, पिसीआर परीक्षण गराएको रिपोर्ट, मास्क, सेनिटाइजर तथा खेल मैदानमा दर्शक तथा सहभागीहरुमा भौतिक दुरी कायम गराइने आयोजक कमिटिले बताएको छ ।

कोरोना भाइरसको प्रभावका कारण सुस्ताएको खेल क्षेत्रलाई चलायमान बनाउँने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको र यसमा साथ दिन सम्बन्धित सबैमा आयोजकले आग्रहसमेत गरेको छ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद २० हजार रुपैयाँ, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रथम पुरस्कारको प्रायोजन समाजसेवी बालकृष्ण थापाले गरेका छन् । दोस्रो पुरस्कार राशि भने नेपाल खेलकुद महासंघले प्रायोजन गरेको जनाइएको छ ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता, उत्कृष्ट फरवार्ड, सार्वेत्कृष्ट खेलाडीलाई ट्रफि तथा मेडल प्रदान गरिने आयोजकका अध्यक्ष मानबहादुर तामाङले बताए ।

दोस्रो संस्करणको रुपमा शुक्रबारबाट सुरु हुने प्रतियोगिता असोज ८ गते शुक्रबार सम्पन्न हुनेछ । पत्रकार सम्मेलनमा आयोजक राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटि अध्यक्ष तामाङ, नगर इन्चार्ज सञ्जय मेचे, क्षेत्रीय इन्चार्ज नारायण खनाल, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य रवीन ओझालगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु