मतदातामा भ्रम छरेको प्रति गठबन्धन दलको ध्यानाकर्षण

2022-05-03 मा प्रकाशित

मेचीनगर, २० बैशाख । साझा गठबन्धन मेचीनगरले गठबन्धन दलका झण्डा झिक्ने, च्यात्ने जस्ता असभ्य र अराजनीतिक हर्कत नगर्न चेतावनी दिएको छ ।
मंगलवार साझा गठबन्धनले विज्ञप्ति निकालेर आफ्नो पराजित मानसिकतालाई ढाकछोप गर्ने, गठबन्धनमा फाटो ल्याई भ्रम छर्ने जस्ता घृणित कार्यको भत्सर्ना गरेको हो ।
मंलवार राती मेचीनगर–९ स्थित कमल चोक क्षेत्रमा एउटै झण्डामा सूर्य र गोलाकार भित्रको हँसिया हतौडा चिन्ह भएको झण्डा टाँगिएको छ । उक्त झण्डा ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमाले र माओवादीे सँगै हुँदाको हो । तर, अहिले पार्टी अलग भएर चुनाव चिन्ह पनि अलग–अलग हुँदा जनतामा भ्रम छर्ने दुस्प्रयास गरिएको साझा गठबन्धनको दलको ठहर छ ।
यस प्रकारका घटनाबाट कुनै पनि प्रकारको भ्रममा नपरी गठबन्धनको भावना अनुरुप दत्तचित्त भएर एकरुपताका साथ आफ्नो कार्य क्षेत्रमा क्रियाशील हुन सबै कार्यकर्ता तथा मतदाताहरुसमक्ष अपिल गरिएको छ ।
साझा गठबन्धन दलले यस्ता उच्छृंखल गतिविधिहरु तुरुन्त नियन्त्रणमा लिन प्रहरी प्रशासनसमक्ष माग पनि गरिएको छ । गठबन्धनले निर्वाचन स्वस्थ र प्रतिस्पर्धात्मक प्रक्रियाबाट आआफ्ना पार्टीका उम्मेद्वारलाई श्रेष्ठ सावित गर्न पनि सम्बन्धित पार्टीलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा नेपाली काँग्रेस मेचीनगर सचिव मनोज घिमिरे, नेकपा माओवादी केन्द्र मेचीनगर सहसचिव कृष्ण कौशल सिटौला र जनता समाजवादी पार्टी मेचीनगर सचिव सरोज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु