‘सोच नबदलेसम्म परिवर्तन सम्भव छैन’

2022-11-04 मा प्रकाशित

काँकरभिट्टा । झापा क्षेत्र नं। १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारीले सोच नबदलेसम्म परिवर्तन सम्भव नहुने भएकोले देशमा आमूल परिवर्तनको लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
काँकरभिट्टामा शुक्रवार पत्रकार सम्मेलन गरेर उम्मेद्वार अधिकारीले राजनीतिक पार्टीहरुले सही काम गर्न नसकेपछि राष्ट्र निर्माणको महान अभियान लिएर मतदाताको घरदैलोमा पुगिरहेको बताए । “राजनीतिक पार्टीहरुले परिवर्तन चाहेका छैनन्,” उनले भने, “हामी मतदाताको घरमा पुग्दै गर्दा पार्टीप्रति वितृष्णा जागेको अवस्था छ ।”
उनले अब आफूलाई नबदलेसम्म समाज परिवर्तन सम्भव नहुने बताए । उम्मेद्वार अधिकारीले पार्टी सोचभन्दा बाहिर निस्कन सकेमात्र परिवर्तन सम्भव हुने तर्क गरे । “हामीले अहिलेसम्म तिनै पार्टीलाई समर्थन र सहयोग गर्दै आयौँ,” उनले प्रश्न गरे, “के परिवर्तन भएको महसुस गर्नु भएको छ ?”
उनले सोही अवसरमा आफ्ना प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् । विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचनमा सहभागी हुन पाउने कानुनी व्यवस्था लागू गर्ने, देशमै रोजगारीको सिर्जना गर्ने, बन्द उद्योग सञ्चालनमा ल्याउन ठोस कदम चाल्ने, शिक्षा क्षेत्रको व्यापक सुधार गर्न पहल गर्ने, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न पहल गर्ने लगायतका एजेण्डा जितेर गएको खण्डमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
चर्चामा रहेका जनप्रतिनिधि बालेन साह, हर्क साम्पाङको प्रेरणा र उनीहरुले ल्याएका राम्रा योजनालाई झापा क्षेत्र नंं १ मा पनि स्थापित गरेर लैजाने उम्मेद्वार अधिकारीले बताए । मेचीनगर(६ निवासी अधिकारी व्यवसायी हुन् । प्रष्ट विचार र समाज परिवर्तनका योजना बोकेर उनी यतिखेर लौरो चिन्हमा भोट मागिरहेका छन् । विगतमा एमालेको राजनीतिमा सक्रिय खगेन्द्र भेटवाल लगायतका युवा पंक्तिले उनलाई साथ दिइरहेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु