योग ध्यान साधना सप्ताहव्यापी शिविर सम्पन्न

2022-11-13 मा प्रकाशित

मेचीनगर । आदर्श मावि २०४२ (एसएलसी) समूहको आयोजनामा योग–ध्यान साधना सप्ताहव्यापी शिविर कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

मेचीनगर–८ स्थित किरात याक्थुम चुम्लुङ सामुदायिक भवनमा कात्तिक २० गतेदेखि शुरु भएको शिविरमा स्थानीय समुदायका लागि जीवन विज्ञान र आदर्श माविका कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि नव प्रतिभा विज्ञान योग ध्यान कार्यक्रम सम्पन्न भएको हो ।

सप्ताहव्यापी कार्यक्रममा प्रत्येक दिन विहान सबै उमेर समूहका स्थानीय नागरिकहरुको उत्साहजनक सहभागिता रहेको थियो । सोही शिविरको दोश्रो सत्रमा आदर्श माविका कक्षा ११ र १२ का २०० जना विद्यार्थीहरु नव प्रतिभा विज्ञान योग–साधना कार्यक्रममा सहभागी बने ।

समापन कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रल्हाद ओलीको प्रमुख आथित्य र जीवन विज्ञान प्रदेश १ संयोजक बालिका भट्टराईको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा शिविरका सहभागी तथा स्थानीय अग्रज व्यक्तित्व नारायणप्रसाद कोइरालाले शिविर योग–साधनाको स्वाद चखाउन अत्यन्तै प्रभावकारी भएकोले यस्ता कार्यक्रमको निरन्तरतामा स्थानीय निकायको सहयोगको अपेक्षा गरे । आदर्श मावि (मेचीनगर–८) का प्रधानाध्यापक कृष्ण पुरीले आफुले शिविरबाट व्यक्तिगत रुपमा लिन सकेका विविध फाइदाहरु उल्लेख गर्दै कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि कार्यक्रमले अत्यन्तै प्रभावकारी भूमिका खेलेको बताए ।

जीवन विज्ञान प्रदेश १ संयोजक बालिका भट्टराईले आजको समयमा सबै उमेर समूहलाई योग, प्राणायाम र ध्यान साधनाको आवश्यकता माथि प्रकाश पार्दै आदर्श बयालिस समूहले एक पवित्र कार्यको आयोजना गरी नाम जस्तै आदर्श काम गरेको कुरा उल्लेख गरे । मेचीनगर–७ वडाध्यक्ष प्रल्हाद ओलीले आफुपनि योग साधनाको महत्वप्रति जानकार रहेको र आगामी आर्थिक वर्षदेखि योग–ध्यानका कार्यक्रमहरुका लागि पनि वडामा आवश्यक बजेट छुट्याउने वचन वद्धता व्यक्त गरे । मेचीनगर–६ का वडाध्यक्ष ललित बहादुर तामाङले आफ्नै (एसएलसी) समूहले आयोजना गरेको पुनित कार्यक्रममा सहभागी हुन पाउँदा हर्षित भएको कुरा बताए ।

कार्यक्रममा प्रमुख अथिति, विशिष्ट अथिति लगायत शिविरका योग प्रशिक्षकहरु लक्ष्मण नेउपाने, रमा शर्मा र टिपी बराल तथा उत्कृष्ठ सहभागीहरुलाइ स्थानीय समुदायको तर्फ र समाजसेवी बिनोद वानियाँको सौजन्यबाट प्राप्त उपहारहरु प्रदान गरिएको थियो । समूहका अध्यक्ष डम्बरु वल्लभ कट्टेलको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव महेन्द्र कुँवरले गरेका थिए भने समूहका सदस्य तथा जीवन विज्ञान प्रशिक्षक टिपी बरालले स्वागत र समूहका सदस्य सरला ओझा (पोख्रेल) ले धन्यवाद मन्तव्य राखेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु