नयाँ र सबल नेतृत्व गोपाल तामाङ

2022-11-13 मा प्रकाशित

मेचीनगर । सामाजिक अभियन्ताका रुपमा फराकिलो परिचय स्थापित गरेका युवा गोपाल तामाङ झापा क्षेत्र नं १ ‘क’ प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरेर यस भेगका नागरिकमाझ उँचो छवि बनाएका तामाङ आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनको आशा र भरोसा गरिएका युवा उम्मेद्वार हुन् ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उनी गठबन्धनको तर्फबाट प्रदेश सांसदको दौडमा छन् । तन्नेरी हुँदैदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील तामाङको नेतृत्वदायी भूमिकाको सह्राना गर्दै यस भेगका मतदाताले उनलाई विजयी तुल्याउने यहाँका अगुवाहरुको बुझाई छ । काँकरभिट्टा क्षेत्रका एक पुराना बासिन्दा धनबहादुर राना मगर भन्छन्, ‘पहिलेका सबै चिनिएकै छन्, तीबाट धेरै आशा छैन । अब गोपाल जस्ता नयाँ अनुहारको भरमा छौँ हामी मतदाता ।’
मेचीनगर–६ काँकरभिट्टा निवासी तामाङ २०३० सालमा चितवनमा जन्मिएका हुन् । बुवा शेरबहादुर र आमा माया तामाङको कान्छो छोराको रुपमा जन्मिएका गोपाल २०३७ सालदेखि काँकरभिट्टामा स्थायी बसोबास गर्दै आएका छन् । विगत करिब दुई दशक उनी सार्वजनिक जीवनका अनेक क्षेत्रमा क्रियाशील रहे र सदैव आम मान्छेको हितमा काम गर्न तत्पर रहे ।
२०४७ सालमा मेची बहुमुखी क्याम्पसमा अध्ययन गर्दागर्दै नेविसंघको सदस्य बनेर राजनीतिमा आबद्ध तामाङले २०६२÷०६३ को जनआन्दोलनमा युवालाई गोलबद्ध बनाउन भूमिका खेले । परिवर्तनको यो जनआन्दोलनमा तामाङको भूमिका सम्झनलायक मानिन्छ । तिनताका आन्दोलनमा सक्रिय बालहरि राई भन्छन्, ‘गोपाल दाइहरुकै आँटले हामी गणतन्त्रको नारा लगाउँदै सडकमा ओर्लेको हो । अब उहाँ प्रदेशसभामा गएर हिजोको सपना पूरा गर्न लाग्नुहुन्छ भन्ने विश्वास छ ।’ नेपाल तरुण दलको वडा सभापति हुँदै जिल्ला सभापतिको नेतृत्वमा रहेर युवालाई गोलबद्ध बनाउन सफल भएका छन् ।
‘अब नेतृत्व युवालाई’ भन्ने नारा स्थापित गर्दै तामाङ नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि बनेका छन् । यसअघि उनी ०७४ सालको निर्वाचनमा झापा क्षेत्र नं १ ‘क’ बाट समानुपातिक उम्मेद्वार बनिसकेका छन् ।
सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेर उनले गरेका उदाहरणीय कामबारे चर्चा नगर्दा तामाङको परिचय अपूरो हुन्छ । युवा क्लब स्थापना गरेर युवालाई सामाजिक क्षेत्रमा सक्रिय बनाउन उनको ठूलो योगदान छ । सम्भवतः मेचीनगरको काँकरभिट्टामा सुरुवाती कालको सबैभन्दा कामयाव र सक्रिय युवा क्लब स्थापना उनैले गरेका हुन् । संगम युवा क्लब स्थापना गरेर तामाङले युवालाई सकारात्मक अभियानमा जोड्न पहल गरेका थिए । साथै, बजार व्यवस्थापन, खानेपानी, रोटरी, जेसीज, फुटबल संघलगायत थुप्रै संघसंस्थामा रहेर उनले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।
यस भेगमा आम मानिसमाझ सुपरिचित संस्था नाइट चेस क्लब काँकरभिट्टाको लगातार तीन कार्यकाल अध्यक्ष, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका तामाङले मेची सामुदायिक सभाहल निर्माणमा अहोरात्र खटेर निर्माण सम्पन्न गरे । सभाहल निर्माण समितिको सचिव हुँदै अध्यक्ष बनेर सभाहल निर्माणमा उनको पहल र प्रयत्नले पूर्णता पाएको छ । उनको कार्यकालमा नाइटचेस क्लब अन्तर्राष्ट्रिय स्तरमा नाम कमाउन सफल बन्यो ।
नाइटचेस क्लबमा अध्यक्षको जिम्मेवारीमा रहँदा तामाङले समुदायमा जनचेतना मात्रै जगाउने कामको अगुवाई गरेनन्, लागुऔषधमा फसेका दर्जनौँ युवालाई कुलतबाट जोगाउन हरसम्भव खटिए । उनकै अगुवाईमा ती युवालाई कुलतबाट छोडाएर नयाँ जीवन दिलाए । त्यसरी नयाँ जीवन पाएका स्वतन्त्र प्रतिष्ठान नेपालका अध्यक्ष सन्दिप थापा भन्छन्, ‘गोपाल दाइहरुले त्यस्तो कामहरु यहाँ सुरु नगरेको भए, मेरो जीवनमा अन्धकार बाहेक केही हुने थिएन । अब त प्रदेशकै महत्वपूर्ण संस्थामा जनप्रतिनिधि भएर उहाँले हजारौँ युवालाई प्रेरणा दिनुपर्नेछ ।’
काँकरभिट्टा खानेपानी योजनालाई समयमै पूरा गरेर तामाङले खानेपानी विस्तार योजना अघि बढाए । उनकै कार्यकालमा काँकरभिट्टा खानेपानीको ५ किलोमिटर डे«न निर्माण गरिएको थियो । एसियाली बिकास बैंक (एडीबी) र मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा शहरी खानेपानी योजना सम्पन्न भएको थियो । खानेपानी विस्तार सँगसँगै १ हजार ५ सय उपभोक्ताको घरमा शौचालय निर्माण उनकै कार्यकालमा भएको थियो भने गरिबीको रेखामुनि रहेका करिब ५४५ उपभोक्ताको घरमा निःशुल्क धारा जडान पनि त्यसैबेला सम्पन्न भयो ।
तामाङको कुशल नेतृत्व कोभिडकालमा पनि देखियो । महामारीका बेला तामाङले स्वास्थ्यकर्मीको साथमा घरघरमा पुगेर ज्वरो जाँच गराउने काममा सहयोग गरे । जुनबेला कोभिडको चरम महामारी थियो, ज्यानको कुनै प्रवाह नगरी उनी यस क्षेत्रका जनताको ज्यान बचाउन लागि परे । महामारीका बेला खान जुटाउन हम्मे परेकालाई खाना खुवाउन मरिमेटेर लागे । त्यसबेला उनकै अगुवाईमा २० हजार जनालाई खाना खुवाउने काम गरिएको थियो । जोखिम मोलेर सक्रिय भएकै कारण उनलाई तीन पटकसम्म कोभिड संक्रमण हुनपुग्यो ।
मुलुक विपत्तिमा परेको बेला तामाङले सबैको साथमा आफ्नो क्षेत्र होस् वा बाहिर जिल्लामा पुगेर सहयोगको मल्हमपट्टी लगाउने काम गरे । भूकम्पबाट प्रभावित जिल्ला काभे्रपल्चोक पुगेर पीडितहरुको ५५ वटा अस्थायी टहरा निर्माण गरिदिए । त्यसबेला जिल्ला काँग्रेस पार्टीको प्रतिनिधित्व गर्दै तरण दल झापाको व्यानरमा श्रमदान गरेर उनले चर्चा समेत बटुलेका थिए ।
मेचीनगरको खेलकुद विकासमा पनि तामाङको योगदान उत्तिकै छ । खेलाडी उत्पादन गर्नेदेखि खेलाडीलाई विभिन्न प्रतियोगितामा सहभागी गराउन उनको सहयोग रहिरहेको छ । हिजो गरिएको लगानीको प्रतिफल आज मेचीनगरको खेल क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल भएको छ ।
काँकरभिट्टा बजार जति सुन्दर हुँदै थियो, त्यति नै व्यवस्थापन पक्ष कमजोर भएकाले बेला तामाङ एक्लैले ठूलो आँट राखेर काम गरेको विषय काँकरभिट्टाबासीले सधैँ सम्झन्छन् । उनकै नेतृत्वमा सार्वजनिक क्षेत्र बचाउन अभियान गठन गरेर प्लटिङ गर्ने कामको विरोध जनाएर एक अभियन्ताका रुपमा आफूलाई प्रस्तुत गरे । कुनै लोभ लालचमा नपरी तामाङ अव्यवस्थित जग्गालाई व्यवस्थापन गर्न कम्मर कसेर लागि परे । काँकरभिट्टा बसपार्क र देवकोटा पार्क, काँकरभिट्टा मावि खेल मैदानलाई व्यवस्थित गर्न उनको अग्रणी भूमिका रहेको छ । अहिले फेरिएको काँकरभिट्टाको मुहार हेर्नलायक छ जसको श्रेय यस क्षेत्रका अरु नेतृत्वसहित गोपाल तामाङलाई जान्छ ।
प्रदेश सभा सदस्यमा आफूलाई विजयी गराउन उनले सम्पूर्ण मतदातासमक्ष अपिल गरेका छन् । तामाङले युवादेखि बृद्धलाई समेटेर समग्र प्रदेश क्षेत्रको विकासमा साझा योजना बनाएर कार्यान्वयन गर्ने वचन दिएका छन् । तामाङले भने, ‘तपाईंको एक भोटले यस क्षेत्रकै भाग्य र भविष्य कोर्नेछ । तपाईंले दिएको अमूल्य भोट कुनै पनि मूल्यमा खेर जान दिन्न ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु