महेन्द्रद्वारले सुरु गर्यो दशगजामा जडिबुटी खेती

2022-11-15 मा प्रकाशित

मेचीनगर । मेचीनगर–६ स्थित महेन्द्रद्वार सहकारी संस्थाले व्यावसायिक रुपमा जडिबुटी खेती सुरु गरेको छ ।
वन मन्त्रालय, डिभिजन वन कार्यालयर र सहकारीको साझेदारीमा किसानकै सहभागितामा खेती गरिएको हो । खेती गर्दा लाग्ने किसान लागत सहकारी संस्थाले नै बेहोर्ने र उत्पादित कच्चा पदार्थ (वनस्पति) सहकारीले नै खरिद गर्ने योजना रहेको सहकारीका अध्यक्ष राजु दाहालले बताए ।
सहकारी संस्थाले मेचीनगर–४ स्थित दशगजा क्षेत्रमा २५ विगाहा क्षेत्रमा जडिबुटी खेती सुरु गरेको हो । सहकारीले सोमवार औपचारिक कार्यक्रम आयोजना गरेर जडिबुटी खेती सुरु गरेको जानकारी दिएको छ ।
सहकारी संस्थाका अध्यक्ष राजु दाहालको सभापतित्व तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रमुख अतिथि कार्कीले सदस्य तथा किसानको जीवनस्तर उकास्ने कार्यक्रम ल्याएकोमा सहकारीको सिंगो टिमको प्रशंसा गरे ।
कार्यक्रमका विषेश अतिथि मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीले सदस्य तथा किसानको जीवनस्तर उकास्ने सहकारी भरपर्दो माध्यम भएको बताए ।
तीन वर्षदेखि औषधिजन्य पदार्थको प्रशोधन समेत सुरु गरेको सहकारीले व्यावसायिक रुपमा जडिबुटी खेती सञ्चालन गरेको सहकारी संस्थाका अध्यक्ष राजु दाहालले बताए । ‘स्थानीय कृषकको २५ विगाह जमिन लिएर किसानकै सहभागितामा खेती सुरु गरेका हौँ,’ अध्यक्ष दाहालले भने ।
उनले आगामी दिनमा झापाको उत्तरी हात्ती प्रभावित क्षेत्र पाटापुरदेखि मेचीनगर–६ स्थित घारी रेष्टुरेन्टसम्मको ५ सय विगाहा दशगजा क्षेत्रको जमिनमा खेती गर्ने लक्ष्य रहेको बताए । सहकारीले सिटोलेना र लेवनग्रास प्रजातिका बिरुवा रोपण सुरु गरेको उनको भनाइ छ ।
कार्यक्रको औचित्य माथि सहकारी संस्थाद्वारा सञ्चालित जडिबुटी प्रशोधन केन्द्रका संयोजक कुन्दन निरौलाले प्रकाश पारेका थिए भने सञ्चालन सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु