न्यू स्टार सेमी फाइनलमा प्रवेश

2023-02-16 मा प्रकाशित

मेचीनगर ।  पेनाल्टी सुट आउट मार्फत रोमाञ्चक जित निकाल्दै न्यू स्टार बुद्धशान्ति मेचीनगरमा जारी नवज्योति फुटबल कपको सेमी फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा जिर्मले फुटबल क्लब इलाम विरुद्ध पेनाल्टी मार्फत ५-४ गोलअन्तरको जित निकाल्दै बुद्धशान्ति सेमी फाइनल समिकरणमा स्थान बनाउन सफल बनेको हो । निर्धारित समयमा दुवै तर्फबाट १-१ गोल भएपछि खेल पेनाल्टी तर्फ गएको थियो । खेलको २८ औँ मिनेटमा गोल गर्दै जिर्मले इलामका निरज क्षेत्रीले टिमलाई अग्रता दिलाएका थिए । तर जिर्मलेले सो अग्रता कायम राख्न सकेन । ५७ औँ मिनेटमा बुद्धशान्तिका आकाश राईले गरेको गोल मार्फत खेल बराबरी हुन पुग्यो । अन्तत निर्धारित समयमा बराबर बनेको खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिनु परेको थियो । जसमा बुद्धशान्तिका गोल रक्षक उपेन्द्र लुवागुनले एक उत्कृष्ट बचाउ गर्दै टिमलाई बिजेता बनाउन सफल बने । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत विहिबार दोस्रो चरणको दोस्रो खेलमा आयोजक नवज्योति युवा क्लब ‘ए’ टोली र प्रकाश ११ दार्जिलिङ्ग मैदानमा उत्रदैँछन् । आयोजक नवज्योति युवा क्लब ‘ए’ टोली पहिलोपटक मैदानमा उत्रदैँछ भने प्रकाश ११ दार्जिलिङ्ग पहिलो चरणको खेलमा विर्तामोडलाई हराउँदै दोस्रो चरणमा आइपुगेको हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु