काँकरभिट्टामा माघ २१ देखि प्रथम महिला फुटबल प्रतियोगिता आयोजना हुँदै

2026-01-31 मा प्रकाशित

काँकरभिट्टा । मेचीनगरको काँकरभिट्टामा प्रथम काँकरभिट्टा महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । “अनुशासन, कर्तव्य, सम्मान — महिला खेलाडीको पहिचान” भन्ने मूल नाराका साथ सो प्रतियोगिता माघ २१ गतेदेखि सुरु भई माघ २६ गतेसम्म सञ्चालन हुनेछ ।
काँकरभिट्टा महिला फुटबल क्लबको आयोजनामा मेचीनगर–६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा ६ वटा टिम सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
सहभागी टिमहरूमा आयोजक काँकरभिट्टा, भद्रपुर झापा गोल्डकप, मजदुर मिलन सिलिगुढी, लातपन्चर युनाइटेड दार्जिलिङ, धरान सिटी तथा जेपि एफसी बागडुगरा रहेका छन् । प्रतियोगिताको प्राविधिक सहयोग एन्फा झापाले प्रदान गर्नेछ ।
प्रतियोगिताको विजेता टिमले रु. ८० हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई रु. ४० हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. २ हजार नगद प्रदान गरिनेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई रु. ५ हजार, सर्वाधिक गोलकर्तालाई रु. ४ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र राइजिङ प्लेयरलाई जनही रु. ३–३ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्न रु. ४ लाख ३३ हजार अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।
काँकरभिट्टा महिला फुटबल क्लबका अध्यक्ष कर्णबहादुर थापा मगर (राजा) को अध्यक्षतामा आयोजना हुने प्रतियोगिताले महिला खेलाडीको पहिचान स्थापित गर्नुका साथै स्थानीयस्तरमा महिला फुटबलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
पत्रकार सम्मेलन कार्यक्रममा इष्ट होराइजनका प्रिन्सिपल सञ्जिव राई, मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख विमल आचार्य, झापा जिल्ला फुटबल संघका सदस्य बाबुराम बस्नेत, नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरे, सल्लाहकार संयोजक विना तामाङ तथा सल्लाहकार सदस्यहरू बालकृष्ण थापा, सशी राई थापा र विटु गुरुङलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु