मेचीनगरमा भोलीबाट ‘विद्यालय स्तरीय नाट्य उत्सव’

2023-02-25 मा प्रकाशित

मेचीनगर, १३ फागुन  । मेचीनगरमा नाट्य उत्सव आयोजना हुने भएको छ । समाजमा विद्यमान रहेका विभिन्न समस्याविरुद्ध नाट्य क्षेत्रबाट निरन्तर आवाज उठाउँदै आएको संस्था परिवर्तन थिएटरको आयोजनामा “प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव” काँकरभिट्टामा भोलीबाट शुरु हुन लागेको हो ।

विद्यार्थीहरुलाई रंगकर्मप्रति आकर्षित गराउँदै नाटक पनि खेलकुद, नृत्य, गायन जस्तै महत्वपुर्ण विषय हो भन्ने सन्देश दिन उत्सवको आयोजना गर्न लागिएको   थिएटरकी संस्थापक अध्यक्ष कविता नेपालले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिइन् ।
भोलीबाट शुरु हुने नाट्य उत्सव १६ गतेसम्म मेची सामुदायीक भवनमा रहेको परिवर्तन थिएटरको रंगमञ्चमा सञ्चालन हुनेछ ।

उत्सवमा नगर क्षेत्रका निजि तथा सामुदायिक गरि १० विद्यालयका विद्यार्थीहरुले तयार पारेको नाटक मञ्चन हुनेछ भने कदम थिएटर दमकका तर्फबाट पनि एउटा नाटक प्रस्तुत हुने संस्थाकी नाट्य कला संयोजक नेपालले बताइन् ।
“विद्यालयमा खेलकुद, नृत्य, गायन लगायतका क्षेत्रमा निरन्तर अभ्यास हुन्छ, तर नाटकको क्षेत्रमा अभ्यास हुने गरेको हामीले पाएनौँ ।” नाट्य संयोजक नेपालले भन्नुभयो “त्यसैले नाटकप्रति विद्यालय र विद्यार्थीको रुचि बढाउँदै नाटकलाई विद्यार्थीसगँ जोड्न नाट्य उत्सवको आयोजना गरेका हौँ ।”

उत्सवमा विद्यार्थी आफैले तयार पारेको नाटक प्रस्तुत हुनेछ भने अन्तिम दिन रंगकर्म सम्बन्धि तालिम पनि सञ्चालन गरिनेछ । उक्त तालिममा भारतको सिलिगुरिबाट अतिथिका रुपमा आउनुहुने बोर्नोमाला रोयले प्रशिक्षण दिनुहुनेछ ।

परिवर्तन थिएटर लामो समयदेखि समाजमा हुने गरेका जातिय विभेद, घरेलु हिंसा, लागु औषधको दुवर््यवसनी लगायतका समस्यामा नाटकको माध्यमबाट आवाज उठाउँदै आइरहेको संस्थाका रुपमा परिचत छ । नाटकलाई समाज परिवर्तनको मुल आधार मान्ने यस संस्थाले विद्यालयमा, गाउँ गाउँमा, सडकमा विभिन्न नाटक प्रदर्शन गरिसकेको छ ।

मेची सामुदायीक भवनको साँघुरो कोठामा रहेको रंगमञ्चलाई यतिबेला उत्सव आयोजनाका लागि चिटिक्क पारिएको छ । उत्सवमा प्रवेशका लागि शुल्क तिर्नुपर्ने छैन, निशुल्क व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु