पारिजात पब्लिक स्कुलको २३ औँ वार्षिकोत्सव सम्पन्न

2023-02-26 मा प्रकाशित

बाहुण्डाँगी । मेचीनगरको शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाएको पारिजात पब्लिक स्कुल मेचीनगर ९ को २३ औँ वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । विद्यालयमा आयोजित बृहत साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सहित बार्षिकोत्सव सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितकुमार ढुङ्गानको सभापतित्व तथा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४ जना वर्ष उत्कृष्ट शिक्षक र २ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा वर्ष उत्कृष्ट शिक्षकहरु विशाल आचार्य, मनोज चौधरी, बिन्दिया लिम्बू, दिक्षा भुजेल र कर्मचारीहरु अभिराज गौत्तम र राजु थापालाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले मेचीनगरको शैक्षिक क्षेत्रमा पारिजात पब्लिक स्कुलले ठूलो योदान दिएको बताउनु भयो । उहाँले अभिभावकहरुको मन जितेर यस क्षेत्रमा विद्यार्थीहरुलाई शिक्षा दिएर राज्यका विभिन्न क्षेत्रमा पुरयाएको योगदानको प्रशंसा गर्दै सामुदायिक विद्यालयलाई चुनौती थपिएको बताउनु भयो । मेयर बुढाथोकीले अबका निजी विद्यालयमा अभिभावकले आफ्ना बच्चाहरुको भविष्यका लागि चासो र चिन्ता व्यक्त गरेकाले शिक्षाको गुणस्तर बढ्दै गएको र सोही ठाउँमा सामुदायिक विद्यालयमा अभिभावकले साथ दिन नसक्दा चुनौती थपिएको उल्लेख गर्नु भयो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातजातिको संस्कृपति झल्कने नृत्य, गायन, तथा नाटक प्रस्तुत गरेर अभिभावकहरुलाई मनोरञ्जन दिएका थिए भने गायक जमिर अलिको पनि बेजोड प्रस्तुती रहेको थियो ।

२०५७ सालमा स्थापना भएको विद्यालयले विभिन्न आरोह अवरोहकाबिच सफलता मिल्दै गएको र अभिभावकहरुको मन जित्न सफल भएको विद्यालयका संस्थापक प्रिन्सिपल विनोद प्रधानले बताउनु भयो । उहाँले विद्यालयमा आएका विद्यार्थीहरुको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलापद्धारा सधैँ अग्रपंक्तिमा रहेर काम गरेको बताउनु भयो । कार्यक्रममा प्याप्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्र कार्की, शिक्षक महासंघ झापाका संस्थापक अध्यक्ष तेजप्रसाद चौलागाई, मेचीनगर ९ का वडा अध्यक्ष कञ्चन तामाङ, महिला नेतृ संगिता थापा, प्याव्सन मेचीनगरा अध्यक्ष डम्बर रुचाललगायत विभिन्न सामाजिक व्यक्तिहरुको सहभागिता रहेको थियो । कक्षा १० का विद्यार्थी आदर्श चापागाईले स्वागत औपचारिक कार्यक्रम शिक्षक पुष्प खतिवडा तथा सांस्कृतिक कार्यक्रम विद्यार्थीहरुले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु