त्रिदेव क्याम्पसमा गौतम, भण्डारी र बुढाथोकीबीच प्रतिष्पर्धा हुने

2023-03-16 मा प्रकाशित

चारआली, २ चैत । मेचीनगरको त्रिदेव बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ ।

त्रिदेव क्याम्पसको स्ववियु निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अखिल नेपाल विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्ष पदमा नेविसंघबाट अर्जुन गौतम, अनेरास्ववियुबाट योगेश भण्डारी र स्वतन्त्रबाट अनिस बुढाथोकी चुनावी मैदानमा उत्रिएका छन् ।

त्रिदेव क्याम्पसमा संगठनहरुबीच कुनै तालमेल भएको छैन । मुख्यतः दुई ठूला संगठनबीच हुने प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार बुढाथोकी महंगो सावित हुने देखिएको छ । अनेरास्ववियुका जिल्ला सदस्य भइसकेका बुढाथोकीको स्वतन्त्र उम्मेदवारीले दुवैलाई अप्ठ्यारो पर्ने आँकलन गरिएको छ । उनी बीएड तेस्रो वर्षमा अध्ययनरत छन् ।

‘निःशुल्क शिक्षा आजको आवश्यकता’ भन्ने विद्यार्थीको प्रमुख मुद्दा बोकेका अनिशले विद्यार्थीले भोट दिनेमा विश्वस्त छन् । उनी चुनावी माहोल आफ्नो पक्षमा रहेकाले जित्ने दाबी गर्छन् । यद्यपि, दुई संगठन बीचको प्रतिस्पर्धामा अनिशलाई त्यति सजिलो भने देखिँदैन ।

यही चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा त्रिदेव क्याम्पसमा १ हजार ४ जनाले विद्यार्थीले मतदान गर्दैछन् । निर्वाचन समितिले बुधबार अन्तिम नामावली प्रकाशन गरेको थियो । त्रिदेवमा उम्मेदवारले शान्तिपूणर् तरिकाले प्रचार गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु