बढ्दै छ दक्ष जनशक्तिको विदेश पलायन यात्रा, रित्तिंदै गाउँ

2024-11-13 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । एक वर्षअघि भद्रपुर नपा वडा नम्बर – १० का विवेक कट्टेल पढ्नका लागि जापान गए । ब्याचलर तेस्रो वर्ष पढ्दै गर्दा जापानी भाषा सिके अनि ठूलो धनराशी लगानी गरेर उनी विदेश हानिए ।
मेचीनगर –८ की इसा गिरी अनि सोही वडाकी सविना भट्टराईपनि जापान गएको १ महिना बित्यो । विदेश पढ्न जाने यी त प्रतिनिधि पात्र मात्रै हुन् । नेपालमा पढेर केही सम्भावना नदेखेपछि दक्ष जनशक्ति विदेशिने क्रम हरेक वर्ष बढ्दो छ । नेपालको राजनीतिप्रति युवाको घट्दो आकर्षण, देशमा मौलाउँदो भ्रष्टाचार र बढ्दो बेरोजगारीले यतिखेर नेपाल दक्ष युवा जनशक्तिविहीन बन्ने खतरासमेत बढ्दै गएको छ ।
एसईई परीक्षापछि मुस्किलले कक्षा ११, १२ सिध्याउँछन् विद्यार्थीहरु । अनि सुरु हुन्छ जिल्ला प्रशासनमा ठूलै भीड, प्राय सबै नागरिकता र पासपोर्टको लाइनमा हुन्छन्, त्यसपछिको गन्तव्य हुन्छ अष्ट्रेलिया, जापान, क्यानडा, कोरियालगायतका विभिन्न देश ।
जतिले ब्याचलरमा एड्मिसन गर्छन् परीक्षासम्म आइपुग्दा २५ प्रतिशत मात्र हुन्छन् । त्यसबेला सम्म २५ प्रतिशतले घरजम गर्लान् बाँकी ५० प्रतिशत जनशक्ति पासपोर्ट लिएर सम्भावनाको खोजीमा विदेशिन्छन् । यो क्रम हरेक वर्ष बढ्दो छ । खाडी मुलुक जानेहरुको लर्काे देख्दा देश पुरै खाली भएछ भन्ने भान हुन्छ ।
‘देशमा दक्ष जनशक्ति रितिँदै गएको छ । यहाँ बस्ने उत्साह कमैलाई छ । हरेक व्यक्तिमा निराशा छाएको छ । प्रत्येक घरबाट युवा राहदानी बनाएर विदेश जाने सोचमा छन् ।’ मेचीनगर –८ मेलमिलाप समितिका ज्येष्ठ सदस्य डम्बर बहादुर पुरीले भने, “सक्ने १२ पास गरेपछि अध्ययनका लागि भन्दै विदेश जान्छन्, नसक्नेहरु पासपोर्ट बनाएर मलेसिया, कतारलगायत खाडी मुलुकतिर जान्छन् ।”
गाउँमा खेताला खोज्दा पाइँदैन, कुनै आकस्मिक काम परेर युवा खोज्दा गाउँमा युवा भेटाउनै मुस्किल हुने गरेको उनले गुनासो गरे ।
नेपालमा बितेको १० वर्षको अवधिमा ३० प्रतिशत कारखाना, उद्योगधन्दा बन्द भइसकेका छन् । नयाँ उद्योग खुल्न सकेका छैनन् खुलेपनि त्यो संख्या अत्यन्तै न्यून छ । उद्योगधन्दा बन्द हुँदा रोजगारीका अवसरहरु समेत बन्द हुँदै गएका छन् ।
नेपाल कृषि प्रधान देश होे । यो कुरा नेपालको इतिहासमा दर्ज छ । हामी पुस्तकमा यिनेै शब्द पढ्छौं अनि एकछिन् रमाउँछौँ । त्यसपछि हाम्रो खुशी फेरि हराउँछ । जनशक्तिको अभावमा यहाँ व्यावसायिक खेती हुन सकेको छैन । उत्पादन हरेक वर्ष घट्दो छ । हरेक कुरामा हामी परनिर्भर बन्नुपरेको छ । पछिल्लो समय त नेपालमा मजदुरको समेत अभाव हुन थालेको छ । युवा जनशक्ति विदेशिने क्रम बढेपछि यहाँका खेतीयोग्य जमिन बाँझिने क्रमसमेत बढ्दो छ । सरकारले कृषिको व्यावसायिकीकरण गर्नेतर्फ अझै ध्यान दिन सकेको छैन । व्यावसायिक कृषि प्रणाली भाषणमै मात्र सीमित बन्दै गएको छ । मुलुक रेमिट्यान्सले मात्र धानिएको छ भन्दा फरक पर्दैन ।
२०६२ ÷०६३ को जन आन्दोलनपछि यो देशको बागडोर राजनीतिक दलहरुले सम्हाले । राणा अनि राजतन्त्रले देश बर्बाद बनायो, जनता आफैँले देशको बागडोर सम्हाल्नुपर्छ, हामी नेपालको मुहार फेर्छौँ, नेताले भनेको यो भाषण जनताले अझै भुलेका छैनन् । देशलाई विकासको उच्च विन्दुमा पुर्याउने, सुखी नेपाली अनि समृद्ध नेपालको सपना देखाएका हाम्रा राजनीतिक दल अनि हाम्रा नेताहरुले प्रजातन्त्र पछि लोकतन्त्र हुँदै गणतन्त्रको नारा भने गुञ्जाए । तर देशको बागडोर जनप्रतिनिधिले सम्हालेको दुई दशक बित्न लाग्दा पनि देशले फड्को मार्न भने सकेन बरु देश तथा जनताको अवस्था चरम आर्थिक संकटबाट गुज्रँदै गएको छ ।
जनतामा निराशा चुलिँदै गएको छ । जसको कारण श्रमका लागि मात्रै होइन, उच्च शिक्षाका लागि पनि लाखौँ नेपाली बाहिरी मुलुक जान थालेका छन् । १० वर्षको अवधिमा ५ लाख विद्यार्थी विदेश पलायन भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार विद्यार्थीले लिएको अनुमतिपत्र का आधारमा १० वर्षको अवधिमा ५ लाख ४३ हजार ८४२ जना विदेश भासिएका छन् । आर्थिक वर्ष २०७०÷७१ मा २८ हजार १२६ जनाले एनओसी लिएका थिए । सो संख्या २०७९÷८० मा आइपुग्दा १ लाख १० हजार २१७ पुगेको छ ।
विगत १० वर्षको तथ्यांक हेर्ने हो भने विदेश जाने विद्यार्थीको संख्या कोरोना कहरपछि झनै बढेको छ । कोरोनापछिको आर्थिक मन्दीका कारण नेपालमा भविष्य सुनिश्चित गर्न नसकेका विद्यार्थी विदेश पलायन हुन थालेका हुन् ।
आर्थिक वर्ष २०७७÷७८ मा २८ हजारले एनओसी लिएकामा २०७८÷७९ मा यो संख्या ३.५४ गुणाले बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा १ लाख २ हजार ५०४ जनाले एनओेसी लिएका थिए भने गत आव २०८०÷८१ मा ६६ वटा देशका लागि १ लाख १२ हजार २५६ वटा एनओसी जारी भएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार २१ लाख ९० हजार ५९२ जना नेपाली विदेशमा नै बसोबास गर्ने गर्दछन् । यीमध्ये अधिकांश वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश गएका हुन् । विदेशमा रहेको जनसंख्यामध्ये पुरुषको संख्या १७ लाख ९९ हजार ६७५ र महिलाको संख्या ३ लाख ९० हजार ९१७ जना छ ।
विदेश जान खर्च जुटाउन नसक्ने ठूलो संख्या छिमेकी मुलुक भारतमा आफ्नो जीवन निर्वाह गरिरहेको छ । हरेक वर्ष नेपालीहरु भारतको दिल्ली, पंजाव, हरियाणा, मुम्बईलगायतका शहरमा रोजगारीको लागि पुग्ने गरेका छन् ।
सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउने, उद्योगधन्दा सञ्चालनको लागि युवा जनशक्तिलाई प्रोत्साहित गर्ने हो भने नेपालले समृद्धि हासिल गर्ने छ । अन्यथा यो देशमा चरम आर्थिक संकट मात्र होइन देशमा युवा जनशक्तिको अभाव हुने निश्चित छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु