अनाथ र असहायको जीवन जिउने आधार बन्दै मानव सेवा आश्रम

2024-12-10 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । उमेरले ८५ नाघेकी नरमाया बुढाथोकी बाहुण्डाँगी स्थित मानवसेवा आश्रममा आएको ६ महिना बित्यो । तेह्रथुमबाट झापा धरमपुर झरेकी नरमायाको बाल्यकाल अनि सिंगो जीवन पीडा अनि संघर्षमै बित्यो । विवाह के हो ? बुझ्न नपाउँदै सात वर्षकै उमेरमा बैबाहिक जीवनमा बाँधिएकी उनको विवाह भएको ६ वर्ष पनि वित्न नपाउँदै श्रीमानको निधन भएपछि उनको साहारा अनि जीवनका सबै खुसी खोसियो ।
१३ वर्षकै उमेरमा सिँदुर पुछिएपछि निक्कै मुस्किलले आफूलाई सम्हालेकी नरमायाको काँधमा जेठी पटीका तीन भाइ छोरा र दुई जना छोरीको लालन पालनको जिम्मेवारी थियो । उनले आफ्नो जिम्मेवारी पूरा गरिन्, छोरा छोरीहरुलाई हुर्काइन्, पढाइन् अनि घरमा बुहारी भित्राइन्, छोरी विदागरिन् । छोरा छोरीको जीवन साथी जोडियो तर उनीभने त्यसपछि एक्लो भइन् । त्यसपछि जीवन जिउनकोलागि उनले लामो समय सताक्षीधामलाई रोजिन् सकुन्जेल आफै पकाइन् खाइन् तर अवभने उनलाई साहाराको खाँचो छ । उनको अनुहारको छाला चाउरी परिसकेको छ । अवत शरीरपनि थाक्दै गयो दुःख पीडा बुझिदिने आफन्त कोही भएन उनले भनिन्, “आफन्त भनेकै उहाँहरु ह्ुनु भयो छोरा छोरीले दिने भन्दा बढी माया पाएको छु ।”
मेचीनगर –४ भृकुटीलाई कर्म थलो बनाएका कुमार राई उमेरले ६८ वर्ष पुगेका छन् । छोरा र श्रीमतीले यो संसार छोडेर गएपछि एक्लो बनेका उनी केही वर्ष भतिजको साहारामा जीवन यापन गरे । उच्च रक्तचापका कारण प्यारालाइसिस भएर खुट्टा नचेलेपछि उनको पनि सबै खुसी खोसियो । ह्वील चियरको साहारामा कष्टकर जीवन जिउन बाध्य राईको यतिखेर भने जीवन जिउने आधार मानव सेवा आश्रम बनेको छ । उनी यस आश्रममा आइपुगेको पनि तीन महिना बित्यो । श्रीमती र छोराले यो संसार छोडेर गएपछि भतिजाको संरक्षणमा थिएँ । आज ठूलो परिवारमा आइपुगेको छु । सबैले माया दिनु भएको छ । समयमा खाना दिन्छन् सारो गाह्रो के छ सोध्छन् । आफन्त भनेको यहि त होलानी । उनी विगतलाई सम्झदै एक छिन् घोत्लिए ।


मेचीनगर –४ स्थित मानव सेवा आश्रममा बस्ते यी त प्रतिनिधि पात्र मात्रै हुन् यहाँ आफन्त र परिवारबाट विछोडिएका ४३ जना सडक मानवहरुलाई उद्धारगरी संरक्षण गरिएको छ । असहाय र अनाथहरुको निम्ति मानव सेवा आश्रम साहारा अर्थात जीवन जिउने अधार बन्दै गएको छ । आश्रममा भएकाहरु मध्ये कोही अपाङ्गता भएका ब्याक्ति छन् त कोही बोल्न जान्दैनन्, कोही धेरै बोलिरहन्छन् । यी सबैखाले मानिससको भावना बुझेर उनीहरुलाई स्याहार सुसार गर्नु चानचुने कुरा होइन् तर सेवामा समर्पित आश्रमका स्वयमसेवकहरु झर्काे नमानी ती ज्येष्ठ नागरिकहरुको खुसी खोजीरहेका छन् । नुहाउन नसक्नेलाई नुहाइदिने लुगा बदल्ने, खाना खुवाउने, हात खुट्टाको नङ काटिदिने उनीहरुको दिन चर्या यसरी नै वित्छ ।
“हामीले मानव सेवामा समर्पित भएर अभियान थालेको छौं । कुनै परिवारको सदस्य अब पारिवारीक बोझ बनेर सडकमा आउनु नपरोस भन्ने हाम्रो ध्यय हो,” मानव सेवा आश्रमका कोशी प्रदेश प्रमुख नवराज केसीले भने, “मानव सेवा आश्रम परिवार बिहिन असाहय सडक मानवहरुको जीवन जिउने आधार हो । हामीले झापा जिल्लाका बिभिन्न क्षेत्रमा कस्ट जीवन भोगिरहेका असाहय सडक मानवहरुलाई आश्रममा ल्याएरसेवा दिएका छौं ।”
हेटौडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालन गरेको तथा बिभिन्न क्षेत्रबाट उद्धारगरी हाल १ हजार ९०० जना सडक मानवहरुलाई सेवा प्रदान गरिरहेको उनले जानकारी दिए । मानव सेवा आश्रमले हालसम्म देशभर १० हजार ८६२ जनालाई सेवा प्रदान गरिसकेको र जसमध्ये ४ हजार २८५ जनालाई परिवारमा पुनर्मिलन गराएको तथा ८८८ जनालाई सामुदायमा पुनस्थापना गरिएको तथा १३८२ जनाको निधन भएकोे कार्यालयले जनाएको छ ।


मानवीय सेवाको भावनाले मात्र होइन् हामीले कानुनी प्रक्रिया पुरा गरेर सडक मानवहरुलाई उद्धारगरी संरक्षाण गरिरहेको छौं, कोशी प्रदेश संयोजक गंगा थापाले भनिन्, “सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई आश्रममा ल्याएर स्याहारसुसार गर्छाैं, स्नेहपूर्वक काउन्सिलिङ र उपचार गछौं ठिक भएपछि परिवारमा फर्कन चाहनेहरुलाई परिवारमा पुनरर्मिलन गराउँछौ ।”
कतिपय बुबा आमा आफ्नै कारणले, छोरा छोरीको कारणले र समाजकै कारणले पनि सडकमा आउनु परेको अवस्था छ । उनले भनिन्, “यस किसिमको समस्याको दिगो समाधानको लागि हामी गाउँ गाउँमा सचेतना समेत जगाउने छौं ।”
स्थानीय समाजसेवी रामबहादुर प्रधानले दुई विगाह १० कठ्ठा जमिन उपलब्ध गरापछि सो क्षेत्रमा मानव सेवा आश्रम निर्माण गरिएको छ । १ करोड ७५ लाखमा निर्माण सम्पन्न भएको आश्रममा तीनवटा संरचनामा २१ वटा कोठा तथा किचन निर्माण सम्पन्न भएको छ ।
भवन निर्माणको लागि मानवसेवा आश्रमको केन्द्रीय कार्यालयबाट रु १ करोड र मेचीनगर नगरपालिकाबाट रु २५ लाख अनुदान सहयोग भएको उनले बताइन् । समाजसेवी प्रधानको आफ्नो सन्तान नभएपछि उनले आफ्नो नाममा रहेको सबै सम्पत्ती मानवसेवा आश्रमलाई समर्पण गरेका छन् भने दानवीर प्रधान दम्पती पनि सोही आश्रममा बस्तै आएका छन् ।
आश्रमले देशव्यापी रुपमा सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन विवस अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिक रुपमा अति कमजोर मानवको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवा दिँदै आएको छ ।
बहुनडाँगी सेवा केन्द्रमा हाल कोशी प्रदेश प्रमुख नवराज केसी, प्रदेश संयोजक, गांगा थापा, जिल्ला संयोजक खगेन्द्र विश्वकर्म सहित ८ जनाको टिमले सेवा प्रदान गरिरहेको रहेको उनले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु