झापा । यतिखेर झापाका अधिकांश चिया बगानमा लुपरको संक्रमण फैलिएपछि चिया उत्पादक किसान तथा उद्योगी चिन्तित बनेका छन् ।
आतंक सिर्जना गर्नेगरी लुपरको प्रकोप चिया बगानमा फैलिएपछि कलिला मुना पलाउने त परको कुरा चियाका छिप्पिएका पात समेत किराले खाएर बोट नै मर्न थालेपछि किसान तथा उद्योगी पिरोलिएका हुन् ।
आम्दानी दिने मुख्य सिजनमा लुपर क्याटरपिलर किराको संक्रमण बढेर चियाका बुटा नै मर्न थालेपछि उनीहरु यतिखेर ठूलो आर्थिक संकटको समेत समना गर्न बाध्य छन् ।
लुपर क्याटरपिलर किराको कारण बिशेषगरी झापाको मेचीनगर, हल्दिबारी, भद्रपुर लगायत क्षेत्रका किसान तथा उद्योगी प्रभावित भएका हुन् । लुपरले साना तथा ठूला सबै खाले चिया बगानमा क्षति पुर्याइरहेको छ ।
अरु सिजन भन्दा वर्षायामम हरियो चियाको उत्पादन बढ्छ । अनि किसान तथा व्यवसायीले नाफा कमाउने समय पनि यही हो तर यो वर्ष सिजनको सुरुबाटै बिभिन्न किराको संक्रमण सुरुभएपछि उत्पादन निरन्तर ओरालो लागेको चिया उत्पादक किसान तथा उद्योगीहरुको भनाइ छ ।
झापामा गुणस्तरीय चिया उत्पादन गरेर छुट्टै पहिचान बनाएको भद्रपुर स्थित कालिका टि स्टेट हरियो चियापत्तीको अभावमा करिव तीन सातादेखि बन्द छ । १ सय ५० विगाह क्षेत्रफलमा फैलिएको सो बगानको सम्पूर्ण भागमा लुपर संक्रमण फैलिएपछि पत्तीको अभावमा चिया उद्योग बन्द गरिएको उद्योगका म्यानेजर शिलाकान्त चौधरीले बताए ।
‘नियन्त्रणको प्रयास गर्दा गर्दै चिया बगानको सम्पूर्ण भागमा लुपर फैलियो,’ उनले भने, ‘रोगकीरा नियन्त्रणको लागि धेरै औषधि प्रयोग गर्याैं तर निययन्त्रण हुनै सकेन ।’ यो वर्ष सिजनको सुरुबाटै बगानमा बिभिन्न कीराको संक्रमण सुरु भएको उनले बताए ।
‘सुरुमा थिप्सको संक्रमण थियो त्यसलाई जसो तसो नियन्त्रण गर्याै,’उनले भने, ‘ थिप्स राम्रोसँग नियन्त्रण नहुँदै लुपर सुरु भयो, दुई महिनादेखि लुपर बगानमा छ, प्राविधिकको सल्लाह अनुसार सबै खाले औषधि प्रयोग गरिसक्यो तर किराको प्रकोप अझ फैलिँदै छ । अवत पत्ती नै छैन त्यसैले फेक्ट्री बन्द गर्नु पर्याै । काम नभएपछि नियमित काम गर्ने मजदुरहरुलाई समेत विदा दिनु परेको उनले बताए । लुपरको कारण यस वर्ष आर्थिक रुपमा समेत करोडौं क्षति भएको उनको भनाइ छ ।
क्याटरपिलर खासगरी रातको समयमा सक्रिय हुने कीरा हो । पात चपाउने काम राति गर्छ र दिनको समयमा माटोमुनि लुकेर बस्छ ।

बिगत ५÷७ वर्षअघि पनि यस किराले चिया बगानमा सामान्य असर पुर्याउने गथ्र्यो । तर, त्यस समय सामान्य कीटनाशक विषादीले यो किरा मथ्र्यो । अहिले कडा खालको विषादीले समेत असर गर्न छाडेपछि हरियो पत्ति सखाप हुँदै गएको वैभव टि–स्टेटका प्रवन्धक ओमप्रकाश झाको भनाइ छ । ‘केही वर्ष अघि सम्म लुपर सामान्य समस्या जस्तै थियो,’ उनले भने, यस अघिपनि लुपर बगानमा देखिन्थ्यो विषादीकोे प्रयोग गरेपछि नियन्त्रण हुन्थ्यो तर यस पटक विषादीले समेत काम गरिरहेको छैन ।’
१३५ बिगाह क्षेत्रफलमा फैलिएको सो बगानमा किराको संक्रमण सुरु भएपछि उत्पादनमा ५० प्रतिशत ह्रास आएको उनको भनाइ छ । कीरा नियन्त्रणको लागि विषादी हान्ने देखि पुतली नियन्त्रणको लागि ठाउँ ठाउँमा बिजुली बालेर डब्बामा विषादी राख्ने अभियान समेत सुरुगरेको उनले बताए ।
उता हल्दीबारीका चिया किसान गोपाल गिरी भन्छन्, ‘यस वर्ष साना ठूला सबै बगानमा लुपरको प्रकोप देखियो, अरु बेला सामान्य औषधिले नियन्त्रण हुन्थ्यो तर यस वर्ष नियन्त्रण गर्नै सकिएन ।’ धान खेतीको विकल्पमा चिया लगायौं अब चियाको बुटा मरेपछि के लगाउने उनले दुखसो पोखे । बैशाखदेखि साउनको समयलाई हरियो पत्ती उत्पादनको मुख्य सिजन मानिन्छ तर यस पटक लुपर तथा थिप्सको कारण चिया पत्ती टिप्नै नपाएको गुनासो किसानको छ ।
लुपर कीरा– जसलाई ‘लुपर क्याटरपिलर’ वा ‘टी लुपर’ पनि भनिन्छ । यो एक प्रकारको झुस्याहा किरा हो जसको माउ पुतली चियाका पातमा अण्डा पार्छ । ती अण्डाबाट निस्किएका लार्भाहरूले नयाँ पलाएका पात र मुना खाएर बोटलाई झिङ्ग्रामा परिणत गर्छन् ।
झापामा १० हजार ५ सय हेक्टरमा चिया खेती विस्तार गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड प्रादेशिक कार्यालय झापाका अनुसार अहिले जिल्लामै ठूला तथा साना चिया बगानहरूमा लुपर क्याटरपिलरको प्रकोप रहेको छ । यस किरालाई नियन्त्रण गर्न नँया नँया औषधिको खोजी भइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड प्रादेशिक कार्यालयका चिया विज्ञ अनन्त ढुङ्गानाले बताए । उनले समस्या ग्रस्त क्षेत्रमा नियमित अनुगमन भइरहेको जानकारी दिए । चिया उत्पादक किसान तथा उद्योगीले बढी उत्पादन लिन आवश्यक भन्दा बढी मात्रामा रासायनिक मल तथा विषादीको प्रयोग गर्नाले पछिल्लो समय रोगकीरा नियन्त्रण चुनौति बन्दै गएको उनले बताए । किराले सबैखाले विषादी पचाइसक्यो, अव विज्ञहरुको सल्लाह अनुसारमात्र विषादी तथा रासायनिक मल प्रयोग गर्न उनले सुझाए । यो सँगै बगानको सरसफाइमा विषेश ध्यान दिनु पर्ने उनको भनाइ छ ।
लुपर क्याटरपिलर किराको नियन्त्रणमा ढिलाइ भए झापाको चिया उद्योग नै धरापमा पर्न सक्छ । त्यसैले सरकार, प्राविधिक निकाय र कृषकबीच तत्काल समन्वय आवश्यक देखिन्छ । चिया बगान नष्ट भए कृषकको जीवनस्तर मात्र होइन देशको अर्थतन्त्रमा समेत ठूलो क्षति हुने निश्चिित छ ।

प्रतिकृया दिनुहोस्