मेचीनगरका माझी समुदायले मनाए घैलाडुब्बा नदीमा कोशी पूजा तथा लदी पर्व

2026-03-03 मा प्रकाशित

मेचीनगर । खोलालाई भगवानको रुपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मंगलबार धुमधामका साथ मौलिक पर्व कोशी पूजा तथा लदी पर्व मनाएका छन् ।
नेपाल माझी उत्थान संघ मेचीनगर समितिको आयोजनामा समेत भब्य रुपमा यो पर्व सम्पन्न भएको छ । मेचीनगरका माझी समुदाय कोसीपर्व मनाउन मंगलबार बिहान स्थानीय घैलाडुब्बा नदी पुगे । नदीको किनारमा मौलिक पोशाकमा भेला भएका उनीहरुले खोलाको सामूहिक पूजा गर्नुका साथै आफ्नो परम्परागत पेशा जाल तथा डुंगाको समेत पूजा गरेका थिए । देश तथा विदेशमा भइरहेको हिंसाका घटना अन्त्य गरी सद्भाव र शान्ति छाओस भनी उनीहरुले जलदेवताको आरधना समेत गरे ।


नदीको पूजा पछि औपचारिक कार्यक्रम भने भीमशेन थान मन्दिर तथा निर्माणाधिन समुदायिक भवन परिसरमा आयोजना गरिएको थियो ।
नेपाल माझी उत्थान संघ मेचीनगर समितिका अध्यक्ष सन्तलाल माझीको सभापतित्व तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले मानिस सबै प्राणीभन्दा विष्टि र सचेत प्राणी भएकै कारण आज समाज बिभिन्न भाषा कला संस्कार र संस्कृतिको संगम थलोको रुपमा विकास भइरहेको बताए । आदिमा कालमा मानिस अलग अलग समूहमा थिए उनीहरुले आफ्नो समूह अनुसार भाषा, संस्कार र संस्कृतिको विकास गरे आज त्यसले निरन्तरता पाइरहेको छ । यो संस्कृति राष्ट्रको सम्पत्ती हो । यसको संरक्षण पनि सरकारको दायीत्व हो, ’उनले भने ।
प्रमुख अतिथि बुढाथोकीले पानी भित्रै जीवनको आधार खोजेरे बाँचेको माझी समुदायको संस्कार र संस्कृति थप विष्टि प्रकारको रहेको समेत बताए ।
उनले माझी समुदायको संस्कृतीको संरक्षण तथा भिमशेन थान मन्दिर तथा निर्माणाधिन सामुदायिक भवनलाई पूर्णता दिने विषयमा मेचीनगरपालिकाले आगामी बजेटमा सम्बोधन गर्ने समेत प्रतिवद्धता जनाएका थिए ।
समाजमा पछिल्लो समय लहडको भरमा समुदायिक भवन निर्माण गर्ने परिपाटी चलेको भन्दै त्यस्तो कार्यलाई भने नगरपालिकाले निरुत्साहित गर्ने उनको भनाई थियो । उनले भने , ‘जहाँसुकै सामुदायिक भवन बनाउने लहड चलेको छ अब त्यस्तो कार्यलाई रोकेर आवश्यक्ताको आधारमा मात्र सामुदायिक भवन निर्माणमा नगरले सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, वडासदस्य विष्णु भट्टराई, किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाकार जीतबहादुर लावती, कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक राजन कुमार गिरी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका सहभागि अतिथिहरुले कोशी पूजामा समेत सहभागि बनेका थिए । सो अवसरमा भीमशेन थान मन्दिरमा समेत पूजा अर्चना गरिएको थियो ।


सो अवसरमा कार्यक्रमको औचित्य प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष सन्तलाल माझीले निर्माण सुरु र्भको एक दशक वित्दा समेत भिभसेन थान मन्दिर तथा सामुदायिक भवनले आर्थिक अभावले निर्माणकार्य पुरा गर्न नसकिएको भन्दै स्थानीय सरकार समक्ष सहयोगको लागि आग्रह गरेका थिए । उनले यस अघि सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरे । उनले बिभिन्न पालिकाले कोशी पूजा तथा लदी पर्वमा विदा दिने गरेको तर मेचीनगरपालिकाले भने हाल सम्म विदा नदिएर भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव प्रभु माझीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु