आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा १ लाख ३१ हजारभन्दा बढी मतदाता र ४५ वटा मतदान स्थल रहेका छन् । वि.सं. २०७९ सालको प्रतिनिधि सभा निर्वाचमा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा विजयी भएको यस क्षेत्रमा यसपटक नेपाली काँग्रेसले युवा नेता केशवराज पाण्डेलाई उम्मेद्वार बनाएको छ । पाण्डेसँग पत्रकार मुक्ति पौडेलले गरेको कुराकानी ।
तपाईँको बाल्यकाल, पारिवारिक पृष्ठभूमि, राजनीतितिर आकर्षणको कारण ?
: मेरो जन्म तत्कालीन ज्यामिरगढी गाउँपालिका वडा नम्बर ८ मा भएको हो । मेरो शिक्षा त्यहीँको अरनिको स्कुलबाट प्रारम्भ भयो । पछि माध्यमिक शिक्षा कक्षा ४ बाट काँकरभिट्टा मावि र कलेज कनकाई क्याम्पस बिर्तामोडमा अध्ययन गरेँ । मेरो परिवार सामान्य मध्यमवर्गीय परिवार हो ।
२०४९ को स्ववियु निर्वाचनबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेँ । त्योभन्दा अगाडि ४६–४७ को जनआन्दोलनमा सहभागी पनि भएको थिएँ । सानैदेखि राजनीतिमा रुचि राख्ने भएको हुनाले मैले नेपाल विद्यार्थी संघबाट कार्य प्रारम्भ गरेँ ।
त्यसपछि सँगसँगै व्यवसाय पनि गर्नुपर्छ, राजनीति मात्रै गरेर हुँदैन भन्ने लागेर २०५२ सालमा व्यवसाय सुरु गरेँ ।
नेपाली काँग्रेसको ११ औँ र १२ औँ महाधिवेशनमा प्रतिनिधि र १३औँ मा महासमिति सदस्य हुँदै १४औँ मा महासमिति सदस्य भएँ । यो बीचमा पहिलोचोटि महाधिवेशन प्रतिनिधि जित्दा त्यतिबेला प्रेसिडेन्सियल सिस्टम थियो । सुधीर सिवाकोटी सभापति हुनुहुन्थ्यो आदरणीय नेताले जिल्ला कार्यसमितिमा मनोनित गर्नुभयो । दुई कार्यकाल म नेपाली कांग्रेस झापाको जिल्ला सदस्य भएँ र तेस्रोपटक उद्धव थापाको कार्यकालमा कोषाध्यक्षको रूपमा पार्टीमा काम गरेँ ।
: झापा क्षेत्र नम्बर १ अत्यन्तै सुन्दर ठाउँ हो । पहिला पञ्चायतकालमा पनि यहाँ ६० बिगाहा जग्गा ठुलो सम्भावना देखेरै राखेको, यद्यपि त्यो जमिनहरू आज धेरै मानिसहरूको बसोबास गर्ने एउटा अवसर पनि प्राप्त गरेको छ । यद्यपि नेपालको सुदूरपूर्वको मेची भन्सार कार्यालय छ, ठुलो क्षेत्र ओगटेको छ । त्यहाँ ड्राइपोर्ट हामीले निर्माण ग¥यौँ ।
यसको सम्भावना भुटानसँग, बंगलादेशसँग, इन्डियाको धेरै ठाउँसम्म र स्थलगत मार्गलाई व्यवस्थित गरेर बर्मा हुँदै थाइल्याण्ड, टोकियोसम्म जाने एउटा स्थलमार्ग सार्क रोडको रुपमा अगाडि बढिरहेको छ । यसलाई कलकत्ताको पोर्टले मात्रै थेग्न सक्दैन भन्ने दृष्टिकोण राखेर हामी समुद्रसँग नजोडिएको मुलुक भएको हुनाले हामीले २०५४ सालमा पारवहन मार्ग प्राप्त गर्यौँ । यहाँको जनजीवनको कुरा गर्नुहुन्छ भने यहाँ बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषीका मानिसहरू हुनुहुन्छ । यहाँको मुख्य समस्या भनेको सुकुम्बासी समस्या, हात्तीको समस्या र मेची नदीले गर्ने कटानको समस्या हो । यी समस्याहरूलाई समाधान नगरी यहाँको विकास सम्भव छैन भन्ने मेरो ठम्याइ छ । विशेषगरी, यहाँका सुकुम्बासीहरूले लामो समयदेखि लालपुर्जा पाउन सकेका छैनन् । उनीहरूलाई जग्गाको मालिक बनाउनु हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ ।
त्यस्तै, हात्तीको आक्रमणबाट यहाँ बर्सेनि धनजनको ठुलो क्षति हुने गरेको छ । यसलाई रोक्नका लागि स्थायी समाधान खोजिनुपर्छ । मेची नदीको तटबन्ध निर्माण गरेर बस्ती र खेतीयोग्य जमिन जोगाउनु पनि उत्तिकै आवश्यक छ ।
यहाँको युवा पुस्ताको अवस्था कस्तो छ ? उनीहरूका लागि रोजगारीका अवसरहरू केके हुन सक्छन् ?
: युवाहरूको सवालमा, मैले अघि पनि भनेँ, उद्यमशीलता नै मुख्य कुरा हो । हामीले युवाहरूलाई सीपमूलक तालिम दिएर उनीहरूलाई आफ्नै देशमा केही गर्न सक्ने बनाउनुपर्छ । झापा क्षेत्र नम्बर १ मा पर्यटन र कृषिको ठुलो सम्भावना छ । कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरण गर्न सकियो भने धेरै युवाहरूले रोजगारी पाउन सक्छन् ।
हामीले औद्योगिक क्षेत्रको विकास गरेर साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन दिनुपर्छ । ड्राइपोर्टको पूर्ण सञ्चालन र अन्तर्राष्ट्रिय व्यापारको विस्तारले पनि यहाँको आर्थिक गतिविधि बढाउन र रोजगारी सिर्जना गर्न मद्दत पुर्याउँछ।
तपाईंको चुनावी एजेन्डाहरू केके हुन् ? जनताले तपाईंलाई किन भोट दिने ?
: मेरा मुख्य एजेन्डाहरू भनेकै यहाँको दिगो विकास, सुकुम्बासी समस्याको समाधान र युवा स्वरोजगार हुन् । म लामो समयदेखि यहीँको माटोमा भिजेको मान्छे हुँ, यहाँको भूगोल र समस्यालाई नजिकबाट बुझेको छु । उद्योग वाणिज्य संघ र पार्टीमा रहेर मैले जुन अनुभव हासिल गरेको छु, त्यसलाई म यो क्षेत्रको विकासमा लगाउन चाहन्छु । म बोलेर भन्दा पनि काम गरेर देखाउने व्यक्ति हुँ र जनताको सेवामा सधैँ समर्पित रहनेछु ।
यहीँ ठाउँमा हामीले कृषि मण्डीको रूपमा विकास गरयौँ भने सोझै कृषि मण्डीमा ल्याएर कृषकहरूले सामान आफूले उत्पादन गरेका वस्तु बिक्री गर्ने हो भने त्यो एउटा ठुलो सम्भावना देखिन्छ । नेपालको महत्वपूर्ण विषय भनेको कृषि हो र कृषकहरू निराश भए भने मुलुकले छलाङ मार्नै सक्दैन ।
हात्तीको विषयमा पनि थुप्रै कुराहरू उठिरहेका छन् । यो क्षेत्रको धेरै भूगोलमा हात्तीको समस्या छ । हात्ती पनि एउटा प्रकृतिको उत्पादन हो । हात्तीलाई मारेर या अन्त्य गरेर यो समस्याको समाधान हुन सक्दैन ।
यहाँ तटबन्धनको पनि ठुलो समस्या छ । निन्दा, मेची लगायतका नदीले कटान गरेर धेरै समस्याहरू सिर्जना गरेको छ । यसलाई आजैदेखि हामीले नगरपालिकासँग पनि समन्वय गरिकन एउटा साझा अवधारणा लिएर यस क्षेत्रलाई हरित क्षेत्र घोषणा गर्दै यसतर्फ विशेष ध्यान दिन आवश्यक छ ।
यसबाहेक बाटाघाटा, बिजुली, खानेपानी, स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत कुराहरूमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।
अरु उम्मेदवार भन्दा तपाईँ के फरक हुनुहुन्छ ?
पाण्डे : म अरुभन्दा पृथक छु । एक त म यहीँको रैथाने परें । यहीँ जन्मेको मान्छे परें । जहाँ जन्मेको छ त्यहाँको माटोसँग अलिकति बढी माया स्नेह हुन्छ ।
अर्काे विषय निजी क्षेत्रमा पनि काम गरेको हुनाले यहाँको व्यवसायीहरुसँग के छ उनीहरुको समस्या भन्ने पनि मैले बुझेको छु । म आफैँ एउटा कृषकको छोरो भएकाले कृषिका समस्याहरुको बारेमा पनि मलाई राम्रै जानकारी छ । यहाँका स्थानीय समस्याका बारेमा म अन्यभन्दा बढी जानकार छु ।
उम्मेदवारहरूसँग भोलिको दिनमा पब्लिक डिबेट (सार्वजनिक बहस) गर्न तयार हुनुहुन्छ ? तपाईँको निकटतम प्रतिष्पर्धी को हो ?
: म त एकदम क्लियर, अहिलै नै म भनिरहेको छु त । यहाँको समस्या अनि भोलि काम गर्ने कुराहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतसँग हामीले खेल्नुपर्ने भूमिका हाम्रो क्षेत्रको मात्रै होइन, यो सुदूरपूर्वको सिङ्गो नेपालको निमित्त कस्तो भविष्य कोर्ने भन्ने विषयमा मेरो दृष्टिकोण स्पष्ट छ । बहस र छलफल गर्न त म जतिबेला पनि तयार छु । प्रतिष्पर्धाको कुरा गर्नुहुन्छ भने लोकतान्त्रिक अभ्यासमा प्रतिष्पर्धा सामान्य प्रव्रिmया हो यसलाई म सामान्य रुपमा लिन्छु । मेरो बुझाईमा मेरो प्रतिष्पर्धा कसैसँग छैन मेरो जित सुनिश्चित छ ।
अहिले त पार्टी र व्यक्तिभन्दा पनि एजेन्डा बलियो हुनुपर्छ भन्छन् । तपाईँले उठाएका शिक्षा, स्वास्थ्य क्षेत्रका एजेन्डा केके छन् ?
: संसारको विकसित राष्ट्रहरुको अवस्था हेर्दा स्वास्थ्य, शिक्षा, स्वरोजगार राज्यको उत्तरदायित्व रहेको पाइन्छ । कुनै पनि जनताले उपचार अभावका कारण मृत्युवरण गर्नुहुँदैन । त्यही भएरै अहिले हामीले प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको गगन थापा स्वास्थ्य मन्त्री बन्दा स्वास्थ्य बीमा कार्यक्रम ल्याउनु भयो । जीवनभर दबाई खानुपर्ने कुनै पनि बिमार छ भने महिनाको पाँच हजार सरकारले व्यवस्थापन गर्यो । त्यति मात्रै होइन, तपाईँको चाहिँ मिर्गौला फेलियर भएर डायलोसिस गर्ने मान्छेले एकचोटि मिर्गौला डायलोसिस गर्दा दशौँ हजार लाग्ने स्थिति थियो । त्यसलाई कमसेकम सरकारले निःशुल्क गर्ने व्यवस्था मिलायो । बिमारी भएको मान्छेले आर्थिक अभावको कारण उपचार गर्न पाइनँ भन्ने दृष्टिकोणलाई हामीले चिर्नु छ स्वास्थ्य क्षेत्रमा । शिक्षा क्षेत्रमा हामीले पूर्ण रूपमा शिक्षामा निःशुल्क शिक्षाको अवधारणा लिएर आउनुपर्छ । उद्यमशीलताको विकास नभएको हुनाले लगानीमैत्री वातावरण सिर्जना नभएको हुनाले हामीले चाहेजति उद्योगधन्धाहरू स्थापना तथा तिनीहरुको निरन्तरता दिन सकेनौँ यसतर्फ हाम्रो विशेष ध्यान जानेछ ।
जाँदाजाँदै झापा क्षेत्र नम्बर १ का मतदातालाई के अपिल गर्न चाहनुहुन्छ ?
: यहाँ सुकुम्बासीको समस्या छ, त्यसलाई समाधान गर्नु छ । यहाँ चियाको धेरै उद्योगहरू छन्, ती चियाका उद्योग पनि अहिले कठिन परिस्थितिबाट चलिरहेका छन् त्यो उद्योग कठिन परिणतिबाट चल्दै गर्दाखेरि त्यहाँ गर्ने मजदुरहरूमा पनि निराशा छ, उनीहरूलाई पनि त्यो आशामा बदल्नु छ । कृषि उद्यमशीलताका कामहरू गर्नु छ, विश्वास गाँस्नु छ । यहाँ लगानीमैत्री वातावरण सिर्जना गर्नु छ । यहाँको उद्योग धन्दा विस्तार गर्ने विषयमा सम्भावना देखिएका धेरै व्यापारहरूलाई हामीले विस्तार गर्नु छ । सबैको मुहारमा हाँसो सिर्जना गर्न चाहन्छौँ, सबैमा सद्भाव गाँस्न चाहन्छौँ। विकास निर्माणमा जोडिन चाहन्छौँ, राम्रा कानुन बनाउन चाहन्छौँ । त्यसकारणले हामी गाँसिन चाहन्छौँ । मेरा कुनै कमी कमजोरी छन् भने प्रश्न गर्नुस् म जवाफ दिन्छु । क्षमा माग्नुपर्छ माग्छु । मसँग अहङ्कार छैन, घमण्ड छैन । सबैैसँग जोडिएको म भुइँ मान्छे हो । धन्यवाद

प्रतिकृया दिनुहोस्