मेचीनगर । वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका रविन भारतीले आफ्ना स्वर्गीय बुबा टीकाराज भारतीको स्मृतिमा आदर्श स्मृति गोल्डकपको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । उनले प्रतियोगिताको प्रथम पुरस्कारका लागि ५१ हजार ५ सय ५१ रुपैयाँ सहयोग गरेका हुन् ।
मेचीनगर–४ स्थित आदर्श युवा क्लबको आयोजनामा असोज २५ देखि कात्तिक १ गतेसम्म स्थानीय पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा दोस्रो संस्करणको आदर्श स्मृति गोल्डकप–२०८३ सञ्चालन हुँदैछ । सोही प्रतियोगिताको प्रथम पुरस्कार रविनले आफ्ना बुबाको स्मृतिमा प्रायोजन गरेका हुन् ।
बुबाको स्मृतिलाई खेलकुद, युवा प्रोत्साहन र सामाजिक एकतासँग जोड्ने उद्देश्यले पुरस्कार प्रायोजन गरेको रविनले बताए । रोजगारीका सिलसिलामा विदेशमा रहे पनि आफूले गाउँघर र समाजका सामाजिक गतिविधिमा सकेको सहयोग गर्दै आएको उनले बताए ।
रविनका बुबा टीकाराज भारतीको स्मृतिमा स्थापित पुरस्कारमार्फत युवालाई खेलकुदमा आकर्षित गर्न र स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गर्दै खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै आदर्श युवा क्लबले रविन भारतीप्रति आभार व्यक्त गरेको छ । क्लबले प्रवासमा रहेर पनि आफ्नो गाउँ–समाजप्रतिको जिम्मेवारी र सामाजिक भावनालाई निरन्तरता दिएको भन्दै उनको सहयोगलाई उदाहरणीय भनेको छ ।

प्रतिकृया दिनुहोस्