कनकाई । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय नगरी झापाको कनकाई नगरमा प्रधान कार्यालय रहेको, अनलाइन संस्करणसहितको कनकाई खबर साप्ताहिक ८ वर्ष पूरा गरी ९ औं वर्षमा प्रवेश गरेको छ । ‘खबर भित्रको खबर’ सहितको मूल नाराका साथ मोफसलबाट सुरु भएको यस सञ्चार यात्राले व्यावसायिक र निष्पक्ष पत्रकारिताको क्षेत्रमा एक बलियो पहिचान बनाउन सफल भएको छ ।
९ औं वर्ष प्रवेशको यस सुखद अवसरमा कनकाई खबरका सम्पादक तथा प्रकाशक रामप्रसाद निरौलाले एक विशेष प्रकाशकीय सन्देश जारी गर्दै विगत ८ वर्षदेखि निरन्तर साथ, सहयोग र भरोसा प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय पाठकवर्ग, विज्ञापनदाता, लेखक, वितरक, सहकर्मी सञ्चारकर्मी तथा कर्मचारी परिवारप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्नुभएको छ ।
सम्पादक÷प्रकाशक निरौलाले भन्नुभयो, “मोफसलको माटोबाट निष्पक्ष र व्यावसायिक पत्रकारिताको जग बसाल्दै आजको प्रविधिमैत्री अनलाइन संस्करण (कनकाईखबर डटकम) सम्म आइपुग्दा हामीले भोगेका चुनौती र पाएको अपार जनविश्वास हाम्रा लागि अमूल्य पूँजी बनेको छ । आगामी दिनमा पनि हामी शक्तिको प्रतिपक्षमा उभिएर, नागरिकको आवाजलाई बुलन्द पार्न सधैं कटिबद्ध रहनेछौं ।“
स्थापनाकालदेखि नै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्दै आएको कनकाई खबरले स्थानीय स्तरको आर्थिक र सामाजिक विकासमा पु¥याएको योगदानको उच्च प्रशंसा भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्