मेचीनगर । झापाको मेचीनगरमा असोज १७ र १८ गते दोस्रो आदर्श खुल्ला कराँते प्रतियोगिता आयोजना हुने भएको छ । आदर्श डोजोको आयोजना तथा स्वास्थ्य तथा वातावरण मञ्चको प्रायोजनमा दुई दिवसीय प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिताका बारेमा आयोजकले आइतबार वातावरण मञ्चको कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा आदर्श डोजोका अध्यक्ष मुक्ति काफ्लेले खेलाडीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । प्रतियोगितामा नेपाल र भारतका गरी ३५० भन्दा बढी खेलाडीको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण मेडल स्वास्थ्य तथा वातावरण मञ्चले प्रायोजन गरेको मञ्चका अध्यक्ष गणेश मैनालीले जानकारी दिनुभयो । उहाँले पत्रकार सम्मेलनकै क्रममा आयोजकलाई मेडल हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा कराँते प्रशिक्षक कृष्णकुमार बस्नेतले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्