साइबर तथा वित्तीय ठगीको उजुरीका लागि १२४७ हटलाइन

2026-11-19 मा प्रकाशित

झापा । अनलाइन माध्यमबाट हुने वित्तीय तथा साइबर ठगीका घटना नियन्त्रण गर्न र पीडितका गुनासो तथा उजुरीको छिटो सुनुवाइ गर्न नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणलाई हटलाइन नम्बर १२४७ मा सम्पर्क गर्न आग्रह गरेको छ । राष्ट्र बैङ्कका अनुसार प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्यूरोमा चौबीसै घण्टा सेवा उपलब्ध हुने गरी सम्बन्धित निकायको समन्वयमा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा ल्याइएको छ ।

उक्त केन्द्रको हटलाइन नम्बर १२४७ मार्फत सर्वसाधारणले विभिन्न प्रकारका डिजिटल वित्तीय ठगीसम्बन्धी उजुरी तथा जानकारी दिन सक्नेछन् । यसअन्तर्गत बैङ्क खाता वा भुक्तानी प्रणालीबाट हुने अनधिकृत रकम स्थानान्तरण, नक्कली लिङ्क तथा सन्देशमार्फत व्यक्तिगत विवरण चोरी गरी गरिने फिसिङ र विद्युतीय भुक्तानी प्रणाली तथा अनलाइन कारोबारमा हुने विभिन्न प्रकारका धोकाधडीबारे उजुरी गर्न सकिनेछ ।

कुनै पनि प्रकारको विद्युतीय वित्तीय ठगीमा परेमा ढिलाइ नगरी १२४७ नम्बरमा फोन गर्न र केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन राष्ट्र बैङ्कले अनुरोध गरेको छ । यसका साथै आफ्नो बैङ्क खाता तथा डिजिटल वालेटमा थप क्षति हुन नदिन सम्बन्धित बैङ्क, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई खाता तथा वालेट सुरक्षित बनाउन पनि राष्ट्र बैङ्कले सर्वसाधारणलाई सचेत गराएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु