नेशनल प्याब्सन (N-PABSAN) नेपालको संस्थागत विद्यालय क्षेत्रको हकहित, अधिकार, संरक्षण र प्रवर्द्धनका लागि स्थापित साझा राष्ट्रिय संगठन हो। स्थापनाकालदेखि नै यस संस्थाले निजी तथा संस्थागत विद्यालयका साझा समस्या, चुनौती र सरोकारका विषयमा आवाज उठाउँदै आफ्नो छुट्टै पहिचान निर्माण गरेको छ। संस्थागत विद्यालयहरूको अस्तित्व, स्वायत्तता र अधिकारको पक्षमा संगठनले विभिन्न समयमा खेलेको भूमिका उल्लेखनीय छ।
तर, पछिल्लो समय संगठनभित्र उत्पन्न आन्तरिक असमझदारी, मतभेद र संगठनात्मक अस्थिरताले संस्थालाई अप्ठ्यारो परिस्थितिमा पुर्याएको यथार्थलाई नकार्न सकिँदैन। यसको परिणामस्वरूप गृह मन्त्रालयबाट संगठन निलम्बनमा पर्नु समग्र एनप्याब्सन परिवारका लागि गम्भीर चिन्ता र आत्मसमीक्षाको विषय बनेको छ।
कुनै पनि संस्था बाह्य चुनौतीका कारण मात्र कमजोर हुँदैन। कहिलेकाहीँ आन्तरिक असमझदारी, आपसी अविश्वास र साझा उद्देश्यप्रतिको प्रतिबद्धतामा कमी आउँदा पनि संस्थाको शक्ति क्षीण हुँदै जान्छ। एनप्याब्सनको वर्तमान अवस्थालाई पनि यही सन्दर्भमा बुझ्न आवश्यक छ।
हिजो संस्थागत विद्यालयहरूको साझा हकहित र अधिकारका विषयमा संगठनले एकजुट भएर आवाज उठाउँदा राज्यका नीति तथा निर्णयमाथि प्रभावकारी बहस सिर्जना गर्न सकेको थियो। संगठनको वास्तविक शक्ति कुनै एक व्यक्ति, पद वा नेतृत्वमा मात्र सीमित थिएन; त्यो देशभरिका विद्यालय सञ्चालक, प्रिन्सिपल र सदस्यहरूको सामूहिक विश्वास, सहभागिता र एकतामा निहित थियो। आज हामीले त्यही सामूहिक शक्तिलाई पुनः जागृत गर्नुपर्ने अवस्था आएको छ।
अब प्रश्न कसले के गल्ती गर्यो भन्ने होइन, अबको बाटो कसरी सही बनाउने भन्ने हो।
विगतमा के भयो, किन भयो र कसका कारणले यस्तो परिस्थिति सिर्जना भयो भन्ने विषयमा आ–आफ्ना धारणा हुन सक्छन्। तर, अहिले विगतका घटनालाई बारम्बार कोट्याएर एकअर्कालाई दोषारोपण गर्नु वा आरोप–प्रत्यारोपमा समय खर्चनु संस्थाको हितमा हुँदैन। विगतबाट पाठ सिक्दै कमजोरीहरूको संस्थागत समीक्षा गर्ने र भविष्यमा यस्ता परिस्थिति दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नु नै बुद्धिमानी हुनेछ।
सकारात्मक संवादले जगाएको नयाँ आशा
यसैबीच, नेशनल प्याब्सनको वर्तमान अवस्था र सांगठनिक एकताका विषयमा मङ्सिर २ गते काठमाडौंमा दुवै पक्षका शीर्ष नेतृत्वबीच दोस्रो चरणको महत्त्वपूर्ण छलफल सकारात्मक रूपमा सम्पन्न भएको खबरले नयाँ आशा जगाएको छ। आजकै दिन दुई चरणमा बैठक तथा छलफल हुनु र संवाद सकारात्मक दिशामा अघि बढ्नु आफैँमा सुखद सङ्केत हो।
विगतका असमझदारी र तिक्ततालाई पछाडि छोड्दै आपसी संवाद, सहकार्य र सहमतिका आधारमा अघि बढ्ने वातावरण निर्माण हुनु संस्थाको भविष्यका लागि उत्साहजनक विषय हो। यसले सम्पूर्ण एनप्याब्सन परिवारमा पुनः एकताको आशा र विश्वास जगाएको छ।
मेरो बुझाइमा, अब यो सकारात्मक संवादलाई ठोस निष्कर्षमा पुर्याउने समय आएको छ। बैठक र छलफलले सिर्जना गरेको विश्वासलाई व्यवहारमा उतार्दै सबैले साझा सहमतिका साथ अघि बढ्नुपर्छ। एकताको वातावरण निर्माण हुँदै गएको यस अवसरलाई कुनै पनि हालतमा खेर जान दिनु हुँदैन।
त्याग, सम्मान र सहकार्य नै एकताको आधार
एकताको प्रक्रियामा सबैभन्दा महत्त्वपूर्ण कुरा आपसी विश्वास र उदारता हो। संस्थाको हितका लागि कसैले पनि आफ्नो अडानलाई प्रतिष्ठाको विषय बनाउनु हुँदैन। आवश्यक पर्दा एक कदम पछि हट्नु हार होइन, बरु ठूलो उद्देश्य प्राप्तिका लागि देखाइएको परिपक्वता र त्याग हो। नेतृत्वको वास्तविक उचाइ पदमा रहनुमा मात्र होइन, संस्थालाई संकटबाट जोगाउन आफूले कति उदारता र जिम्मेवारी प्रदर्शन गर्न सक्यौँ भन्ने कुरामा पनि मापन हुन्छ।
विगतमा संस्थाका लागि योगदान पुर्याएका सबै व्यक्तित्व र नेतृत्वको सम्मान गर्दै सबैलाई समेट्ने वातावरण निर्माण गर्नुपर्छ। एकता भनेको कसैको अस्तित्व समाप्त हुनु वा कसैले आफ्नो विचार त्याग्नु होइन। एकता भनेको फरक विचार, अनुभव र क्षमतालाई एउटै साझा उद्देश्यमा जोड्नु हो। सबैले सम्मान र अपनत्वको अनुभूति गर्ने वातावरण निर्माण गर्न सकियो भने मात्र एकता दीर्घकालीन र दिगो बन्न सक्छ।
अबको गन्तव्य : एकताको महाधिवेशन
मलाई लाग्छ, अहिलेको सकारात्मक संवादलाई सार्थक निष्कर्षमा पुर्याउने सबैभन्दा उपयुक्त बाटो भनेको सहमतिका आधारमा एकताको महाधिवेशन आयोजना गर्नु हो।
अब छुट्टाछुट्टै धारणा र असमझदारीको इतिहास बोकेर अघि बढ्नुको सट्टा एउटै साझा मञ्चमा उभिएर संस्थाको नयाँ भविष्य निर्माण गरौँ। विधि, विधान र संस्थागत प्रक्रियालाई सम्मान गर्दै सबैको सहभागिता, सहमति र अपनत्व रहने गरी एकताको महाधिवेशन आयोजना गरौँ।
त्यस्तो महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने औपचारिक कार्यक्रम मात्र नबनोस्; यो विगतका तिक्तता अन्त्य गर्ने, आपसी विश्वास पुनःस्थापित गर्ने र नयाँ सङ्कल्पसहित अघि बढ्ने ऐतिहासिक अवसर बनोस्। यसमार्फत संस्थाको संगठनात्मक संरचना, सुशासन र भावी कार्यदिशालाई समेत स्पष्ट पार्दै निलम्बनको अवस्था अन्त्य गर्न आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउन सकियो भने एनप्याब्सनले नयाँ जीवन प्राप्त गर्नेछ।
संस्था सबैको हो, जिम्मेवारी पनि सबैको हो
एनप्याब्सन कसैको निजी सम्पत्ति होइन, यो देशभरिका संस्थागत विद्यालय सञ्चालकहरूको साझा संगठन हो। यसको निर्माणमा धेरैको पसिना, समय, श्रम र समर्पण जोडिएको छ। त्यसैले यसको संरक्षण र सुदृढीकरण पनि सबैको साझा दायित्व हो। संगठन कमजोर हुँदा त्यसको असर कुनै व्यक्ति वा समूहमा मात्र सीमित रहँदैन, समग्र संस्थागत शिक्षा क्षेत्रसम्म पुग्न सक्छ।
त्यसैले राष्ट्रिय नेतृत्वदेखि प्रदेश, जिल्ला, नगर तथा पालिकास्तरसम्म आबद्ध सम्पूर्ण नेतृत्व, सदस्य र शुभेच्छुकहरूले एकताको अभियानमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ। एकता माथिबाट मात्र होइन, संगठनको प्रत्येक तह र प्रत्येक सदस्यको मनबाट सुरु हुनुपर्छ।
मेरो सम्पूर्ण राष्ट्रिय नेतृत्व तथा देशभरिका एनप्याब्सनकर्मीहरूसमक्ष हार्दिक आग्रह छ—अब विगतका असमझदारी र तिक्ततालाई यहीँ अन्त्य गरौँ। व्यक्तिगत आग्रह, पूर्वाग्रह र गुटगत सोचभन्दा माथि उठौँ। आपसी सम्मान, विश्वास, सहकार्य र समझदारीका साथ एकढिक्का बनौँ।
आज हामीले एकअर्कालाई पराजित गर्ने होइन, परिस्थितिलाई पराजित गर्ने हो। कसले जित्यो भन्ने होइन, हाम्रो साझा संस्था कसरी बलियो बन्यो भन्ने इतिहास लेख्ने हो। नेतृत्वको सफलता आफ्नो पक्षलाई स्थापित गर्नुमा होइन, सबैलाई समेटेर संस्थालाई बलियो बनाउनुमा हुन्छ।
अब कसैले ठूलो बन्ने होइन, हाम्रो साझा संस्था ठूलो बनाउने समय आएको छ।
अब एकताको महाधिवेशन गरौँ! एनप्याब्सनलाई नयाँ ऊर्जा, नयाँ विश्वास र नयाँ सङ्कल्पका साथ अघि बढाऔँ।
एकता नै शक्ति हो, सहकार्य नै सफलता हो र साझा उद्देश्य नै हाम्रो पहिचान हो।
एकताको महाधिवेशन सफल बनाऔँ, एनप्याब्सन बचाऔँ!
जय नेशनल प्याब्सन!
लेखक : एन–प्याब्सन मेचीनरका अध्यक्ष एवम् आदर्श विद्यामन्दिरका संस्थापक प्रिन्सिपल हुन् ।



प्रतिकृया दिनुहोस्