जोगबनी भन्सार व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवालाको जोड

2026-11-20 मा प्रकाशित

विराटनगर । नेपाल–भारत सीमा नाका जोगबनी भन्सारको व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित र पर्यटकमैत्री बनाउनुपर्नेमा स्थानीय निकाय तथा सरोकारवालाहरूले जोड दिएका छन्। भारतबाट पर्यटकका रूपमा सवारीसाधन लिएर कोशी प्रदेश प्रवेश गर्ने, यहाँ घुमफिर तथा बसोबास गरी फर्किने क्रममा भन्सार प्रक्रिया र चेकिङ व्यवस्थापन सहज नहुँदा दुवै देशका नागरिकले असहजता भोग्नुपर्ने अवस्था रहेको स्थानीयवासीको गुनासो छ।

कोशी प्रदेशमा पर्यटन प्रवर्द्धन गर्दै भारतीय पर्यटकलाई आकर्षित गर्न सीमा नाका तथा भन्सार व्यवस्थापन चुस्त, पारदर्शी र सहज बनाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ।

भन्सार कर र फर्किने क्रममा चेकिङमा समस्या

विभिन्न संघसंस्था तथा सरोकारवालाहरूका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने कतिपय पर्यटकले सवारीसाधनका लागि तोकिएको अवधिको भन्सार कर तिर्ने गरे पनि निर्धारित समयभन्दा बढी नेपालमा बसेर फर्किँदा थप अवधिको कर नतिर्ने गरेको पाइएको छ। जानकारीको अभाव वा व्यवस्थापनमा कमजोरीका कारण यस्तो अवस्था सिर्जना हुँदा उनीहरू पुनः नेपाल प्रवेश गर्दा थप भन्सार कर तिर्नुपर्ने समस्यासमेत भोग्ने गरेको बताइएको छ।

यस्ता समस्या समाधान गर्न नेपाल प्रवेश गर्दा मात्रै नभई फर्किने क्रममा पनि सवारीसाधन तथा आवश्यक कागजातको व्यवस्थित जाँच गर्ने प्रणाली लागू गर्नुपर्ने माग विभिन्न संघसंस्थाले उठाएका छन्।

जनशक्ति अभाव र प्राविधिक चेकिङ पोस्टको आवश्यकता

सीमा क्षेत्रमा खटिने प्रहरी प्रशासन तथा भन्सारको कार्यसम्पादनलाई लिएर स्थानीय स्तरमा मिश्रित प्रतिक्रिया आउने गरेको छ। कतिपयले नाकामा अपेक्षाअनुसार व्यवस्थापन हुन नसकेको तथा प्रहरी प्रशासनको काममा कमजोरी रहेको गुनासो गर्ने गरेका छन्। यद्यपि, सरोकारवाला स्रोतका अनुसार भन्सार तथा प्रहरी प्रशासनले उपलब्ध स्रोतसाधनका आधारमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्।

सीमा क्षेत्रमा आवश्यक जनशक्तिको अभाव तथा प्रविधिमैत्री र व्यवस्थित चेकिङ पोस्टको कमीले कार्यसम्पादनमा कठिनाइ भइरहेको बताइएको छ। समस्या समाधानका लागि जनशक्ति व्यवस्थापनसँगै आधुनिक प्रविधिसहितका चेकिङ पोस्ट निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याइएको छ।

आन्तरिक यात्रामा सहजता, नाकामा व्यवस्थित जाँच

सरकारी निकायका एक अधिकारीका अनुसार भारतीय पर्यटकले भन्सार नाकामा आवश्यक प्रक्रिया पूरा गरी जाँच गराइसकेपछि कोशी प्रदेशभित्र घुमफिर गर्दा ठाउँठाउँमा अनावश्यक दुःख दिने तथा पटकपटक जाँच गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता छ।

उनका अनुसार भन्सारमा प्रक्रिया पूरा गरेका पर्यटकलाई प्रदेशभित्र स्वतन्त्र र सहज रूपमा घुमफिर गर्न दिनुपर्छ। नेपालबाट फर्किने क्रममा पनि व्यवस्थित जाँच तथा अभिलेख राख्ने प्रणाली लागू गर्न सके पर्यटकले अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्था अन्त्य हुने र भन्सार व्यवस्थापनसमेत पारदर्शी तथा प्रभावकारी बन्न सक्नेछ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु