मेचीनगर । चिया बगानमा मजदुरी गरेर परिवार पाल्दै आएका मेचीनगर–५ घोडाजिनका अनिस राईको परिवारले जनसहयोगमा नयाँ घर पाएको छ । विपन्न परिवारकी सदस्य पत्नी क्यान्सरका कारण एउटा खुट्टा गुमाउन बाध्य भएपछि उपचार र परिवारको जीविकोपार्जनमा समस्या झेल्दै आएका अनिसको परिवारले सोमबार महाअष्टमीको अवसर पारेर नयाँ घरमा गृहप्रवेश गरेको हो ।
मेची अभियानको संयोजन तथा विभिन्न दाताको आर्थिक सहयोगमा निर्माण गरिएको घरमा अनिसको परिवारले आश्रय पाएको हो । यसअघि परिवार पानी चुहिने झुपडीमा बस्दै आएको थियो । पत्नी विष्णुमाया राई बिरामी भएपछि अनिसले चिया बगानको ज्यालादारी कामसमेत छाडेर उनको उपचारमा समय दिनुपरेको थियो । त्यसमाथि वृद्ध आमासमेत प्यारालाइसिसबाट पीडित भएपछि परिवार थप समस्यामा परेको थियो ।
अनिसका छोरा शुभम राईले रिबन काटेर गृहप्रवेश कार्यक्रमको सुरुवात गरेका थिए । भवन निर्माण समितिका अध्यक्ष पर्शुराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य एवम् मेचीनगरका संस्थापक नगरप्रमुख रविन कोइराला प्रमुख अतिथि थिए ।
निर्माण समितिका अध्यक्ष पराजुलीका अनुसार घर निर्माणमा हालसम्म करिब एक लाख ५० हजार रुपैयाँ खर्च भइसकेको छ । घर निर्माणका लागि देश तथा विदेशमा रहेका दाताहरूले आर्थिक सहयोग गरेका थिए । सिमेन्टले बनेको पर्खाल र जस्तापाताको छानो रहेको घरमा सिसा तथा फलामे रड प्रयोग गरी झ्याल बनाइएको छ । भान्सा र शौचालय निर्माण भने अझै पूरा हुन बाँकी छ ।
कार्यक्रममा संविधानसभा सदस्य कोइरालाले विपन्नता र पारिवारिक संकटमा परेको अनिसको परिवारलाई आवास, खाद्यान्न तथा उपचारमा सहयोग जुटाउन समन्वय गरेकोमा मेची अभियान र अभियानमा संलग्न सबैको प्रशंसा गरे ।
मेची अभियानका संयोजक विजय डालमियाले अनिसको परिवारका लागि घर निर्माण तथा विष्णुमायाको उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । उनले अभियानले गर्दै आएका सामाजिक गतिविधिबारे पनि चर्चा गरे ।
सो अवसरमा मेचीनगर–५ का वडाध्यक्ष कनक कार्की र नेपाली कांग्रेस मेचीनगरका सभापति योगेन्द्र थापालगायतले अनिसको परिवारलाई सहयोग गर्दाको अनुभव सुनाएका थिए ।

प्रतिकृया दिनुहोस्