मेचीनगरमा जटिल प्रकृतिका बिरामीले उपचार खर्च पाउने

2023-06-28 मा प्रकाशित

मेचीनगर । नेपाल सरकारले दिने भनेको जटिल प्रकृतिका बिरामी नागरिकले पाउनु पर्ने उपचार वापतको रकम अब मेचीनगरबासीले पाउने भएका छन् ।

सरकारले दिने भनेको भएता पनि मेचीनगरमा रहेका जटिल प्रकृतिका बिरामीहरू (मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइएका, क्यान्सरका बिरामी, मेरूदण्ड पक्षघात) ले अहिलेसम्म सो उपचार खर्च वापतको पाउनुपर्ने रकम पाइरहेका थिएनन् । उनीहरूले रकम समयमा उपलब्ध नहुँदा समस्या झेलिरहेका थिए । तर, नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले राज्यले दिने भनेको रकम उपलब्ध नहुदाँ नगरबासीलाई समस्या भएको भन्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बारम्बार पत्र पठाउँदै ताकेता गरेका थिए ।

नगरका जटिल प्रकृतिका बिरामीहरूको उपचारमा सहयोगका लागि नगर प्रमुख बुढाथोकीले माग भएका २०१ जना बिरामीको आर्थिक बर्ष २०७९र०८० को लागि उपचार खर्च वापतको रकम रू ८७ लाख २० हजार रूपैयाँ यथाशीघ्र उपलब्ध गराउन २०८० साल असार ४ गते मात्रै पनि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएका थिए । सोही अनुरूप मन्त्रालयले सो वापतको उपचार खर्च रकम ८७ लाख २० हजार रूपैयाँ रकम उपलब्ध गराएको छ ।

अब मेचीनगरका लक्षित बिरामी वर्गले राज्यले तोकेको उपचार वापतको रकम पाउने भएका हुन् । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाका अनुसार अब नगरपालिकाले प्रत्येक वडाबाट यकिन गरि दोहोरो सुविधा उपभोग नगरेका लक्षित बिरामीहरूलाई सो रकम उपलब्ध गराउने बताइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु