पत्रकार श्रेष्ठको निधन, रामघाटमा आज अन्त्येष्टि गरियो

2020-08-10 मा प्रकाशित

मेचीनगर, २६ साउन । अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको आज धुलावारीको रामघाटमा श्रद्धाञ्जलि सभासहित अन्त्येष्टि भएको छ ।

श्रेष्ठको ६४ वर्षको उमेरमा हिजो साँझ पौने ६ बजे निजी निवास धुलावारीमा निधन भएको थियो । उनी लामो समयदेखि दुबै मिर्गौला फेलियर भएर उपचार गराइरहेका थिए ।

राससमा २९ वर्ष निरन्तर सेवा गरेका श्रेष्ठका पाँच वटा साहित्यिक कृति प्रकाशित छन् । धुलावारी जेसिजका उनी पूर्व अध्यक्ष समेत हुन् ।

आज विहान १० बजे निजी निवासबाट शवयात्रा गरिएको थियो । शबयात्रामा प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामाणि सापकोटा, धुलावारी जेसिजका अध्यक्ष सागर खनाल, वरिष्ठ साहित्यकार पुण्यव्रसाद खरेल, रासस झापाकी प्रमुख अम्बिका भण्डारीलगायत पत्रकार, साहित्यकार, जेसिजकर्मी, दलका नेताहरु, सामाजिक कार्यकर्ताहरुसहित सयौं सर्वसाधारणको सहभागिता थियो ।

रामघाटमा दाहसंस्कार अघि संक्षिप्त श्रद्धाञ्जलि सभा गरिएको थियो । मौनधारण पश्चात धुलावारी जेसिजको झण्डा ओढाइएको थियो भने नेपाल पत्रका महासंघ झापाका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्रीले शोक मन्तब्य ब्यक्त गरेका थिए ।

पत्रकार तथा साहित्यकार श्रेष्ठलाई निष्ठावान व्यक्तित्वको रुपमा स्मरण गरिने क्षेत्रीले बताए ।

श्रेष्ठकी पत्नी निलु श्रेष्ठ, एक छोरा र एक छोरी घरमा छन् भने जेठो छोरा वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु