हात्तीबाट जोगिन बाहुनडाँगीका किसान, कागती खेती तर्फ आकर्षित

2023-11-07 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । मेचीनगर ४ बाहुनडाँगीका अधिकांश किसानलाई सँधै दुईवटा कुराले पिरोल्ने गरेको छ । उनीहरुलाई एकातिर हरेक रात भोलिको सूयोदय देख्न नपाइएला भन्ने चिन्ताले पिरोल्ने गरेको छ भने अर्काे तर्फ वर्ष भरीको लागि लगाएको अन्नबाली कसरी जोगाउने भन्ने चिन्ता छ । वर्षाै अघिबाट सुरु भएको उनीहरुको यो चिन्ता अझै कम हुन सकेको छैन । जीवनलाई कसरी भयरहित र समृद्ध बनाउन सकिन्छ ? यो चिन्ताबाट छुटकरा पाउँन सो क्षेत्रका कृषक बैकल्पिक खेतीको खोजीमा छन् । कतिपयले चिया रोजेका छन् त कतिले कागती अनि कतिले सुपारी र तेजपत्ता ।
उनीहरुमा हात्तीको त्रास त छँदैछ तर अन्नको जोहो गर्ने तरिका भने बैकल्पिक खेतीले क्रमश फेरिँदैै गएको छ । दैनिक जसो आउने जंगली हात्तीले अन्नबाली नष्ट गर्न नछाडेपछि पछिल्लो समय जीवन निर्वाहको पाटो बदल्ने अभियानमा उनीहरु अघि बढेका छन् । वर्षभरी आफूलाई खाने अन्नको जोहो गर्न धान र मकै खेतीलाई प्रमुख बालीको रुपमा स्थापित गरेका सो क्षेत्रका किसान पछिल्लो समय, चिया, कागती, तेजपत्ता र सुपारी खेती तर्फ आकर्षित बन्न थालेका हुन् ।
मेचीनगर ३ हात्ती सुँडेका नरेन्द्र कुमार आचार्यले हात्तीले पुष्र्याउने क्षतिलाई कम गर्न केही वर्ष अघि धान खेत मासेर तीन विघा जमिनमा चिया खेती लगाए । दिनहुँ जसो हुलका हुल आउने हात्तीले नन्नबाली नष्ट गर्न थालेपछि उनले चिया खेती लगाएका थिए । घरको चारै तर्फ चिया बगान भएपछि हात्ती घरसम्म आइपुग्दैन भन्ने बुझेका आचार्यले चिया बगानबाट खासै आम्दानी र हात्ती रोक्ने दिगो उपाय नदेखेपछि विगत ७ वर्ष अघि चिया बगान तथा अन्य खाली जमिनमा कागतीको विरुवा लगाए । कचन कवल स्थित घेराबारीबाट सुन १ र सुन २ जातको कागतीका विरुवा ल्याएर रोपेका आचार्यले दोस्रो बर्षबाटै कागतीले आम्दानी दिन थालेपछि कागतीबाट उत्साहित बनेका आचार्यले त्रिमूर्ती बहुमुखी कृषि फर्म दर्ता गरेर व्यवसायिक रुपमा कागती खेती सुरु गरेका छन् ।


उनले हाल २ विगाह जमिनमा कागती खेती गरेका छन् । कृषि क्षेत्रमा भविष्य छैन भन्नेहरुको लागि उनी एक उदाहरणका पात्र समेत बनेका छन् । उनको बगानमा पुग्ने जो कोहीपनि उनको मेहनतबाट प्रभावित हुने मात्र होइन देशमै बसेर व्यवसायिक कृषिमा लाग्ने प्रेरणा लिएर पर्कने गरेका छन् । सुरुमा हात्तीबाट जोगिन र परिवारलाई अन्नको जोहो गर्ने हिसावले चिया बगान लगाएँ तर चियाबाट जीवन निर्वाह नहुने देखेपछि कागती रोपेँ आचार्यले भने,‘हात्ती रोक्न लगाएको कागती आज आम्दानीको मुख्य श्रोत बन्यो ।’ उनले कागतीका दाना तथा विरुवा बेचेर वार्षिक १८ लाखबढी आम्दानी लिन सफल भएका छन् भने स्थानीय १० जनालाई रोगजारी समेत दिएका छन् । मेहनतको फल राम्रै हुँदो रहेछ, आचार्यले उत्साहित हुँदै भने,‘बजारको अभाव छैन स्थानीय बजार धुलाबारी र बिर्तामोड पुर्याउँदा सबै बिक्री हुन्छ ।’ प्रायजसो व्यापारी घरमै आएर लान्छन् । एउटा बोटमा ४ सयसम्म दाना फल्ने गरेको र प्रतिदाना ३ रुपैयाले विक्री हुने गरेको उनको भनाइ छ ।


नरेन्द्र कुमारलाई कृषि कर्ममा उनकी श्रीमति तुलसादेवी, छोरा यमन , बुहारी अस्मिताको समेत पूर्ण सहयोग मिल्ने गरेको छ । परिवारका सबै सदस्य बिरुवाको गोडमेल र विरुवाको स्याहारमा जुटछौं छोरा यमनले भने,‘ बुवाको कृषि कर्म प्रतिको रुचीले हामी सबैलाई त्यस तर्फ प्रेरित गर्याे ।’ उनले कागतीको दाना भन्दापनि विरुवाबाट राम्रो आम्दानी लिएकाको बताए । वार्षिक २० हजार विरुवा विक्रि गछांैं यमनले भने, गुणस्तरीय विउ उत्पादन गरेको छौं. प्रतिगोटा ८० देखि १५० रुपैयाँ सम्म विरुवा बिक्री हुन्छ ।’ सुर्खेत , धनगढी, खुर्काेट, काठमाडौ., रौतहट, इलाम, भोजपुर लगायत बिभिन्न ठाउँबाट विरुवाको माग हुने गरेको उनले बताए ।


आचार्य परिवारले आफ्नो खेतबारीमा चिया र कागती मात्र रोपेका छैनन् । उनीहरुले यहाँ क्यान्सर किलर अर्थात सावर सुप देखि एबोगार्डाे, ड्राइगन खेती र बिभिन्न प्रकारका फलका विरुवा हुर्काएका छन् । उनीहरुले तीन वर्ष अघिबाट ७ कठ्ठा जमिन क्षेत्रफलमा ड्रइगन खेती समेत गरेका छन् । ड्रइगनका विरुवा रोपेको ११ महिनाबाटै फल्न थाल्यो । यमनले भने , ‘रोपेको छोटो समयमै फल दिँदो रहेछ यस वर्ष ५सय रुपैयाँ प्रतिकिलोको दरले ३ कुईन्टल विक्री भयो ।’
सो क्षेत्रमा आचार्य परिवारले मात्र होइन स्थानीय डम्बर बुढाथोकी , डम्बर रञ्जितकार, सन्तोष अधिकारी ,आइतराज लिम्बू, देवी आचार्य लगायत धेरै किसान कागती खेती तर्फ आकर्षित बनेर व्यवसायिक रुपमा कागती खेती सुरु गरेका छन् । बुढाथोकीले १० कठ्ठा जमिनमा कागती लगाएका छन् भने रञ्जितकारले ४ विगाह र अघिकारीले दुई विगाह जमिनमा कागती खेती गरेका छन् ।
कम लगानीमा बढी आम्दानी हुने र हात्तीले समेत नष्ट गर्न नसक्ने भएकोले पछिल्लो समय बाहुनडाँगी क्षेत्रमा व्यवसायिक रुपमा कागती खेती तर्फ किसान आकर्षित हुँदै गएको मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । कागतीको बोटलाई हात्तीले विगारगर्न नसक्दो रहेछ, उनले भने, ‘हात्ती नियन्त्रणकोलागि यो पनि एउटा विकल्प हुने छ ।’ आगामी आर्थिक वर्षमा वडाले आफ्नौ लगानीमा सोलार फेन्सिङ्कको पूर्व तर्फ कागतीका विरुवा रोप्ने योजना बनाएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु