महामन्त्री शर्माको पहलमा काँकरभिट्टाका गोपाल मलेशियाबाट काठमाडौं आइपुगे

2023-11-24 मा प्रकाशित

मेचीनगर, ८ मंसिर । तीन महिनाअघि मलेशियामा भेटिएका काँकरभिट्टाका गोपाल घिमिरे आज नेपाल आइपुगेका छन् ।

काठमाडौं आइपुगेका गोपाललाई आज साँझ  नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेशियाका अध्यक्ष चोलाकान्त पंगेनीेले  भेटेका छन् । गोपाल भोलि शनिबार मेचीनगर ६ स्थित आफ्नो घर आइपुग्नेछन् ।

उनलाई मलेशियाबाट नेपाल ल्याउन सांसद शर्माले पहल गरेका थिए । सांसद शर्माले करिव ७० हजार नगद सहयोग गरेका छन्। इलिगलरुपमा काम गरिरहेको घिमिरेको सबै डकुमेन्ट मिलाउने काम पनि शर्मा मार्फत नेपाली जनसम्पर्क समिति मलेशियाले गरेको थियो ।

जनसम्पर्क समितिका अध्यक्ष चोलाकान्त पंगेनीका अनुसार गोपालको टिकट र जरिवना गरेर नेपाली एक लाख ४ हजार १६० रुपैयाँ लागेको छ । गोपालले ३३ हजार ६ सय भुक्तानी गरेका थिए भने बाँकी ७० हजार ५६० रुपैयाँ शर्मामार्फत जनसम्पर्क समितिले उपलब्ध गराएको पंगेनीले जानकारी दिए ।

६ वर्षदेखि सम्पर्कविहिन काँकरभिट्टाकी सानी ढकाल घिमिरेको छोरा गोपाल घिमिरे गत भदौमा मलेसियामा काम गरिरहेको पत्ता लागेको थियो ।

३७ वर्षीय घिमिरे मलेशियाको पोट क्लक भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा इलिगलरुपमा काम गरिरहेका थिए । उनी मलेशिया गएको १६ वर्ष भएको थियो । परिवारको सम्पर्कमा रहेका घिमिरे ६ वर्षदेखि भने एकाएक सम्पर्कविहिन भएका थिए ।

छोरा एकाएक वेपत्ता भएपछि उनकी आमा सानी घिमिरे छोरा खोजिदिन भन्दै विभिन्न संघ–संस्था र व्यक्तिहरुको घर र कार्यालयमा भौतारिरहेकी थिइन् । यस्र क्रममा उनले पत्रकार अर्जुन कार्कीलाई छोरा खोजिदिन अनुरोध गरेपछि प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलन पछि बिभिन्न सञ्चारमाध्यमले समाचार लेखेका थिए । सोही क्रममा पत्रकार अर्जुन कार्कीले पोष्ट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । सोही भिडियो गोपाल भेटिनुको कारण बनेको थियो । पत्रकार सम्मेलनमा उनकी आमाले ६ वर्षदेखि सम्पर्कविहिन छोरा खोजिदिन मिडियामा रुदैँ रुदैँ अनुरोध गरेको भिडियोलाई महामन्त्री शर्माले मलेशियाको जनसम्पर्क समितिले मलेशियाको एम्वेसीको पेजमा पोष्ट गरिदिएका थिए ।

सो भिडियो मलेशियामा काम गर्ने पोखराका गोपालको साथि प्रताप थापाले देखेपछि गोपाल मलेशियामै रहेको जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु