धुलाबारी । आफ्नै देशमा रोजगारी सिर्जना गर्दै नागरिकलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले उपलब्ध गराएको लगानीको सही सदुपयोग गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरिएको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान काठमाडौंले बिहीबार धुलाबारीमा व्यवसाय सम्वर्द्धन केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै व्यवसायीलाई यस्तो आग्रह गरेको हो ।
मेची उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा आयोजित कार्यक्रममा प्रतिष्ठानले व्यवसायीलाई सरकारी लगानीमार्फत स्वरोजगार तथा उद्यमशील बन्न प्रोत्साहित गरेको थियो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले ३ प्रतिशत ब्याजदरमा २० लाख रुपैयाँसम्म लगानी गर्ने व्यवस्था रहेको जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा हरेक वर्ष १० हजारभन्दा बढी आवेदन आउने गरेका छन् ।
‘कार्यविधि र मापदण्डअनुसार छनोट गरेर लगानी गरिन्छ,’ गुप्ताले भने ।
कार्यक्रमका प्रमुख अतिथि गुप्ताले नागरिकलाई वैदेशिक रोजगारीमा जानबाट रोक्दै स्वदेशमै रोजगारी सिर्जना गरी व्यवसायी बनाउने उद्देश्य प्रतिष्ठानको रहेको बताए । तर, सरकारी लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको र कतिपय अवस्थामा लगानीसमेत डुब्ने गरेको उनले स्वीकार गरे ।
प्रतिष्ठानले सन् २०३० सम्म एक लाख नागरिकलाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ ।
कार्यकारी निर्देशक गुप्ता र शाखा अधिकृत राकेश राउतले प्रोजेक्टरमार्फत सहभागी उद्योगी–व्यवसायीलाई सरकारी लगानी, कर्जा प्रक्रिया तथा कार्यक्रमसम्बन्धी जानकारी गराएका थिए ।
सरकारी बैंकमार्फत कर्जा लगानी गरिरहेको बैंकका व्यवस्थापकहरूले भने असार मसान्तमा बैंकको कर्जा असुलीको समय हुने भएकाले सोही समयमा नयाँ लगानी गर्नुपर्ने अवस्था कठिन हुने बताएका थिए ।
कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीले पनि निर्धारित समयमा लगानी उपलब्ध नहुने, लगानी गर्नुपर्ने क्षेत्रमा लगानी नपुग्ने तथा २० लाख रुपैयाँसम्मको लगानी माग गर्दा १० देखि १५ लाख रुपैयाँ मात्रै उपलब्ध गराउने गरेको गुनासो गरेका थिए ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य निर्मला चौहान भण्डारीले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संघका महासचिव ध्रुव कनालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्