मेचीनगरमा ३३ हजार बालबालिकालाई दादुरा–रुवेला बिरूद्धको खोप लगाइने

2024-02-27 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका बालबालिकालाई अभियान नै चलाएर दादुरा–रुवेला बिरूद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य शाखाले दादुरा(रूबेला खोप अभियान २०८० मार्फत नगरको ३३ हजार बालबालिकालाई फागुन २० गतेदेखि २९ गतेसम्म नगरपालिकाको पन्द्रवटै वडामा खोप लगाउने भएको हो ।

आज स्वास्थ्य शाखाले मेचीनगरका क्रियाशील सञ्चारकर्मीहरूसंग अन्तरक्रिया गर्दै नगरपालिकाले खोप अभियान भव्य रूपमा सफल पार्न लागि परिरहेको जनाएको छ ।

स्वास्थ्य शाखाले अभियान सफल पार्न नगर क्षेत्रमा रहेका शिक्षक, विभिन्न संघसंस्थाका नेतृत्व, टोल विकास संस्थाका पदाधिकारी, स्वास्थ्यकर्मीलगायतसंग छलफल तथा अन्तरक्रिया गरिसकेको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् ।

उनले १०६ वटा विद्यालय, स्वास्थ्य शाखालगायतका खोप केन्द्रमार्फत अभियान यही फागुन २० गतेदेखि २९ गतेसम्म बालबालिकालाई खोप लगाइने हुँदा यस अभियानलाई सफल बनाउन सबैले आ(आफ्नो क्षेत्रबाट लाग्न अनुरोध गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत होम भण्डारीको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सम्पन्न सञ्चारकर्मीहरूसंगको छलफलमा सहजीकरण स्वास्थ्य प्रमुख सापकोटाले गरेकी थिइन् ।

कार्यक्रममा खोप अभियानलाई प्रभावकारी बनाउनका लागि पालिका क्षेत्रका विद्यालयहरुका विद्यार्थीलाई जानकारी गराउने, उनीहरुमार्फत अभिभावकहरुलाई बालबच्चालाई खोपमा सरिक गराउन निमन्त्रणा पत्र पठाउने, विद्यालयका शिक्षक, टोल समितिका अध्यक्षहरुसँग छलफल गर्ने लगायतका कामहरु तीब्र रुपमा गरिरहेको मेचीनगर स्वास्थ्य शाखा सहायक प्रमुख रामप्रसाद अधिकारी (पुजन)ले जानकारी दिए ।

सरकारको सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य लिएर अहिले देशका सबै पालिकाहरूमा अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु