वैकल्पिक खेतीले बाहुनडाँगीमा ल्याएको समृद्धि

2024-08-27 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । मेचीनगर–४ बाहुनडाँगीका रमेश दाहालले एक दशक अघिसम्म आफ्नो जमिन बेचेर अन्यत्र बसाईँ जान निक्कै प्रयत्न गरे । तर, अन्यत्रबाट जमिन किन्न त्यस क्षेत्रमा कोही नपुगेपछि उनको बसाईँ सर्ने योजना सफल भएन । उनले सस्तैमा भएपनि जमिन बेच्ने सोच बनाएका थिए । रमेशको बसाइँ सर्ने सोचको पछाडि एउटै कारण थियो, हात्तीको त्रासबाट मुक्त हुने उपायको खोजी । उनलाई बसाईँ सरेर शहरमा विलासिताको जीवन जिउनु पनि थिएन, गाउँमै भएपनि भयरहित जीवन जिउन पाए हुन्थ्यो भन्ने कुराले उनी पिरोलिन्थे । रमेश मात्र होइन, संगो बाहुनडाँगीवासीलाई एउटै कुराले पिरोल्ने गरेको थियो, भोलिको सूर्याेदय देख्न नपाइएला कि भन्ने ।
‘प्राय हरेक रात भारतीय भूभागबाट हुलका हुल हात्ती बाहुनडाँगी प्रवेश गर्दा न त बाली जोगिन्थ्यो नत घरमा राखेको अन्न नै,’ विगतलाई सम्झँदै रमेशले भने, ‘बाहुनडाँगी वासीको जीवनमा खुशी लेखेको छैन जस्तो लाग्थ्यो । सँधै त्रासमा बाँच्नु पर्ने अवस्था थियो । हात्तीले कतिको त सुतेकै ठाउँमा जीवनलीला समाप्त पारिदिन्थ्यो ।’
हात्तीले दैनिक रुपमा अन्नबाली नष्ट गर्न थालेपछि बाहुनडाँगी वासीले बैकल्पिक खेती सुरु गरे । कतिले चिया, कतिले सुपारी त कतिले कागती लगाए । बाहुनडाँगीमा बैकल्पिक खेती सुरु भएपछि रमेशले पनि आपनो धान खेती मासेर सुपारी लगाए । उनले भने, ‘जमिन बिक्री नभएपछि हामीले पनि धान खेती मासेर सुपारी खेती सुरु गरियो । रमेशले संयुक्त परिवारमा हुँदै करिव ४ विगाह जमिनमा सुपारी खेती लगाएको बताए । हाल उनले थप तीन विगाह जमिनमा सुपारी र कागती लगाएका छन् भने १ विगाह जमिनमा चिया खेती गरेका छन् ।
धानको तुलनामा कयौं गुणा बढी आम्दानी हुन थालेको उनले बताए । ‘धान रोप्दा काट्न पाइन्छ भन्ने हुँदैनथ्यो । हात्ती आउन विर्सियो भने मात्र धान काट्न पाइन्थ्यो नत्र रोप्ने काम मात्र हुन्थ्यो’, उनले विगत सम्झँदै भने, ‘अहिले हात्ती आएपनि ठूलो क्षति हुन पाएको छैन ।’
हात्ती छेक्न वि.सं २०७२ सालमा बाहुनडाँगीको तिरिङदेखि नकलबन्दासम्म १७ दशमलव ६ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । विद्युतीय तारबार लगाएपछि केही वर्ष हात्ती नियन्त्रण भएपनि पछिल्लो समय फेन्सिङमा समस्या आएका कारण हात्ती पुनः नेपाल प्रवेश गर्न थालेको उनले बताए ।
हुन त बाहुनडाँगीमा हात्ती–मानव बीचको द्वन्द्व न्यूनीकरण गर्न वडाध्यक्ष अर्जुनकुमार कार्कीले मानव हात्ती सह–अस्तित्व कार्यक्रम सञ्चालन गरेका छन् । हात्ती नियन्त्रणको लागि र्यापिड रेस्पोन्स टिम गठन गरेर गाउँमा हुने क्षतिलाई कम गर्ने प्रयास भएको छ । यो सँगै हात्ती आएको जानकारी दिन हालै मात्र बाहुनडाँगी बजारमा साइरन जडित मेसिन जडान गरिएको छ । हात्ती नेपालतर्फ आएको थाहा पाएपछि सारन बजाइन्छ । त्यसपछि र्यापिड रेस्पोन्स टिमले हात्तीलाई भारतीय भूभागमा वा क्षति कम हुने ठाउँमा फर्काउने गरेको वडाध्यक्ष कार्कीले बताए ।
र्यापिड रेस्पोन्स टिम गठन भएपछि हात्ती आउँदा घरैपिच्छेबाट हात्ती खेद्न जाने परिपाटी अन्त्य भएको उनको भनाइ छ । ‘हात्ती आएपछि प्रत्येक घरबाट पुल्ठो लिएर हात्ती खोदाउन जाँदा मानवीय क्षति समेत हुन्थ्यो,क हिले हात्ती मर्थे त कहिले मानिस,’ वडाध्यक्ष कार्कीले भने, ‘मानव–हात्ती सह–अस्तित्व अभियान सुरु भएपछि त्यस किसिमको अप्रिय घटना भएको छैन ।’
समयको क्रमसँगै बाहनडाँगीको बासीको पीडा कम हुँदै गएको उनको भनाइ छ । कुनै समय हात्ती र बाहुनडाँगी पर्याय जस्तौ थियो । उनले भने, ‘हात्तीसँगै पौठेजोरी खेल्दै त्रास पूर्ण जीवन बिताउन बाध्य बाहुनडाँगी बासी बैकल्पिक खेती सुरु गरेपछि आर्थिक रुपमा समेत सवल बन्दै गएका छन् ।’
बाहुनडाँगी क्षेत्रमा धान खेती गर्नेको संख्या न्यून हुँदै गएको छ । सो वडामा ८० प्रतिशत बढी किसानले बैकल्पिक खेतीको रुपमा चिया, तेजपत्ता, रुद्धाक्ष, कागती लगायत बिभिन्न प्रकारका जडिबुटी खेती गर्न थालेका छन् । जुन आर्थिक समृद्धिको आधार बन्दै गएको छ । मेचीनगर–४ कै भवनसिंह खतिवडाले केही वर्ष अघि आफ्नो धानखेती मासेर सुपारी रोपे । उनले रोपेको सुपारीले हाल वार्षिक रुपमा १ लाख आम्दानी दिन थालेको छ । खतिवडाले भने, ‘चार कठ्ठा जमिनमा लगाएको सुपारीले बार्षिक १ लाख आम्दानी दिन थाल्यो । थप ८ कठ्ठामा ४ वर्ष अघि विरुवा रोपेको छु । अब ३ वर्षपछि त्यसबाट पनि आम्दानी सुरु हुन्छ ।’
उता मेचीनगर–४ आमडाँगीका ओमप्रसाद भण्डारीले डेढ विगाह जमिन क्षेत्रफलमा कागती रोपेका छन् । उनले सीमा क्षेत्रमा धान रोपे पनि अन्य क्षेत्रमा भने चार वर्ष अघि कागती रोपेर मनग्ये आम्दानी लिन थालेका छन् । हात्तीले दुःख दिएकै कारण आफूले कागती खेती गरेको उनले बताए । ‘रोपेको दोस्रो वर्षदेखि आम्दानी सुरु भयो । दोस्रो वर्ष रु ८० हजारको विक्री भयो । तेस्रो वर्ष २ लाख ५० हजारको विक्री भयो ।’ किराको प्रकोपको कारण यस वर्षभने १ लाख रुपैयाँको मात्र विक्री गर्न सकेको उनले बताए ।
ब्यवसायिक कृषिमा अनुदान पाइने सुनेका भण्डारीले ३ वर्ष अघि भण्डारी कृषि फर्म दर्ता गरेर ब्यावसायिक रुपमा कागती खेती गरेपनि हालसम्म कतैबाट कुनै किसिमको सहयोग नपाएको गुनासो गरे । ‘प्राविधिक सहयोग मात्रै पाएको भएपनि फल राम्रोसँग लाग्थ्यो होला,’ भन्डारीले भने, ‘फर्म दर्ता गरेर राज्यलाई कर तिरेको छु तर राज्यबाट कुनै प्रकारको सहयोग भएन अव फर्म बन्द गर्नु पर्छ जस्तो छ ।’
मेचीनगर–४ पशुपती टोलका भोजकुमार रञ्जीतकारले ५६ सालमा हात्तीले पुर्याएको क्षति सम्झिए । खेती योग्य जमिन मासेर चिया र रुद्धाक्ष खेतीतर्फ लाग्नु परेको प्रसंग कोट्याउँदै उनले भने, ‘यस क्षेत्रका धेरै मानिस हात्तीको पीडाबाट मुक्त हुन भएको आफ्नो जमिन गिरीबन्धु र बजगार्इँ चिया फ्याक्टीलाई बेचेर अन्यत्र जाने लहर चल्यो । तर, हामीले सस्तोमा बेच्न सकेनौं त्यसै साल ६२ वटा हात्ती आएर भर्खर रोपेको धान सबै नष्ट गरिदियो । त्यसपछि हामीलेपनि चिया लगायौं ।’ आज चिया र रुद्धाक्ष आम्दानीको भरपर्दाे माध्यम बनेको छ ।
उनले २ विगाह ५ कठ्ठा जमिन क्षेत्रफलमा चिया र रुद्धाक्ष खेती लगाएका छन् । रुद्धाक्ष बाहुनडाँगीमा आफ्नो बुवा अम्बरबहादुर रञ्जीतकारले भित्र्राएकोे प्रसंग कोट्याउँदै उनले भने, ‘बुवा प्रहरीमा हुनुहुन्थ्यो, ३४ सालमा दिंगलाबाट केही विरुवा ल्याएर रोप्नु भएको थियो ।’ पछि सोही विरुवा हुर्कीएर फलेपछि रुद्धाक्षको दल राखेर यस क्षेत्रमा रुद्धाक्षको खेती सुरु भएको उनको भनाई छ ।
हात्तीको त्रासको कारण कुनै समय यस क्षेत्रमा छिमेकी वडा तथा नगरका अन्यभागबाट मानिसहरु विरलै पुग्ने अवस्था थियो । हात्तीको त्रासले दिउँसै बाहुनडाँगी जान पनि सोच्नु पर्ने परिस्थिति थियो । तर, आज देशका बिभिन्न ठाउँबाट मानिसहरु हात्ती हेर्नको लागि पनि बाहुनडाँगी पुग्ने गरेका छन् । यस क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरुलाई लक्षित गरेर होमिस्टे समेत सञ्चालनमा ल्याइएको छ । उनीहरु दिनभर बाहुनडाँगी क्षेत्र घुम्छन्, साँझमा हात्ती हेर्छन् अनि होमस्टेमा रात विताएर भोलिपल्ट घर फर्कने गरेका छन् । उनीहरु हात्ती हेर्नमात्र बाहुण्डाँगी गएका भने होइनन् बाहुनडाँगीका किसानले हात्तीबाट जोगिन अपनाएका विधि, बैकल्पिक खेती समेतलाई नियाल्न बाहुनडाँगी पुग्ने गरेका हुन् ।
‘हामीले बाहुनडाँगी वासीको पीडालाई कम गर्ने नयाँ रणनीतिका साथ काम थालेका छौं,’ वडाध्यक्ष कार्कीले भने, ‘भोलिका सूर्याेदय देख्न पाइन्छकी पाईदैन भन्ने त्रासबाट गुज्रिएको हाम्रो जीवन अव भने त्रास मुक्त बन्न थालेको छ । हात्ती नियन्त्रणका लागि यस अघि धेरै प्रयासहरु भए तर ती प्रयासहरु प्रभावकारी नभएपछि हामीले र्यापिड रेस्पोन्स टिम समेत गठन गर्याैं । आज यसले हात्ती नियन्त्रणको लागि प्रभावकारी काम गरिरहेको छ ।’
हात्तीलाई पर्यटनसँग जोड्नका लागि मेची नदीको मुख्य गौडाहरुमा हात्तीको आहार हुने बोटविरुवा हुर्काउने प्रकृति पार्क निर्माण गरिएको उनले बताए । ‘किसानहरुले लगाएको खेतीबालीमा हात्तीले नोक्सानी गरेमा त्यसको क्षतिपूर्ति दिलाउन हामीले बिमाको व्यवस्था मिलाउँदैछौं,’ वडाध्यक्ष कार्की भने, ‘धान, मकै, तरकारी लगायतका बाली हात्तीले खाँदा क्षतिपूर्ति पाउने भएपछि किसानहरु हात्तीसँग झडपमा उत्रिन छोडेका छन् ।’
बाहुण्डागीमा हात्ती मानवबीचको द्वन्द्वलाई न्यूनीकरण गर्नकै लागि २ वर्ष अघि न्यूटन कार्कीको संयोजकत्वमा २५ सदस्यीय र्यापिड रेस्पोन्स टिम गठन गरिएको छ । ‘हात्ती आएको देख्ने जो कोहीले आफ्नो मोवाइलमा भएको लुना एप मार्फत त्यहाँ सूचना गर्नु हुन्छ, त्यसपछि हाम्रो टोलीले हात्ती आएको ठाउँमा गएर हात्तीलाई पर्काउने काम गर्छ,’ र्यापिड रेस्पोन्स टिमका उपाध्यक्ष सदेश पौडेलले भने, ‘हामीले नियमित रुपमै हात्ती आउने गौंडामा बसेर पहरेदारको रुपमा काम गरिरहेका छौं ।’
भारतको कोलाबारी फरेष्टबाट आएका हत्तीलाई मेची नदीको बगरमै छेकेर भारत तर्फको टुक्रेझार फरेष्ट तर्फ फर्काउने गरेको उनले बताए । र्यापिड रेस्पोन्स टिमले धान पाकेको समयमा किसानको धानखेतीको समेत सुरक्षा दिने गरेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु