डम्बर बराल
मेचीनगर । मेचीनगर– १२ सिरान कामतका ५२ वर्षीय राकेश प्रसाईले एक वर्ष अघि वर्षाैदेखि बाँझो भएको २ विगाह जमिन जोते, सम्याए अनि उन्नत जातका केराका विरुवा रोपे । विगत १० वर्षदेखि बाँझीएको जमिन जंगल जस्तै भइसकेको थियो । मान्छे दिउँसै हिँड्दापनि डराउने पट्टेर घारी अहिले कृषि कर्ममा लाग्नेहरुको लागि भने अध्ययन केन्द्र नै बन्न थालेको छ ।
उनले एक वर्ष अघि लगाएको केरा खेती पहिलो वर्षमै आशलाग्दो बनेको छ । करिव २८ सय विरुवा रोपेकोमा यतिखेर २२ सय जति घरी लागिसकेको छ । ६ सय घरी पसाउने तयारीमा छ । प्राय एकै नासे केराको घरी देख्दा सो बाटो भएर हिँड्ने जो कोही पनि एक छिन् उभिएर रमिता हेरेर मात्र अघि बढ्ने गर्दछन् ।
सशस्त्र द्वन्द्वको समयमा घर छाडेर भेरी र कर्णालीमा स्वास्थ्य क्षेत्रमा लामो समय विताएका प्रसाई एनजीओ मार्फत स्वास्थ्य क्षेत्रमा थिए । उनी त्यसपछि विश्वका बिभिन्न मुलुकमा पुगे । खासगरी द्वन्द्वरत देशहरुमा द्वन्द्व पीडितहरुको सेवामा लामो समय विताएका प्रसाई कोरोना भाइरसले विश्व महामारीको रुप लिएपछि नेपाल फर्किएका हुन् । अनि नेपालमा आएर आफ्ना वृद्ध बुवा आमाको स्याहार सुसार गरेर बसे । उनले द्वन्द्वरत देशहरु गाजा र युक्रेन बाहेक अरु सबै देशमा पुगेर द्वन्द्वमा परेका मानिसहरुको सेवा गरेको सुनाए ।
जीवनको लामो समय घर बाहिर बसेका उनले देशमै बसेर आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने सोचका साथ सुरुमा केही क्षेत्रमा सब्जी खेती सुरु गरे । तर सिँचाईँको अभावमा आम्दानी भन्दा लगानी बढी हुन थालेपछि उनी त्यसपछि केरा खेतीमा फड्को मारे ।
“सुरुको केही वर्ष सब्जी खेती गरेँ तर सिँचाईको ब्यवस्था नभएपछि लगानी मात्रै भयो,” उनले भने, “त्यसपछि भद्रपुरबाट उन्नत जातको चिनिचम्फा र जिनाई जातको केराको विरुवा ल्याएर रोपेँ, अहिले पहिलो वर्षमै आसलाग्दो घरी लागेको छ । यसपटक नाफै त नहोला आउँदो साल भने राम्रो कमाइ गर्न सकिन्छ भन्ने आशा छ ।” उनले पहिलो उत्पादन दशैं अघि ७५ घरी केरा बेच्न भ्याए । अब तिहार र छठमा सबै केरा बिक्री हुने उनले बताए । तिहार र छठमा भाउपनि राम्रो पाइन्छ प्रसाईले भने, “बजारको अभाव छैन, बिर्तामोडको कृषि थोकमा लगेपछी घरी हेरेर प्रतिघरी ५ सय देखि ७ सय सम्ममा विक्री हुन्छ ।” झापा जिल्लाका बिभिन्न ठाउँबाट ब्यापारी पनि आउनेगरेको उनले सुनाए ।
प्रसाईले ब्यवसायिक केरा खेती गर्न एक वर्ष अघि “द फार्म” नामको कृषि फर्म नै दर्ता गरेका छन् । उनले ब्यवसायिक केरा खेतीबाट आम्दानी मात्र लिएका छैनन् सो फर्ममा ५ जनालाई रोजगारी समेत दिएका छन् । हरेक दिन उनीहरु केराको बोट गोडमेल, रोग किराको औषधि उपचारमै ब्यस्त हुन्छन् । केरा खेती गोडमेल गर्दै गरेको अवस्थामा भेटिएका दिलिप शाहले भने, “कमाइ अनुसार मेहनत पनि राम्रै हुन्छ, नियमित जसो गोडमेलमै लाग्छौं केरा फले पछि त्यसको फेदमा आएका मध्ये एउटा राम्रो विरुवा राखेर अरु नयाँ सबै विरुवा हटाउनु पर्छ । एउटा झाँङ्मा एउटा मात्र घरी लाग्नेगरी ब्यवस्था मिलाउनु पर्छ अनि मात्र राम्रो घरी लाग्छ ।” बिर्तामोड घर भएका शाहले विगत एक वर्षदेखि हरेक दिन कामको लागि फर्ममा आउने गरेको बताए । उनी मात्र होइन स्थानीय केशरबहादुर राउतले पनि यहाँ काम गरेको वर्षाै भयो । केरा खेती सुरु गर्नु भन्दा अघिदेखि यहाँ काम गर्थेँ अहिले नियमित काम पाएको छौं । परिवारको गर्जाे यसैबाट टरेको छ । मेहनत अनुसारको कमाइ पनि राम्रै छ । नियमित काम गर्ने अरु तीनजना साथीहरु छन् । उनीहरु दशैंमान्न घर गएका छन्”,उनले भने ।
प्रसाईले आफ्नो केरा खेतीको लागि आवश्यक पर्ने कम्पोष्ट मल आफै उत्पादन गर्दै आएका छन् । करिव २४ वटा टनेल बनाएर उनले गड्यौले मल उत्पादन गर्दै आएका छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय देखिएका प्रसाईले आफूले मात्र नभएर गाउँमा धेरैलाई केराखेती गर्न प्रेरित गरिरहेका छन् । सुरुमा त सबैजनाले तँ अव डुविस् भन्थे, अहिले केरा फलेको देखेर गर्दा हुँदो रहेछ भन्दै फर्कन्छन् । यसले धेरैलाई केरा खेती गर्न उत्साह मिलेको छ । प्रसाईले आगामी दिनमा थप खेतीमा समेत केराको विरुवा रोप्ने योजना बनाएको सुनाए । पछिल्लो समय मेचीनगरमा ब्यवसायिक केरा खेती गर्नेहरुको संख्या बढ्दै गएको छ ।
प्रतिकृया दिनुहोस्