मेचीनगर – १० मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

2024-12-26 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा १० मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम बुधबार १० नम्बर वडामा सम्पन्न भएको हो ।

पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६, ७, ८, ९ र १० नम्बर वडामा उक्त कार्यक्रम सकिएको छ । सो अभियान आज वडानम्बर ११ मा सञ्चालन हुने छ ।

शिविरमा हालसम्म करिव एक हजार ४५० जनाले सो सेवा लिइसकेका छन् । वडा नम्बर १० मा नयाँ तथ्याकं अनुसार अपाङ्गता भएका २०५ जना व्यक्तिहरु रहेका छन् । अशक्तहरुलाई अभियानमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान तथा परिचय पत्र वितरणका लागि सिफारिस गरिने कार्य सम्पन्न गरिएको मेचीनगर १० का कार्यवाहक वडाध्यक्ष सोम ओझाले जानकारी दिए ।

वडा वडामा भइरहेको स्वास्थ्य शिविरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल, करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईली, जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सफल पार्न विशेषज्ञ डाक्टरसहित ५६ जना कर्मचारीको टिम शिविरमा खटिएका छन् ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु