नेपाली हाते कागज उद्योगबाट मनग्ये आम्दानी

2024-12-31 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । मेचीनगर – ११ का टिकाराम सिटौलाले लोक्ता र बाबियोसँग खेलेको ८ वर्ष वित्यो । काँचो हाते कागज उत्पादनको लागि आवश्यक पर्ने लोक्ता र बावियो ल्याउनु अनि त्यसलाई भट्टीमा उमाल्नु उनको दैनिकिनै हो ।
आफन्तहरुले नेपाली हाते कागजको उद्योग सञ्चालन गरेको देखेर उत्साहित भई २०७४ सालबाट कागज उद्योग सुरु गरेका टिकारामले यतिखेर आफ्नो व्यवसायलाई बृहत बनाएका छन् ।


उद्योग सञ्चालन गरेको दुई वर्षपछि उनले प्रकृति नेपाली हाते कागज उद्योग दर्ता गरेर व्यावसायिक रुपमा कागज उत्पादन सुरु गरे । रु ५ लाखको लागतबाट सुरु भएको व्यवसायमा हाल करोड बढी लगानी भइसकेको उनले जानकारी दिए । दैनिक तीन हजार देखि ३५ सय सिटसम्म काँचो कागज उत्पादन गर्दै आएका सिटौलाले जाडो सिजन सुरु भएपछि भने उत्पादन घटाएर दैनिक दुई हजारमा झारेका छन् । बजारमा कागजको माग राम्रै छ, उनले भने, “यो सिजनमा सुकाउन समस्या हुन्छ, त्यसैले उत्पादन घटाएँ ।” उनले पेपर बनाउन आवश्यक कच्चा पदार्थको अभाव हुँदा बजारको माग धान्न नसकिएको समेत बताए । पेपर विक्रीको कुनै समस्या छैन सिटौलाले भने, “कोशी प्रदेशका बिभिन्न ब्यापारिक केन्द्रहरुमा पेपर विक्री हुन्छ, उत्पादन गुणस्तरीय भएकोले विदेश पनि निर्यात गर्दै आएको छु ।” उनले शुद्ध लोक्ताबाट तयार पारेको काँचो कागज भने धेरै जसो चिन र जापान निर्यात हुने गरेको बताए । सिटौलाले पेपर विक्रीबाट खर्चकटाएर मासिक १ लाखसम्म बचत गर्न भ्याएका छन् ।


कागजको उत्पादनको लागि आवश्यक पर्ने लोक्ता पाँचथरबाट र बाबियो ढल्केबर र इलामबाट खरिद गर्दै आएका सिटौलाले बैदेशिक रोजगारीको मोहले युवा शक्ति विदेशिने क्रम बढेको कारण पहाडमा लोक्ता बनाउन मजदुरको अभाव खड्किएसँगै कच्चा पदार्थको अभाव हुने गरेको बताए । पहाडमा प्राय लोक्ता निकाल्ने युवा मजदुर भेटिदैन । कतिपय ठाउँमा ज्येष्ठ नागरिकले लोक्ता निकाल्नु पर्ने बाध्यता छ । जसको कारण पर्याप्त मात्रमा लोक्ता उत्पादन भएको छैन । लोक्ताको अभावमा कतिपय उद्योग बन्द हुन थालेको उनले बताए ।
लोक्ताबाट कागज बनाउन केही चरणहरु पार गर्नु पर्छ, सिटौलाले कागज बनाउने विधीका बारेमा प्रकास पार्दै भने, “सुरुमा लोक्ता र बाबियो भट्टीमा करिव ११ घण्टा पकाउनु पर्छ । त्यसपछि त्यसलाई सफा पानीमा चार पाँच पटक सफा गरिन्छ । पून ः ब्लिचिङ पाउडर मिलाएर पानीले सफा गर्नुपर्छ । कागज बनाउन उपयुक्त हुनेगरी सेतो भएपछि त्यसलाई बिटर मेसिनमा हालेर पेल्ने र पूर्णरुपमा लेदो भएपछि निकालेर कागज बनाउने डुँडमा राखेर त्यसमा लुरीको प्रयोग गर्नुपर्छ । लुरीले चिप्लो पार्ने भएको त्यो एक अकौबीच टाँसिदैन त्यसपछि फर्मा र जालीको प्रयोगले जापानी प्रविधिबाट पेपर तयार हुन्छ ।”
आफ्नोे व्यवसायमा निक्कै खरो उत्रिएका सिटौला रहेक दिन मजदुरसँगै काममा ब्यस्त भेटिन्छन् । उनी मात्र होइन सो काममा सिंगो परिवार जुट्ने गरेको छ । हामी परिवारमा ९ जना छौं । बुबा –आमा, दाजु– भाउजू, श्रीमती र म सबै काममा ब्यस्त हुन्छौं जीवन निर्वाह राम्रैसँग चलेको छ । नानीहरुलाई पढाउने देखि परिवारको खर्च यही व्यवसायबाट भएको आम्दानीले धानेको छ ।” उनले उद्योगबाट आफैलेमात्र कमाएका छैनन् । आफ्नो उद्योगमा ३५ जनालाई रोजगारी समेत दिएका छन् ।


घरेलु उद्योग सञ्चालनमा सरकारले अनुदान समेत दिन्छ भन्ने सुनेका उनले हालसम्म कुनै निकायबाट अनुदान भने नपाएको बताए । “ऋण लिएर व्यवसाय गरिरहेको छु । अनुदान काहीँबाट पाएको छैनौं,” उनले भने । सुरुमा महिला उद्यमी कर्जा रु १५ लाख र पछिल्लो समय कृषि विकास बैंकबाट रु ४० लाख कर्जा लिएर उद्योग सञ्चालन गरिरहेका सिटौलाले युवा विदेश पलायनलाई रोक्न सरकारले लधुउद्योग सञ्चालनमा युवाहरुलाई प्रोत्साहित गर्दै सहुलियत कर्जा र अनुदान दिनु पर्ने बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु