
डम्बर बराल
मेचीनगर । गाई फर्मबाट राम्रै कमाई हुन्छ भन्ने बुझेका मेचीनगर–४ नवकिरण टोलका ६७ वर्षीय गोविन्दप्रसाद सुवेदीले ७ वर्ष अघि सनराइज बैंकबाट ३० लाख कर्जा लिएर व्यावसायिक रुपमा गाईपालन सुरु गरे ।
सानैदेखि संघर्ष गरेर जीवन निर्वाह गर्दै आएका सुवेदीले व्यावसायिक रुपमा गाई पालनमा लाग्नु अघि दुई÷चारवटा गाई पाल्दै आएका थिए । अरुले ठूलै संख्यामा गाई पालेको र दुध बेचेर राम्रैसँग पैसा थापेको देख्दा उनलाई पनि त्यसबेला गाई पाल्ने हुटहुटी जाग्यो । सुवेदीले बैंकबाट लिएको सबै रकम गोठ निर्माण र गाई खरिदमा खर्चिए । गाई फर्ममा ठूलो रकम खर्चिएपछि परिवारका सबै सदस्य उत्साहका साथ गाईको स्याहार सुसारमा पनि लागे ।
गाईको स्याहार सुसारमा आफैँ लाग्ने र केही वर्षमा ऋण चुक्ता गरेर नाफा कमाउने सोचका साथ उत्साहित बनेका सुवेदीको खुसी लामो समय टिक्न सकेन । नाफा कमाउने त परको कुरा, हरेक वर्ष बैंकको ब्याज थपिँदै गएपछि व्यवसाय सुरु गरेको ७ वर्षमा उनको बैंकको ऋण झण्डै दोब्बर पुगेको छ ।
‘चार पाँचवटा गाई घरमै थिए, जसोतसो दुःख गरेर जीवन निर्वाह हुँदै थियो,’ सुवेदीले भने, ‘छोराहरु विदेश गएका थिए भनेजस्तो काम नभएपछि घर फर्किए, त्यसपछि देशमै केही काम गर्ने सोचका साथ ऋण लिएर गाई फर्म सुरु गर्याैं तर आजसम्म नाफा कमाउने भन्दा पनि ऋणको बोझ थपिँदै गयो ३० लाख लिएको ऋण आज ५० लाख पुग्यो ।’
सुवेदीले सुरुमा सनराइज बैंकबाट रु ३० लाख कर्जा लिएका थिए । पछि त्यही ऋण तिर्न माछापुछ«रे बैंकबाट ४५ लाख कर्जा लिए । दुध विक्री गरेर कर्जा घटाउने त परको कुरा दुधको पैसाले गाईको लागि दाना खरिदमा समेत धौधौ परेपछि उनले ऋण घटाउन सकेनन्, बरु बैंकबाटै कर्जा थप्दै पुरानो ऋण तिरे । हाल मुक्तिनाथ बैंकबाट रु ५० लाख कर्जा लिएका सुवेदीलाई हरेक वर्ष ऋणको बोझ थपिँदै गएको छ ।
सुवेदीको गाई फर्ममा हाल २२ वटा गाई तथा बाछा–बाछी र तीनवटा भैसी गरी ३८ वटा चौपाया छन् । गाईको लागि वर्षभरिलाई पुग्ने पराल खरिद गर्छन् भने १५ कठ्ठा क्षेत्रफलमा नेपिएफ नामको घाँस रोपेका छन् । गाईको लागि आवश्यक घाँस रोपे पनि सिँचाईको अभावमा राम्रोसँग घाँस आउन नसकेको उनले बताए । उनले हरेक वर्ष झैं यस वर्ष पनि ७० ट्याक्टर पराल खरिद गरेर राखेका छन् ।
फर्मबाट हाल दैनिक १ सय १० लिटर दूध उत्पादन भइरहेको सुवेदीले जानकारी दिए । ‘उत्पादन भएको दूध बेच्न समस्या छैन, बिहान र बेलुका घरमै आएर लैजान्छन,’ उनले भने । खुद्रा मूल्य प्रतिलिटर ५० रुपैयाँ र दूध डेरीलाई ल्याक्टो र फ्याटका आधारमा प्रतिलिटर ५७ रुपैयाँमासम्म विक्री हुन्छ । आफूले उत्पादन गरेको दुध धाइजनस्थित ऋतिका डेरीमा विक्री गर्दै आएको उनले बताए । एक वर्ष अघि दुधको मूल्य घटेपछि गाईपालक किसानहरु थप आर्थिक समस्यामा फस्दै गएको उनको भनाई छ । ‘चोकर र दानाको मूल्य बढेको बढ्यै छ,’ उनले भने, ‘दुधको मूल्य भने घट्दो छ । दाना र दुधको मूल्य बराबर भएपछि कसरी बचत हुन्छ ।’ उनले दानामा सहुलियत दिनुपर्ने बताए ।
सुवेदीले ट्याक्टर खरिद र साइलेस बनाउने क्रममा प्रदेश सरकारबाट एकपटक १४ लाख अनुदान पाएको सुनाए । ट्याक्टर खरिद भयो । साइलेस बनाउने ठाउँ पनि तयार गरियो । त्यसपछि रमक अभावमा साइलेस भने बनाउन नसकेको उनले बताए । ‘छोराहरुको उर्जाशील समय पनि यसैमा बितेको छ,’ उनले भने, ‘आठ जनाको परिवार छौं, माइलो छोरा हुमनाथ र कान्छो छोरा प्रेमप्रसाद अनि आफू नियमित गाईको स्याहारमा हुन्छौं । आम्दानी नभएपछि काममा मान्छे राख्ने कुरै भएन । बिहान ४ बजेदेखि बेलुकासम्म अरु काम सोच्नै भ्याइँदैन । हाम्रो दैनिकी गाईको सेवामै बित्छ । तर, कमाई भने छैन ।’
कुनै समय ७४ रुपैयाँको दरले बेचेको दुध यतिखेर ५६ रुपैयाँमा विक्री गर्नु पर्दा लगानी जोखिममा परेको उनले सुनाए । ‘गाई फर्म हाम्रा लागि यतिखेर भालुको कन्पट जस्तै भयो,’ उनले भने, ‘छोडौं भने यतिधेरै लगानी भयो, गर्दा हरेक वर्ष ऋणको बोझ थपिँदैछ ।’ एक वर्ष अघि सरकारले दुधको मूल्य घटाएपछि गाईपालक कृषक निराश बन्न थालेका छन् ।
प्रतिकृया दिनुहोस्