कविन्द्र श्रेष्ठ
राजनीतिमा आलोचना हुनु अस्वाभाविक होइन ।
दोषारोपण, प्रश्न र असन्तुष्टि लोकतन्त्रका स्वाभाविक अङ्ग हुन् । तर आलोचनाभन्दा माथि उठेर सत्य, उपलब्धि र प्रभावको निष्पक्ष मूल्याङ्कन गर्ने हो भने – झापा– १ ले महामन्त्री विश्वप्रकाश शर्माको कार्यकालमा पाएको विकास, बजेट र राजनीतिक सक्रियता आजसम्मकै सबैभन्दा ठोस, देखिने र परिणाममुखी रहेको तथ्यलाई इमानदारीपूर्वक नकार्न सकिँदैन ।
यही यथार्थका कारण झापा– १ बाट नेपाली काँग्रेसको प्रतिनिधि सभा उम्मेदवारका रूपमा विश्वप्रकाश शर्माको एकल नाम सिफारिस हुनु कुनै संयोग थिएन ।
यो जनभावनाको सम्मान थियो, नेतृत्वप्रतिको भरोसाको सार्वजनिक अभिव्यक्ति थियो, र नयाँ पुस्ता (न्भल(श्) ले खोजिरहेको जवाफदेही, सुधारमुखी र नैतिक राजनीतिक शैलीको स्पष्ट संकेत थियो ।
तर आज, यही जनसमर्थन, यही कार्यसम्पादन र यही एकल सिफारिसको बीचमा विश्वप्रकाश शर्माले आफैं “झापा– १ बाट नउठ्ने, पार्टीको काममा मेचीदेखि महाकाली खटिने” निर्णय सार्वजनिक गरेपछि झापा– १ मात्र होइन, सिङ्गो राजनीतिक वृत्तमा गहिरो कौतूहल, असहजता र बहस पैदा भएको छ ।
अब प्रश्न “उठ्ने कि नउठ्ने ?” मात्र होइन । अब प्रश्नहरू अझ गहिरा छन् । आखिर यस्तो निर्णय किन ?
यो पूर्णतः स्वेच्छिक त्याग हो कि संरचनागत दबाब ? एकल नाम सिफारिस हुँदाहुँदै क्षेत्र छोड्नु राजनीतिक रूपमा कति न्यायोचित ? अन्ततः यो निर्णय कसको हितमा पर्छ ?
झापा – १ को कि, पार्टीको कि केन्द्रीय शक्ति सन्तुलनको ?
निर्णय अब हल्ला होइन, सार्वजनिक तथ्य हो । अब यसलाई अनुमान वा अफवाह भनेर पन्छ्याउन मिल्दैन । विश्वप्रकाश शर्माले स्वयं “म झापा– १ बाट उम्मेदवार बन्दिनँ” भनेर स्पष्ट घोषणा गरिसकेका छन् ।
यसले बहसलाई अझ गम्भीर बनाएको छ । किनकि यो निर्णय हारको डरबाट आएको होइन, अस्वीकृतिको परिणाम पनि होइन,बरु जित सुनिश्चित देखिँदा पनि आएको निर्णय हो ।
यहीँबाट प्रश्न अझ कडा हुन्छ ।
जित सुनिश्चित हुँदाहुँदै किन छोड्ने ? अधिवेशनको अन्योल र त्यागको राजनीति नेपाली काँग्रेस अहिले अधिवेशनको मिति, ढाँचा र नेतृत्व संरचनाबारे गहिरो अन्योलमा छ । पुस्तान्तरणको दबाब छ, शक्ति सन्तुलनको संघर्ष छ, र भावी नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न झन चर्किंदै छ । यस्तो अवस्थामा महामन्त्रीको जिम्मेवारीमा रहेका विश्वप्रकाश शर्माले व्यक्तिगत निर्वाचनभन्दा पार्टी संगठन, वैचारिक पुनर्निर्माण र राष्ट्रव्यापी भूमिकालाई प्राथमिकता दिनु नैतिक रूपमा सराहनीय देखिन सक्छ । “यदि अन्य साथीहरू इच्छुक छन् भने मैले मात्र क्षेत्र नं. १ किन ओगटिरहने?” भन्ने उहाँको अभिव्यक्ति सत्ता मोहभन्दा टाढा रहेको सोच हो । तर लोकतन्त्रमा नैतिकता मात्र पर्याप्त हुँदैन । प्रतिनिधित्व पनि उत्तिकै अनिवार्य हुन्छ ।
एकल नाम सिफारिस र क्षेत्र छोड्ने निर्णय : गम्भीर विरोधाभास
झापा– १ बाट आएको एकल नाम सिफारिस सामान्य प्रक्रिया थिएन । यो तीन वर्षको कार्यसम्पादनप्रतिको जनविश्वासको औपचारिक अभिव्यक्ति थियो । त्यसैले, उहाँको नउठ्ने निर्णयलाई “साधारण त्याग” भनेर व्याख्या गर्दा झापा– १ को राजनीतिक र भावनात्मक यथार्थ ओझेलमा पर्छ । किनकि यो क्षेत्रले लामो समयपछि काम गर्ने सांसद पाएको छ । जनताले पहिलो पटक आफ्नो आवाज संसदमा सुनिएको महसुस गरेका छन् ।
प्रतिनिधि र जनताबीचको दूरी घटेको छ । यस्तो अवस्थामा क्षेत्र छोड्नु नैतिक रूपमा उच्च देखिए पनि राजनीतिक रूपमा पूर्ण रूपमा निस्पृह छैन । काम नारा होइन, अनुभूति हो विश्वप्रकाश शर्माका कामहरू नारा मात्र होइनन् । मैदानमा देखिएका र अनुभूत भएका तथ्यहरू हुन् ।
सुकुम्बासी र भूमिहीनलाई धनीपुर्जा वितरण । गाउँ– गाउँ कालोपत्रे सडक विस्तार । सहकारी क्षेत्रको बेथितिविरुद्ध संसददेखि सरकारसम्म निरन्तर आवाज । झोलुङ्गे पुल, खानेपानी आयोजना, क्याम्पस र खेलमैदान । हात्ती आतंक नियन्त्रणका लागि बजेट र दीर्घकालीन योजना । पर्यटन, खेलकुद, विद्युत् र कृषक हितमा नीति र स्थानीय आवश्यकताको संयोजन
यी सबैले एउटै कुरा प्रमाणित गछ र्। उहाँका कुरा भाषणमा सीमित छैनन्, काममा पनि देखिन्छन् । पुराना नेताहरूका लागि यो निर्णय किन झापड हो ?
नेपाली राजनीतिमा कैयौँ यस्ता नेता छन् । जो कैयौँ पटक प्रधानमन्त्री भए । कैयौँ पटक मन्त्री बने र एउटै निर्वाचन क्षेत्र दशकौँसम्म कब्जा गरेर बसे उनीहरूले कहिल्यै आफूलाई प्रश्न गरेनन् । “अब अरूलाई मौका दिनुपर्छ कि ?”
सिट त उनीहरूका लागि सेवाको साधन होइन, निजी सम्पत्तिजस्तै बनेको छ । यस्तो संस्कारको बीचमा एकल नाम सिफारिस हुँदाहुँदै “म उठ्दिनँ” भन्नु पुराना, सत्तामा जरा गाडेर बसेका नेताहरूका लागि राजनीतिक झापड हो, पाठ हो ।
तर यहीँबाट अर्को कठोर यथार्थ सुरु हुन्छ । यो निर्णय जति नै आदर्शवादी किन नहोस्, झापा– १ लाई अझै विश्वप्रकाश शर्माको आवश्यकता छ ।
झापा– १ : नेता धेरै आए, भरोसा कम आयो देवी ओझा, राधाकृष्ण मैनालीदेखि राम कार्कीसम्म । झापा– १ बाट धेरै सांसद आए । तर अनुभूति एउटै रह्यो । चुनाव जितेपछि गाउँ नफर्किने जनसमस्या भन्दा सत्ता केन्द्रतिर केन्द्रित हुने प्रतिनिधि होइन, टाढाको नेता बन्ने यही निराशाको बीचमा झापा– १ ले विश्वप्रकाश शर्मालाई रोज्यो– सांसद मात्र होइन, भरोसाको प्रतिनिधि बनाएर । जनअपेक्षा धेरै थिए । पक्कै पनि सबै पूरा भएनन् । हो, हामीले उहाँलाई जादुको छडी ठानेका थियौँ । यो अवास्तविक अपेक्षा थियो । तर काम नदेखिएको भने होइन । काम देखिएको छ, मापन गर्न सकिने गरी देखिएको छ । जनगुनासो छन् र ती जायज पनि छन् । समर्थनसँगै केही गम्भीर प्रश्नहरू पनि छन् ।
विपक्षीप्रति कडा, आफ्नै पार्टीप्रति केही मौन रहने प्रवृत्ति आफ्नै पार्टीका गल्तीमा अझ निर्भीक आवाजको अपेक्षा । नैतिक नेतृत्वको उचाइअनुसार अझ स्पष्ट आलोचनाको माग । यी गुनासो दुश्मनी होइनन् । यी त उहाँप्रतिको अपेक्षाको उचाइ हुन् ।
बौद्धिक नेता, त्याग र आधार क्षेत्रको प्रश्न “दुई – दुई पटक हार्दा पनि विजय हासिल गर्ने उम्मेदवारलाई हासीहासी माला लगाएर सम्मान गर्न सक्ने राजनीतिक संस्कार आजको नेपाली राजनीतिमा दुर्लभ छ । र त्यो संस्कार बोकेका थोरै नेतामध्ये विश्वप्रकाश शर्मा एक हुन् ।
” विश्वप्रकाश शर्मा बौद्धिक नेता हुन् । उनी संस्थागत सुधारका पक्षधर हुन् । “१ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री, ४ पटक सांसद” भन्ने १,२,३, ४ को सूत्रजस्तो दुर्लभ नैतिक साहस देखाएका नेता हुन् । तर नेपाली राजनीतिको अर्को यथार्थ के हो भने– राष्ट्रव्यापी नेता बन्ने आधार स्थानीय विश्वास नै हो । झापा– १ त्यो आधार हो । त्यसैले प्रश्न उठ्छ । पार्टीले मेचीदेखि महाकाली नेता पाउँदा झापा– १ ले किन फेरि प्रयोगको मैदान बन्नुपर्ने ? नैतिक त्यागको मूल्य सधैं जनताले नै तिर्नुपर्ने ? विश्वप्रकाश नउठे भने ( कसको जित, कसको घाटा ?
यदि विश्वप्रकाश शर्मा झापा– १ बाट नउठे भने( त्यो झापा– १ को हितमा हुन्छ ?कि पार्टीभित्रको शक्ति व्यवस्थापनको सहज समाधान मात्र ? झापा– १ ले पहिलो पटक काम देखिने, आवाज सुनिने र पहुँच पुग्ने सांसद पाएको छ । यस्तो अवस्थामा
उहाँलाई क्षेत्रबाट अलग गर्ने निर्णय जनभावनाभन्दा बढी केन्द्रीय राजनीतिक गणितसँग जोडिएको देखिन्छ ।
झापा– १ का जनताको पुनर्विचारको अनुरोध । विश्वप्रकाश शर्माको निर्णय पुराना, सत्तामोहमा जरा गाडेका नेताहरूका लागि चेतावनी हो, झापड हो, पाठ हो । तर झापा– १ का लागि यो निर्णय अझै अधुरो छ । लोकतन्त्रमा त्यागको सम्मान हुनुपर्छ, तर जनताको आवश्यकतालाई नैतिकताको नाममा पन्छाउन मिल्दैन ।
त्यसैले, झापा–१ का जनता नम्र तर दृढ स्वरमा भन्छन् । आफ्नो “नउठ्ने” निर्णयलाई एक पटक पुनर्विचार गर्नुहोस् । पार्टीका लागि राष्ट्रव्यापी भूमिका निर्वाह गर्दै झापा– १ लाई अझै एक कार्यकाल नेतृत्व दिनुहोस् । नैतिकता र प्रतिनिधित्वबीच सन्तुलन कायम गर्नुहोस् । किनकि, राष्ट्रव्यापी नेता बन्ने आधारस्थानीय विश्वास नै हो । र झापा– १ त्यो आधार हो ।
अन्ततः यो आग्रह व्यक्तिका लागि होइन, झापा–१ को न्यायका लागि हो ।
आज झापा– १ फेरि सोधिरहेको छ ? पुराना नेताहरू नछोड्दा मौन बस्ने राजनीति ठीक, तर काम गर्ने नेता छोड्दा चुप लाग्नुपर्ने ? यस प्रश्नको उत्तर विश्वप्रकाश शर्माको निर्णयले मात्र होइन, नेपाली लोकतन्त्रले पनि दिनुपर्नेछ ।
लेखक : मेचीनगर ९ स्थित आदर्श विद्या मन्दिरका संस्थापक प्रिन्सिपल हुन् ।

प्रतिकृया दिनुहोस्