**अक्षरारम्भ कि आत्मारम्भ ? सरस्वती पूजा, भर्ना अभियान र नानीको बाल्यकालमाथि हाम्रो विवेक**

2026-01-22 मा प्रकाशित

कविन्द्र श्रेष्ठ

“विद्या ददाति विनयम्।” विद्याले विनय दिन्छ। तर आज हामीले अभ्यास गरिरहेको शिक्षा के साँच्चै विनय जन्माउने विद्या हो? कि हतार, प्रतिस्पर्धा र बजारको दबाबमा चलिरहेको एउटा प्रणालीसरस्वती पूजा नजिकिँदै गर्दा देशभर नयाँ भर्ना अभियान तीव्र बनेको छ। विद्यालय, मोन्टेश्वरी र शैक्षिक संस्थाहरू पोस्टर, ब्यानर, सामाजिक सञ्जाल र विभिन्न प्रलोभनमार्फत अभिभावकलाई आकर्षित गर्न व्यस्त छन्। बाहिरबाट हेर्दा यो शैक्षिक उत्सवजस्तो देखिए पनि, गहिराइमा हेर्दा यसले नानीको उमेर, मनोविज्ञान, बाल्यकाल र अक्षराम्भको मौलिक अर्थमाथि गम्भीर प्रश्न उठाएको छ। सरस्वती पूजा ज्ञानको आराधना हो। अक्षराम्भ—अक्षर आरम्भ—नानीको औपचारिक सिकाइ यात्राको सांकेतिक सुरुआत हो। तर आज हामीले अक्षराम्भलाई भर्ना फाराम, उमेरको हतारो र संस्थागत प्रतिस्पर्धामा सीमित बनाइदिएका छौँ। प्रश्न उठ्छ—अक्षराम्भ भनेको के हो? नानीलाई विद्यालयको चारकुना भित्र थुन्नु? कि नानीको चेतना, जिज्ञासा र मानवता जागृत गराउनु? आजको यथार्थ कठोर छ। धेरै नानीहरू १.५ वा २ वर्षकै उमेरमा विद्यालय पठाइँदै छन्। अभिभावकहरू ‘ढिलो गरायो भने पछि पर्छ’ भन्ने डरले ग्रस्त छन्। कतिपयका लागि नानी घरमै हुर्काउनु झन्झट बनेको छ। र विद्यालयहरू, यो मानसिकताको फाइदा उठाउँदै, “छिटो भर्ना, छिटो सिकाइ” को नारा लगाइरहेका छन्। तर बालविकासको विज्ञान यसो भन्दैन। युनेसेफ र विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार ०–५ वर्ष बालकको जीवनको सबैभन्दा संवेदनशील र निर्णायक चरण हो। यस अवधिमा मस्तिष्क विकासको करिब ८५ प्रतिशत हिस्सा पूरा हुन्छ। बालमनोवैज्ञानिक जीन पियाजे भन्छन्—“बालक सानो वयस्क होइन; उसले संसार बुझ्ने आफ्नै चरण र गति हुन्छ।” दुई वर्षे नानीको सिकाइ खेल, अनुकरण, भावनात्मक सुरक्षा र स्वतन्त्र अन्वेषणबाट हुन्छ। उसलाई समयतालिका, अनुशासन, कक्षा र औपचारिक शिक्षामा जबर्जस्ती राख्नु भनेको प्राकृतिक विकास प्रक्रियामाथि हस्तक्षेप हो। यसको असर डर, असुरक्षा, आत्मविश्वासको कमी, सिकाइप्रति वितृष्णा र दीर्घकालीन मानसिक दबाबका रूपमा देखिन सक्छ। पूर्वीय दर्शन पनि यही भन्छ। उपनिषद् भन्छ—“आत्मा न बालो न वृद्धः।” आत्मा न बालक हुन्छ, न वृद्ध। तर मन र शरीर विकासका चरणमा बाँधिएका हुन्छन्। त्यसैले शिक्षा आत्मालाई होइन, मन र शरीरलाई समयअनुसार मार्गदर्शन गर्ने प्रक्रिया हो। बुद्धले मध्यम मार्ग सिकाए—न अति, न न्यून। बाल्यकालमा अति अनुशासन पनि हिंसा हो, अति हतार पनि हिंसा हो। नानीको स्वाभाविक जिज्ञासामाथि ज्ञान थोपर्नु भनेको अहिंसाको उल्लङ्घन हो। गुरुकुल परम्परामा बालकलाई सात वर्षअघि औपचारिक अध्ययनमा लगिँदैनथ्यो। त्यसअघि संस्कार, श्रवण, खेल, प्रकृतिसँगको सम्बन्ध र व्यवहारिक शिक्षा दिइन्थ्यो। कारण स्पष्ट थियो—मन तयार नभएसम्म विद्या भारी बन्छ। पाश्चात्य शिक्षादर्शन पनि यसैमा सहमत छ। रूसोले भने—“बालकलाई समाजले होइन, प्रकृतिले शिक्षित गर्न दिनु।” तर आज आमाको काखको ठाउँ समयतालिकाले, खेलको ठाउँ कक्षाले र जिज्ञासाको ठाउँ गृहकार्यले लिएको छ। मोन्टेश्वरी दर्शनको मूल आत्मा पनि यही हो—बालकको स्वतन्त्र विकास। तर आज मोन्टेश्वरी धेरै ठाउँमा नाम मात्र बाँकी छ। दुई वर्षमै भर्ना, भीडभाड, अप्रशिक्षित जनशक्ति र नाफामुखी सोचले मोन्टेश्वरी दर्शनको आत्मा मरेको छ। म यो कुरा बाहिर बसेर लेखिरहेको छैन। म स्वयं विद्यालय सञ्चालक हुँ। त्यसैले यो लेख आरोप होइन, आत्मालोचना र चेतावनी हो। शिक्षा व्यापार होइन। भर्ना संख्या बढाउनु सफलता होइन। मनोमानी ढङ्गले भर्ना अभियान चलाउनु, अभिभावकको डर र भावनालाई प्रयोग गर्नु, र नानीको तयारी नहेरी भर्ना गर्नु—यी सबै प्रवृत्ति शिक्षाको गरिमाविरुद्ध छन्। आज अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ— “हामी २ वर्षमै भर्ना लिन्छौँ”, “हामी छिटो पढाउँछौँ।” तर दार्शनिक प्रश्न यही हो—छिटो केका लागि? जीवन दौड हो कि यात्रा? अब स्पष्ट नीति आवश्यक छ। भर्ना गर्ने न्यूनतम उमेर ३ वर्ष कायम गरिनुपर्छ। यो कुनै भावनात्मक माग होइन, वैज्ञानिक, दार्शनिक र नैतिक आवश्यकता हो। नगर शिक्षा शाखाले यसलाई कडाइका साथ लागू गर्नुपर्छ। नियम कागजमा होइन, व्यवहारमा देखिनुपर्छ। अनुगमन र कारबाही बिना गलत प्रवृत्ति रोकिँदैन। अक्षरारम्भ भनेको विद्यालय प्रवेश होइन। अक्षरारम्भ भनेको अहंकारबाट विनयतर्फ, डरबाट जिज्ञासतर्फ, प्रतिस्पर्धाबाट सहकार्यतर्फको यात्रा हो। सरस्वती पूजा यस यात्राको स्मरण हो, प्रचारको अवसर होइन। यदि नानीलाई अक्षर चिन्नुअघि जीवनलाई चिन्न दिएनौँ भने, यदि उसलाई अंक गन्न सिकायौँ तर अनुभूति गन्न सिकाएनौँ भने, त्यो शिक्षा हुनेछ कि प्रशिक्षण? यस सरस्वती पूजामा, देवीलाई फूल चढाउनु अघि आफ्नो हतार, आफ्नो डर र आफ्नो लोभ चढाऔँ। शिक्षालाई शिक्षाकै रूपमा ग्रहण गरौँ। नानीलाई बाल्यकाल बाँच्न दिऔँ र अक्षरारम्भलाई आत्मारम्भ बनाऔँ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु