कविन्द्र श्रेष्ठ

राजनीतिमा चुनाव जित्नु मात्र लक्ष्य हुँदैन । कहिलेकाहीँ चुनाव नलड्नु नै सबैभन्दा ठूलो राजनीतिक निर्णय हुन्छ । आज विश्वप्रकाश शर्मालाई केन्द्रमा राखेर उठाइँदै आएका प्रश्नहरू—“हार्ने डरले उठेनन्” भन्ने आरोप—न त तथ्यमा आधारित छन्, न त राजनीतिक विवेकसँग मेल खाने ।
विश्वप्रकाश शर्माले आज वा हिजो अचानक निर्णय गरेका होइनन् । करिब दुई वर्षअघि नै एक सार्वजनिक कार्यक्रममा उनले स्पष्ट रूपमा भनेका थिए— “अब म अर्को पटक झापा–१ बाट उठ्दिन।” यो निर्णय भावनात्मक होइन, दीर्घकालीन राजनीतिक दृष्टिकोणबाट आएको हो ।
झापा–१ मा विश्वप्रकाश शर्माले गरेका कामहरू आज पनि जनताका लागि स्मरणीय छन् । शिक्षा, युवा सशक्तीकरण, खानेपानी, विकास निर्माण, सुकुम्बासीलाई धनिपुर्जा वितरण, सामाजिक संवाद, पार्टी संगठन मजबुत बनाउने कामदेखि लिएर जनतासँग प्रत्यक्ष सम्पर्क—उनले आफ्नो निर्वाचन क्षेत्रलाई केवल मतदाता क्षेत्र होइन, राजनीतिक चेतनाको केन्द्र बनाएका थिए ।
त्यसैले म ठोकुवा गरेर भन्न सक्छु— यदि विश्वप्रकाश शर्मा झापा–१ बाट उम्मेदवार बनेका भए, ११० प्रतिशत सहज जित सुनिश्चित थियो ।
उनका प्रतिद्वन्द्वीहरूको हैसियत, उनको व्यक्तिगत छवि,र राष्ट्रिय राजनीतिमा उनको भूमिकाले उनीलाई स्वतः बलियो उम्मेदवार बनाउँथ्यो ।
यदि विश्वप्रकाश शर्मा हारसँग डराउने मान्छे भएका भए, २÷२ पटक पराजय भोग्दा पनि पुनः उठ्ने आँट र जितेरै देखाउने दृढता कहाँबाट आउँथ्यो ? हारबाट भाग्ने मान्छे पहिलो चोटि लडेपछि नै पन्छिन्छन् । तर विश्वप्रकाश शर्माले हारलाई कहिल्यै अपमान ठानेनन्, न त बहाना बनाए । उनले हारलाई राजनीतिक प्रक्रियाको स्वाभाविक अंशका रूपमा स्वीकार गरे ।
झनै उल्लेखनीय त के छ भने—उनी पराजित हुँदा पनि विपक्षी उम्मेदवारलाई हाँस्दै, खुलेर, फूलको माला लगाइदिने नेता हुन् । यो दृश्य केवल शिष्टाचार थिएन, त्यो लोकतान्त्रिक संस्कारको जीवन्त उदाहरण थियो । हारमा पनि मर्यादा, प्रतिस्पर्धामा पनि सम्मान—यही उनीका मूल्य हुन् ।
विश्वप्रकाश शर्माको राजनीतिक यात्रा हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ—उनी पदका पछि दौडिने नेता होइनन् । महामन्त्रीको चुनाव जितिसकेपछि पनि उनी आरामको राजनीतिमा सीमित भएनन् । बरु, पार्टी रूपान्तरण अभियान लिएर देशभर खटिए । संगठन सुदृढीकरण, कार्यकर्ता प्रशिक्षण, विचारको पुनर्जागरण— यिनै उनका प्राथमिकता बने ।
Gen-z आन्दोलनपछि उनी अझ फरक रूपमा देखिए। युवाहरूका माग—अमन, चैन, सुशासन र जवाफदेहिता—लाई उनले केवल भाषणमा होइन, सोच र व्यवहारमा उतार्न खोजे। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, उनले आफ्नै पार्टी र आफ्नै नेतृत्व विरुद्ध पनि प्रश्न उठाए । आत्मालोचना गर्न सक्ने राजनीति नेपालमा दुर्लभ छ, र विश्वप्रकाश शर्माले यही दुर्लभ साहस देखाए ।
भर्खरै सम्पन्न विशेष महाधिवेशन नेपाली कांग्रेसको इतिहासमा महत्वपूर्ण मोड बन्यो । गगन थापालाई सभापति बनाउने प्रक्रियामा विश्वप्रकाश शर्माको भूमिका निर्णायक रह्यो । यदि चाहेका भए, उनी स्वयं पनि सभापति बन्न सक्थे । आज उनी नेपाली कांग्रेसका उपसभापति छन् — त्यो भन्दा ठूलो पद पनि उनको पहुँच बाहिर थिएन । तर उनले गगन थापालाई नै साथ र समर्थन गरे। गगन थापाले भावुक हुँदै भनेका थिए—“दाइ, पार्टी सभापति तपाईं नै बन्नुस् न ।”त्यसमा विश्वप्रकाश शर्मा मुस्कुराउँदै उत्तर दिएका थिए—“देशले तिमीलाई खोजेको छ, गगन । सभापति तिमी नै बन ।” उहाँको यो त्याग शब्दमा मात्र सीमित रहेन । अडिग भएर उभिएर, परिस्थितिसँग जुध्दै, गगन थापालाई सभापति बनाउने यात्रामा विश्वप्रकाश शर्माले उदाहरणीय राजनीतिक चरित्र प्रस्तुत गरे । यो नै हो नेतृत्वको असली परिचय—आफू अघि बढ्न होइन, योग्यलाई अघि सार्न सक्ने साहस । विश्वप्रकाश शर्माको जीवन र राजनीतिले देखाउँछ— हारसँग डराउनु वा हारलाई व्यक्तिगत अपमान ठान्नु नेतृत्वको लक्षण होइन । उनले हारलाई सहज रूपमा स्वीकार गर्दै, भविष्यको रणनीति तयार राखे । उनको दृष्टान्तले स्पष्ट गर्दछ—हारबाट सिक्न सक्ने, आफ्नो मूल्य र सिद्धान्तमा अडिग रहन सक्ने नेता मात्र वास्तवमा प्रभावशाली हुन्छ । आज विश्वप्रकाश शर्मामाथि लगाइँदै आएको आरोप—“हार्ने डरले उठेनन्”— सतही सोचको उपज हो । वास्तविकता ठीक उल्टो छ । सबै नेता चुनाव जित्नका लागि मात्र राजनीति गर्दैनन् । कोही नेता चुनाव नलडेर पनि इतिहास बनाउँछन् । विश्वप्रकाश शर्माको निर्णय त्यही श्रेणीमा पर्छ । त्यसैले निरर्थक प्रश्न र आरोप“हार्ने चुनाव किन लड्ने ? “को कुनै तुक छैन । जब जित सुनिश्चित छ, तर लक्ष्य त्योभन्दा ठूलो छ भने— चुनाव नलड्नु पनि दूरदर्शी, परिपक्व र साहसी राजनीतिक निर्णय हुन सक्छ । विश्वप्रकाश शर्माको राजनीतिले यही सन्देश दिन्छ— सत्ता भन्दा ठूलो विचार हुन्छ, पद भन्दा ठूलो जिम्मेवारी ।

प्रतिकृया दिनुहोस्