मेचीनगर । मेचीनगरपालिकामा मंगलबारदेखि ३० दिने सिलाइ–कटाइ तथा बुटिक तालिम सुरु भएको छ ।
मेचीनगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरिएको सामीका जिल्ला संयोजक शेखर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षित वैदेशिक रोजगारीका लागि सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षामा सहभागी २५ जना महिला दिदीबहिनीलाई उद्यमशीलतासँग जोड्दै आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा सहभागीहरूलाई सकुन लिम्बूले प्रशिक्षण दिनुहुनेछ ।
कार्यक्रमको उद्घाटन मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले सामी परियोजनामार्फत सञ्चालन गरिएको यो कार्यक्रम निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आजको आवश्यकता सीपयुक्त जनशक्ति उत्पादन भएको उल्लेख गर्दै प्रत्येक व्यक्तिलाई व्यवसायिक बन्न आग्रह गर्नुभयो ।
त्यसैगरी, मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाले विभिन्न प्रकारका सीपमूलक तालिम सञ्चालन गरिरहेको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतारेर व्यवसायिक बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले अन्य वडाको तुलनामा वडा नं. ७ ले विभिन्न प्रकारका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन सामीकी उर्मिला कट्टेलले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्